शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अत्यधिक तापक्रमका कारण खाडीमा विदेशी कामदार जोखिममा

आइतवार , जेठ १९, २०८२

बेरुत, लेबनान, १८ जेठ – खाडीमा आप्रवासी कामदारहरू अत्यधिक गर्मीका कारण जोखिममा रहेको ह्युमन राइट्स वाचले आइतबार जनाएको छ । उक्त संस्थाले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरूलाई यसबाट सुरक्षा प्रदान गर्न देशहरूलाई आग्रह गरेको छ ।

पृथ्वीको सबैभन्दा तातो क्षेत्रहरू मध्ये एक मानिने मध्यपूर्वका संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार र कुवेतमा आप्रवासीहरूले श्रमशक्तिको ठूलो हिस्साको प्रतिनिधित्व गर्छन् । यहाँ ग्रीष्मकालीन तापमान प्रायः ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुग्छ ।

एचआरडब्लुका मध्यपूर्वका उपनिर्देशक माइकल पेजले भन्नुभयो, “जलवायु संकटका कारण हुने अत्यधिक गर्मीको चपेटामा परेका लाखौं आप्रवासी कामदारहरूको व्यावसायिक स्वास्थ्य र सुरक्षा विपत्तिलाई हरेक ग्रीष्मऋतुले चुनौति दिने गरेको छ ।

उहाँले भन्नुभयो, “खाडी मुलुकहरूले प्रमाणमा आधारित श्रम सुरक्षामा पछि हटिरहेका छन् भने सम्भावित सुरक्षा उपायलाई अवलम्बन नगरिँदा आप्रवासी कामदारहरूले अनावश्यक रूपमा ज्यान गुमाउने गरेका छन् । उनीहरू यस मौसमजन्य समस्यालाई सम्बन्धित पक्षले असावधानी देखाइदिँदा मृगौला फेल हुने र अन्य दीर्घरोगबाट पीडित हुने गरेका छन् ।

धनी खाडी मुलुकहरू विशेष गरी निर्माण क्षेत्रमा काम गर्ने लाखौं आप्रवासी कामदारहरूमा अत्यधिक निर्भर छन् र त्यहाँ निर्माण क्षेत्रमा काम गर्ने अत्यधिक श्रमिक नेपाल, भारत, पाकिस्तानलगायतका एसियाली मुलुकका रहेका छन् ।

गत महिना संयुक्त अरब इमिरेट्स (युएई) ले लगातार दोस्रो दिन मे महिनाको तापक्रम ५१.६ डिग्री सेल्सियस मापन गरेको थियो ।

श्रमिकहरूको सुरक्षाको लागि राज्यहरूले लामो समयदेखिको ‘मध्याह्न ब्रेक’ नीतिको एक भागको रूपमा मध्य जूनदेखि मध्य सेप्टेम्बरसम्म प्रत्यक्ष सूर्यको प्रकाश र तातो चल्ने क्षेत्रमा अत्यधिक गर्मीको समयमा काम गर्न प्रतिबन्ध लगाएको छ ।

तर खाडी विशेष गरी जलवायु परिवर्तनको जोखिममा रहेकाले एचआरडब्ल्युले भनेको छ, “यी अत्यधिक गर्मीको अवस्था आजभोलि मध्याह्नमा आराम गर्न दिने समय शुरू हुनुभन्दा पहिले मे महिना देखि नै शुरू हुन थालेको छ । यसले कामदारको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ ।”

न्युयोर्कस्थित अधिकारवादी समूहले कुवेतका एक इलेक्ट्रिसियनसँग लिएको अन्तर्वार्तामा गर्मीको महिनामा काम गर्दा ‘चक्कर आउने, बान्ता हुने, टाउको दुख्ने र आँखा धमिलो हुने’ र ‘गर्मीका कारण धेरै मानिस ढल्ने’ महसुस हुने बताउनुभएको छ ।

एचआरडब्ल्युले अधिकारी र व्यवसायहरूलाई ‘क्यालेन्डर–आधारित मध्याह्न प्रतिबन्धहरू’ यस पहिले अपनाइएको समयभन्दा अन्य समयमा पनि व्यवसायको गर्मी तनाव मापन गरी जोखिम नियन्त्रणका लागि उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ ।

वैज्ञानिकहरूका अनुसार बारम्बार आउने उष्ण लहर विश्वव्यापी तापक्रम वृद्धिको प्रभावका कारण देखिने गरेको र यअधिक बारम्बार, लामो र अधिक तीव्र हुन थालेका छन्। विगत तीन दशकमा विश्वमा अत्यधिक गर्मी हुने दिनको संख्या झण्डै दोब्बर भएको छ ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सन् २०२४ को एक प्रतिवेदनअनुसार अरब मुलुकका रहेका आप्रबासी कामदारहरूले विश्वमा सबैभन्दा बढी गर्मीको तनावको सामना गर्नुपरेको छ ।

 

प्रतिक्रिया