आज गाउँमा कृष्ण जन्माष्टमीको ठूलो धुमधाम चलिरहेको छ । बच्चाहरू कृष्ण बनेर रमाइरहेका छन् । प्रत्येकको घरमा बत्ती बालिएको छ र भक्तजनहरू भजन गाइरहेका छन् । धेरै भक्तजनहरूले मन्दिर र मूर्ति सजाउन मयुरको प्वाख ल्याएका छन् ।
तर मन्दिर र मूर्ति सजाउन ल्याएको प्वाख सजिलै पाइएको थिएन । सिकारीले जंगलमा गएर मयुरलाई मारेर प्वाख ल्याएका थिए । सुन्दर, जीवन्त पक्षी मयुरको हत्या केवल सजावटको लागि भएको थियो ।
गाउँको एक वृद्ध पुजारीले यो कुरा थाहा पाएपछि अगाडि आएर भने “हामीले भगवान कृष्णको पूजाका नाममा निर्दोष जीवित पंक्षीको हत्या गर्नु अपराध हो । भगवान कृष्ण स्वयं प्रकृतिको र प्राणिहरूको रक्षक हुन् । मयुरलाई मारेर ल्याएको प्वाख प्रयोग गर्नु कृष्णप्रतिको अपमान हो । यसलाई अपराध मात्र नभई अधर्म पनि मानिन्छ ।”
उनको यो वचन सुनेपछि मानिसहरूको आँखा खुल्यो । गाउँलेहरूलाई बोध भयो । “भगवानको पूजा सजावट भव्यतामा होइन, श्रद्धामा हुन्छ ।” भन्ने कुरा भक्तजनहरूलाई महसुस भयो । । त्यसपछि सबै भक्तजनहरूले मयुरको प्वाख प्रयोग नगरी कपडामा नकली प्वाख बुनेर फूलहरूमार्फत मूर्ति सजाए ।
त्यस दिनदेखि कृष्ण जन्माष्टमीमा गाउँमा कुनै जीवको हत्या नगरी कपडामा नकली प्वाख बुनेर फूलहरूमार्फत मूर्ति सजाउने एउटा नियम बन्यो । यही नै भगवानलाई सच्चा पूजा गर्ने बाटो हो । पूजा भगवानलाई खुसी पार्न गरिन्छ । “हत्या गरे धर्म होइन अधर्म हुन्छ ।” भन्ने कुराको सम्झना सबै भक्तजनहरूलाई रह्यो ।