समाज वर्गीय छ । हरेक बिषयमा मानिसको बर्गीय दृष्टिकोण हुन्छ । एउटै बस्तुलाई फरकफरक वर्गले फरकफरक ढंगले बुझ्ने गर्दछन् । जनयुद्धको नेतृत्व गरेका पुष्पकमललाई पनि विभिन्न वर्गले विभिन्न ढंगले बुझ्ने गरेका छन् । कसैले राक्षसी त कसैले देवताको रुपमा बुझ्ने र व्याख्या गर्ने गरेका छन् । यो उनलाई मानिस हुननदिने स्थिति छ ।
शान्ति प्रक्रियाको नाममा प्रचण्डले कतै इन्डोनेसिया, चिली, निकारागुवा, पेरुको जस्तै ध्वस्त त पार्ने हैनन् भन्ने चिन्ता र चासो थियो, त्यो अब रहेन । अब त्यो चरण गुज्रियो । सर्वहारा वर्गीय आन्दोलनमा भने अझै के हुने भन्ने प्रश्न उब्जिरहेकै छ । सर्वहारा वर्गको सत्ता प्राप्तिका लागि जनयुद्धमार्फत केही भएको छैन । जनयुद्धले नेपाली समाजलाई सामन्तवादबाट पुँजीवादमा प्रवेश गराएर सकियो भन्दा सहि हुन्छ । पुँजीवाद अन्तर्गत दलाल पुँजीवाद सत्तामा छ । सर्वहारा आन्दोलन अलपत्रमा परेको छ ।
पुष्पकमलले १० बर्षे जनयुद्धको सफल नेतृत्व गरे । निश्चय पनि यो नेपाली समाजमा सबैभन्दा महान् र ऐतिहासिक महत्वको छ । यही कारण उनी चर्चाको केन्द्रमा छन् । उनको अझै परिक्षण हुँदैछ, उनी अझै माओवादी आन्दोलनको नेतृत्वको भूमिकामा नै छन् भन्नेहरू बढि छन् । माओवादी आन्दोलनका घटकहरू जानीनजानी उनैले फेरि पनि बिद्रोहको नेतृत्व गरून् भन्ठान्छन् र बेलाबेलामा बाममोर्चा बनाउन तथा दलकै एकता गर्न प्रयासरत देखिन्छन् । यदि यस्तो प्रयास भैरहेकै स्थितिमा नेतृत्वबाट हटे भने र फेरि पनि बिद्रोहको नेतृत्व लिए भने विश्वकै सर्वहारा वर्गका महान् मानिस हुनेछन् । यो अवशर उनले उपयोग गर्लान् वा नगर्लान् भन्ने उनकै हातमा छ । यदि गरेनन् भने नेपाली आम जनताले सुधारवादी नेताको रुपमा लिनेछन् तर सर्वहारा वर्गले गद्दारको रुपमा बुझ्नेछन् । अहिले उनको देवत्वकरण र राक्षसीकरण गर्ने कार्यले आफैमा बेवकुफ्याईं हुनेछ ।
माओवादीले आफ्नो “बहुमतसहितको नेतृत्व सत्तामा नजाने“ नीति लागू गरेको भए के हुन्थ्यो ? पार्टीको “नेतृत्व र बहुमत नै सत्तामा सहभागी नहुने“ नीति लागू गर्न भुलेका कारण उपलब्धिहरू गुमेका हुन् । सेनाको छिट्टै समायोजन र राज्यसत्तामा शोषितपिडित जनसमुदायको प्रभाव गुम्यो । यसको साथै संविधानसभा गुम्यो र ९०% सम्पन्न भैसकेको संविधान र ११ प्रदेशको आम सहमति गुम्यो । यही कारण दलमा बिद्रोह भयो र प्रतिक्रियावादी वर्गसँगको संघर्ष कमजोर मात्र भएन आफ्नै शक्ति क्षीण भयो साथै जनताको विश्वास गुमायो । शान्ति प्रक्रियामा पनि शुरुदेखि नै यो नीति लागू भएको भए संसदवादीले शान्ति प्रक्रियामा कम विश्वास गर्ने भने माओवादीले आफ्ना नीति मूल्य मान्यतामा यो स्तरको स्खलन पक्का आउने थिएन । विगतको यो स्थिति कल्पना मात्र हो भन्नसकिन्छ । खासमा माओवादी आन्दोलनको सबैभन्दा ठूलो समस्या यही हो ।
माओवादी आन्दोलनमा बिचार, विधि र प्रक्रियामा कहाँनेर गडबडि भएको हो भन्ने विभिन्न व्यक्तिका विभिन्न धारणाहरू छन् । मलाई लागेको चाहिँ व्यापक बिचार विमर्श, वादविवाद र प्रयोगहरूपछि बनेका नीति लागू गर्ने सवालमा माओवादी चुकेकाले समस्या भएको हो र सर्वहारा आन्दोलनमा घात हुन पुगेको छ । यसको जिम्मेवारी लिने कसले हो । यसबारेमा विवाद चाहिँ गर्ने तर आफ्नो जिम्मेवारी केकति थियो भन्ने चाहिँ नलिने अवस्था खतर्णाक छ ।
अरू नेतृत्वहरू आआफ्नो ढंगले चल्ने र अर्कै अवस्थामा रहने तर प्रचण्डको चाहिँ कतै देवत्वकरण गर्ने तथा कतै राक्षशीकरण गर्ने गरिएको छ । दलले सँधै बहुमतले निर्णय लिएर नीति बनाउने तथा लागू गर्ने गरिएको हुन्छ । परिणामको जस वा अपजस पनि सोही अनुसार हुनुपर्दैन । प्रचण्डको राक्षसीकरण हुँदा पुरै उनको साथ लाग्ने टिमकै स्थिति त्यस्तै हुनुपर्दैन ? अरू चाहिँ पानीमाथिको ओभानो हुने र देवत्त्वकरणमा पनि सोही अनुसार हुनुपर्दैन ? एक्लो प्रचण्ड नै माओवादी आन्दोलनको निर्णायक बनाउनु आफैमा खराब कुरा हो । माओवादी आन्दोलन सामुहिक प्रयास हो भन्ने चटक्कै बिर्सनेहरूले प्रचण्डको राक्षसीकरण र देवत्वकरण गरेका छन् ।