नेपालको मधेश क्षेत्रलाई विशेषगरी मिथिला संस्कृति, आस्था, परम्परा र सभ्यताको धनी भूमिको रूपमा चिनिन्छ । यहाँको चाडपर्व, पूजा–आरधना र धार्मिक कार्यहरू मानव जीवनशैलीसँग निकै गहिरो रूपमा गाँसिएको छ । हिन्दू पात्रोको अनुसार श्रावण महिना मिथिलावासीको लागि अत्यन्त पवित्र मानिन्छ । यस महिनामा तीज पर्वको बाह्य प्रभाव केही ठाउँमा देखिए पनि, मिथिलाको मौलिक संस्कृतिअनुसार सावन सोमबार नै सबैभन्दा ठूलो धार्मिक दिनको रूपमा मानिन्छ ।
पर्वहरूको दृष्टिकोणले नेपाल विविध छ,जहाँ हिमाल,पहाड र तराईका संस्कृतिबीच केही अंशमा फरक पाइन्छ । पहाडी क्षेत्रका महिलाहरूले हरितालिका तीजलाई विशेष चाडका रूपमा मनाउँछन् । उपवास, सौन्दर्य सजावट, गीतसंगीत, झूला र शिव–पार्वतीको पूजासहित तीज पर्व मनाइन्छ । तर मिथिला क्षेत्रको धार्मिक चेतना तीजभन्दा श्रावण महिनाको सोमबार ९सावन सोमबार० लाई बढी प्राथमिकता दिएको पाइन्छ ।
श्रावण महिनाभर विशेषतः सोमबारका दिन भगवान शिवको विशेष आराधना गरिन्छ । मिथिला क्षेत्रका थुप्रै गाउँ–शहरमा सानाठूला शिव मन्दिरहरूमा भक्तजनको भीड लाग्दछ । सावन सोमबार व्रत र पूजा मिथिला संस्कृतिको गहिरो धार्मिक अभ्यास हो ।
विवाहित महिलाहरू पतिको दीर्घायु, समृद्ध दाम्पत्य जीवनको कामना गर्दै व्रत बस्छन् । अविवाहित केटीहरू सुयोग्य वर पाइयोस् भनेर श्रद्धाका साथ शिवको पूजामा समर्पित हुन्छन् । पुरुषलेहरू पनि यो महिना ब्रह्मचर्य, संयम र सत्कर्मको प्रतीकका रूपमा यो महिनालाई ध्यान, जप र सेवा भावमा बिताउने गर्छन् ।
सावन सोमबारको दिन श्रद्धालुहरू बिहानै स्नान गरी शिवलिंगमा जल, दूध, बेलपत्र, अक्षता, धूप, दीप आदि चढाउने गर्छन । धेरैजसो महिलाहरूले हरियो चुरा, साडी, मेहंदी लगाएर शिवको दर्शन गर्छन् । कतिपय स्थानमा महिलाहरू समूहमा गीत गाउँदै मन्दिरसम्म जाने परम्परा समेत छ । यसरी सावन सोमबार पूजा केवल धर्म होइन, समाज र संस्कृतिलाई जोड्ने माध्यम पनि बनेको छ ।
मिथिला क्षेत्रमा श्रावण महिनाभर शिव भजन, लोकगीत, कथावाचनजस्ता धार्मिक कार्यक्रमहरू पनि आयोजना हुने गर्दछ । गाउँघरमा झूला ९पिङ० झुल्ने परम्परा पनि सावनमै देखिन्छ । यस अवधिमा वातावरण हरियाली, मन भक्ति र सम्बन्ध सौहार्दताले भरिन्छ ।
मिथिला संस्कृति, परम्परा र धार्मिक चेतनाको दृष्टिले सावन सोमबार एक विशेष पर्वको रूपमा उभिएको छ । यहाँका जनमानसमा भगवान शिवप्रतिको श्रद्धा, नारीहरूको समर्पण र पारिवारिक सुख–शान्तिको कामना यो पर्वको मूल आत्मा हो । जबकि तीजजस्ता पर्वहरू अन्य क्षेत्रको सांस्कृतिक सम्पत्ति हुन् । मिथिलाको धर्म–संस्कारमा सावन सोमबारको गहिरो महत्व नै वास्तविक पहिचान हो ।