सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थान । यहाँको एक सामान्य हायु परिवार—आमा उर्मिला हायूको नेतृत्वमा रहेको १६ सदस्यीय परिवार—अचानक तीन दिनसम्म सम्पर्कविहीन भयो। यो केवल रहस्यमय घटना थिएन, यसले गाउँभरि त्रासको छायाँ फैलाइदियो ।
स्थानीयले बताएअनुसार गत साउन ८ गते बिहीबार, उनीहरूले घरमै सुँगुर काटेर मासु पकाएर खाएका थिए। त्यसपछि न त कोहीले देखे, न त कसैको फोन लाग्यो। परिवारले कुनै गाउँलेलाई जानकारी दिएको थिएन, घरमा पालिएका बाख्रा, कुखुरा र भैसीहरू कसैको हेरचाह विना अलपत्र अवस्थामा थिए । घर वरिपरि डढेको काठ, आगो लागेको जस्तो छाप्रो, बाहिरै देखिने भाँडा र झुन्डिएका लुगाहरूले गाउँलेको मन अझै चिसो बनायो ।
फोन सम्पर्क बन्द थियो । उनीहरू सँगै पो केही अनिष्ट भयो कि भन्ने शंका गर्न थालियो। गाउँका जनप्रतिनिधि, प्रहरी, छिमेकी सबै मिलेर खोजी थालिएको थियो ।
तर तीन दिनपछि खबर आयो—उनीहरू पोखरामा भेटिए । खबर सत्य थियो । तर प्रश्न उस्तै रह्यो—किन यति ठूलो परिवारले गुपचुप यात्रा गर्यो ? किन कसैलाई नबताई, घरका जनावरको हेरचाह नगरी, घरमा मासु बाँकी राखेर, आगो निभाइराखेको अवस्थामा हिँडे ?
यो घटना हाम्रो गाउँ समाजको सामाजिक चेतनाको गहिरो चित्रण हो। हायु समुदाय लोपोन्मुख जात हो, जसलाई सरकारले मासिक चार हजार भत्ता दिन्छ । तर के केवल भत्ता पुग्छ ? यदि सामाजिक र शैक्षिक चेतना अभाव नै रहन्छ भने, सरकारी सहायता पनि असफल साबित हुन्छ ।
उनीहरूको पोखरा जानु गैरकानुनी होइन, तर समाजमा बस्दा केही आधारभूत सामाजिक जिम्मेवारी हुन्छ—गाउँलेलाई जानकारी दिनु, पशुपक्षीको हेरचाहको व्यवस्था गर्नु, फोन अफ नगर्नु आदि ।
यो घटनाले दुई कुराको सन्देश दिएको छः
१. सामाजिक चेतनाको खाँचो ः सरकारले दिएको आर्थिक सहयोग भन्दा बढी, शिक्षा र सामाजिक व्यवहारको चेतना आवश्यक छ ।
२.स्थानीय तह र समुदायको भूमिका ः यस्ता घटनालाई समयमा बुझ्न, रोक्न र समाधान गर्न स्थानिय तह र समुदायले सजग हुनुपर्छ।
आज हायू परिवार सुरक्षित छन्, त्यो सबैका लागि राहतको खबर हो । तर यस्ता घटनाले हामीलाई सोच्न बाध्य बनाउँछ—सिर्फ सरकारी सुविधा होइन, सही सोच, सामाजिक जिम्मेवारी र चेतनाको अभाव नै समस्या हो ।
अब समय आएको छ, लोपोन्मुख भनेर गुनासो गर्ने होइन, चेतनामूलक कार्यक्रम ल्याउने, शिक्षाको पहुँच बढाउने, र गाउँ–समाजलाई जिम्मेवार बनाउने। तब मात्र यस्ता घटनाहरू दोहोरिने छैनन् । (लेखक नेविसंघ सिन्धुलीको जिल्ला सदस्य हुनुहुन्छ ।