शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

तरकारीमा विषादी व्यवस्थापनमा सरकारको दायित्व

बुधवार , बैशाख १७, २०८२

नेपालमा विगत केही वर्षदेखि तरकारीको उत्पादन उल्लेखनीय मात्रामा वृद्धि भएको छ । पौष्टिक आहारासम्बन्धी चेतनाको वृद्धि, प्रविधिमा पहुँच र उत्पादन सामग्रीको उपलब्धतामा वृद्धि आदि कारणले घरायसी प्रयोगका लागि र आर्थिक उपार्जनको राम्रो स्रोत भएको कारणले व्यावसायिक तरकारी खेतीको विस्तार तथा विकास पनि भएको छ । बढ्दो सहरीकरणले ताजा तरकारीको माग पनि बढाएको छ ।

नेपालमा करिब तीन लाख हेक्टर क्षेत्रफलमा खेती भई करिब ४१ लाख मेट्रिक टन ताजा तरकारी उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले देखाउँछ । तरकारी उत्पादन र व्यवसायले धेरै व्यक्तिको रोजगारी सिर्जना पनि भएको छ । पछिल्ला वर्षमा युवाको आकर्षण यस पेसामा ह्वात्तै बढेको पनि छ । देशैभरिका सहर आपपासका क्षेत्रमा व्यापक रूपमा तरकारी उत्पादन हुन थालेको छ । यसले गर्दा आलु, प्याज र लसुनबाहेक अन्य ताजा तरकारीमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख छ ।

अर्कोतर्फ, सरकारले रसायनिक मल तथा गुणस्तरीय र उन्नत बीऊबिजन समयमै उपलब्ध नगराएका कारण अपेक्षित लाभ लिन भने सकिएको छैन । तरकारीको खेती बिस्तार, उत्पादन वृद्धि र आर्थिक उपार्जनमा समेत सहयोगी बनेको यसको खेतीमा प्रयोग गरिने विषादीको प्रयोगमा देखिएको असंवेदनशीलता र लापरवाहीले यही तरकारी हाम्रो देशमै असामयिक मृत्युको कारण बनिन थालेको छ । खेतीमा लाग्ने अनेक प्रकारका रोग र किरालाई मार्न प्रयोग गरिने विषादीको अति प्रयोगले नेपालमा क्यान्सर जस्तो असाध्य रोगीको संख्या बढ्दै गएको छ । रोग तथा किरा नियन्त्रणका लागि प्रयोग गरिने रसायनिक विषादीको असर कम गर्न जैविक विषादीको प्रयोग नगर्दा असाध्य रोगको जोखिम बढेको स्वास्थ्यविद्हरुले बताउँदै आएका छन् । हुन त नेपालको माटोमा जैविक मल त्यति सहायक देखिँदैन । किसानहरु माटोले नै रसायनिक विषादी खोज्ने बताउँछन् । त्यसैले कुनै एग्रोभेटबाट खरिद गरेको विषादी प्राविधिकको रेखदेख र सहयोग बिना जथाभावी प्रयोग गर्ने गरिन्छ । विषादीको मात्रा नमिल्दा त्यसको असर उपभोक्ताको स्वास्थ्यमा पर्छ । यहाँसम्म कि किसान आफू–आफूले उत्पादन गरेको तरकारी आफू खाँदैनन् । यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ ।

यद्यपि सरकारका तर्फबाट विषादीको मात्रा परीक्षण गरेर खान योग्य र अयोग्य छुट्याउन थालिएको छ, तर त्यसको उचित कार्यान्वयन भइरहेको छैन । अर्थात् आवश्यकताका आधारमा गुणस्तर परीक्षण तथा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यो सँगै उपभोक्ता स्वयम् पनि सचेत हुन जरुरी छ । यस्तोमा कृषि प्रविधिमा विकास र विस्तारका साथै कृषकलाई सचेत, सक्षम बनाइ निरोगी जनता तयार गर्न सम्बद्ध पक्ष र सरकार कृत संकल्पित हुनुपर्छ । यो सरकारको दायित्व पनि हो । त्यसैले कृषि क्षेत्रलाई सही दिशामा लैजान सुरु भएका प्रयासलाई बढाउँदै नयाँ प्रयासको थालनी गर्नु सबै सरोकारवालाको दायित्व हो ।

प्रतिक्रिया