धुम्रपान विश्वव्यापी रूपमा मृत्युको प्रमुख रोकथाम योग्य कारणहरू मध्ये एक हो र वार्षिक ८० लाख भन्दा बढी मृत्युको कारण हो । अधिकांश सुर्तीजन्य पदार्थ सेवन गर्नेहरू किशोरावस्था वा युवावस्थाको सुरुमा नै सुरु हुन्छन् । धुम्रपानमा जोखिम मोल्ने र विद्रोह गर्ने तत्वहरू हुन्छन्, जसले अक्सर युवाहरूलाई आकर्षित गर्छ। उच्च ओहदाका मोडेलहरू र साथीहरूको उपस्थितिले पनि धूम्रपानलाई प्रोत्साहित गर्न सक्छ । किशोर–किशोरीहरू वयस्कहरूभन्दा आफ्ना साथीहरूबाट बढी प्रभावित हुने भएकोले आमाबाबु, विद्यालयहरू र स्वास्थ्यकर्मीहरूले मानिसहरूलाई चुरोट पिउनबाट रोक्ने प्रयासहरू सधैँ सफल हुँदैनन ्। धुम्रपान नगर्ने तर धुम्रपान गर्ने व्यक्तिको नजिकमा रही त्यसको धुवाँ लिन बाध्य हुनेहरूलाई पनि क्यान्सर, दम, हृदयघातजस्ता गम्भीर समस्याहरू देखिन सक्ने विज्ञहरुले बताउँदै आएका छन् । शहरी क्षेत्रमा पछिल्लो समय नयाँ प्रविधिका सुर्तीजन्य उत्पादनहरू– भेप, ई–सिगरेट, निकोटिन प्याड्स जस्ता सामग्री विशेष गरी युवावर्गमा फेसनको रूपमा फैलिँदैछन् । क्याफे, स्कूल अगाडि, अनलाइन डेलिभरीमार्फत् यस्ता उत्पादनमा युवाको सहजै पहुँच स्थापित भएको छ । ग्रामीण क्षेत्रमा परम्परागत खैनी, गुट्खा, सुपारी मिसाइएको सुर्ती, बीडी चुरोट अझै व्यापक छ । अझ खतरनाक त के छ भने कतिपय समुदायमा यी पदार्थहरू सामाजिक व्यवहारको अङ्ग झैं भएका छन् । पाहुनालाई सुपारी दिने, कामको थकान मेट्न खैनी खाने, चुरोट बाँड्ने जस्ता प्रचलनले सुर्तीजन्य पदार्थ सेवनलाई बढाएको छ ।
त्यसो त नेपालले सुर्तीजन्य वस्तुको नियन्त्रणसम्बन्धी महासन्धि अनुमोदन गरिसकेको छ । महासन्धिको पक्ष राष्ट्रहरुले कानुन बनाएर यसको नियन्त्रणमा प्रयास गरिरहेका छन् । नेपालले पनि यस्तो प्रयास नगरेको होइन । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन ल्याएको पनि छ । सुर्तीजन्य पदार्थको प्याकेजिङमा ९० प्रतिशत भाग अनिवार्य रूपमा चेतनामूलक राख्नुपर्ने कानुनी व्यवस्था छ भने अब १०० प्रतिशत भाग राख्नुपर्ने कानुन कार्यान्वयनको प्रक्रियामा छ । सार्वजनिक स्थानमा धुम्रपान सेवन निषेध गर्ने, प्याकेटमा चेतावनीयुक्त चित्र अनिवार्य गर्ने, १८ वर्षमुनिका व्यक्तिलाई बिक्री गर्न नपाइने तथा सुर्तीजन्य उत्पादनहरूको विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा पूर्ण प्रतिबन्ध लगाउने जस्ता महत्वपूर्ण प्रावधान यसमा छन् । तर समस्याको जरो कार्यान्वयनमै छ । ऐन छ, तर पालना हुन सकेको छैन । ऐनले तोकेका व्यवस्था कार्यान्वयनका लागि स्थानीय सरकार, बजार अनुगमन निकाय, प्रहरी प्रशासन तथा स्वास्थ्य इकाईहरूबीच समन्वय र सक्रियता देखिँदैन । अझ दुर्भाग्य त के छ भने ऐनबारे कतिपय जिम्मेवार कर्मचारीहरूलाई नै जानकारी हुँदैन । विद्यालय क्षेत्र वरिपरि खुलेआम चुरोट बेचबिखन हुनु, अस्पताल गेटमै धुवाँ तानिनु, सार्वजनिक गाडीमा सुर्तीजन्य पदार्थ सेवन हुनुले पनि यही संकेत गर्छ ।
सुर्तीजन्य पदार्थ सेवन रोक्न केवल कानुनी कोणबाट हेरेर मात्र सम्भव छैन । नागरिक स्तरमै चेतना र त्यो चेतनाको व्यवहारिक अभ्यास जरुरी छ । अभिभावकहरूले बालबालिकामा बाल्यकालदेखि नै सुर्तीविरुद्ध सचेतना विकास गर्नुपर्छ । शिक्षक, समुदायका अगुवा, धार्मिक संस्थाहरूले सुर्तीजन्य पदार्थलाई सामाजिकरूपमा अस्वीकार्य बनाउने अभियान सञ्चालन गर्ने, सञ्चारमाध्यमले यसलाई निरन्तर तथ्यमा आधारित सामग्री, विज्ञहरूको साक्षात्कार, पीडितका अनुभव र सरकारलाई जवाफदेही बनाउने विषय सञ्चारसामग्रीका रुपमा पस्कने हो भने यसले जागरण पैदा गर्न मद्दत गर्नेछ । सुर्तीजन्य पदार्थको लत केवल व्यक्तिगत व्यसनमात्र होइन, सामाजिक–आर्थिक र सार्वजनिक स्वास्थ्यसँग जोडिएको गम्भीर समस्या हो । यस्तो समस्या समाधान गर्न अब दिवसमा दिइने प्रतीकात्मक नाराबाट संभव छैन, सरोकारवाला व्यावहारिक कार्ययोजना र दिगो प्रतिवद्धतासहित अघि बढ्नुपर्छ ।