शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

डढेलो नियन्त्रणको जिम्मेवारी

सोमवार , बैशाख १५, २०८२

सुक्खा मौसमको सुरुवातसँगै नेपालमा विभिन्न प्रजातिले ढाकेको जंगलमा साना तथा ठूला प्रकृतिको डढेलोको घटना नौलो होइन । वर्षेनी यस्ता घटनाले करोडौंको धनजन क्षति हुन पुग्छ । साथै पर्यावरणलगायत जैविक विविधता, कार्बन उत्सर्जन, पुनरुत्पादित साना बिरुवा तथा वन्यजन्तुको बासस्थानलाई प्रत्यक्ष प्रभाव पार्छ । परोक्षरूपमा हेर्ने हो भने डढेलोलाई वन क्षयीकरणको प्रमुख कारणका रूपमा लिइन्छ । एकातर्फ डढेलोको कारण साना बिरुवा जलेर सखाप बन्छन् भने अर्कोतर्फ ठूला रुख पनि पात तथा हाँगा जलेको हुनाले क्रमशः मर्दै जान्छ। विगत हेर्ने हो भने नेपालमा वन डढेलोको निकै तीतो इतिहास छ । पछिल्ला वर्षहरुमा नेपालमा डढेलोका घटना डरलाग्दो गरी बढिरहेका छन् । अहिले तराईका जिल्लाका जंगल क्षेत्र हरेक रात आगोको ज्वालाले घेरिएको देखिन्छ । यसले एकातिर वन क्षेत्र सखाप हुँदैछ भने अर्कोतिर वायु प्रदूषण बढाउन र जैविक विविधता नष्ट गर्न सहयोग गरिरहेको छ । गर्मी तथा खडेरीको मौसममा वर्षेनि मुलुकको जंगलको ठूलो भूभाग डढेलोका कारण सखाप हुने गरेको छ । जसबाट जनधनको क्षतिका साथै घाँसे मैदान, वन्यजन्तु तथा चराचुरुंगीहरुको वासस्थान, घाँस, दाउराको स्रोत, महत्वपूर्ण जडिबुटी सबै नष्ट हुने गरेको छ । यसप्रकारको बढ्दो जोखिमप्रति राज्य र आम जनता थप संवेदनशील हुन आवश्यक छ ।

वनलाई डढेलोबाट जोगाउन स्थानीय जनता, सामुदायिक वन र सरकार लगायत सबै सरोकारवालाहरु गम्भीर हुन जरुरी छ । सरकार र सामुदायिक वन समूहरुले जनचेतनामूलक कार्यक्रम व्यापक बनाउनुपर्छ । कुनै पनि वनजंगलमा आगलागी भयो भने सामुदायिक वन र सरकारी निकायले तुरुन्त अनुसन्धान र खोज गर्नुपर्छ । दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्छ । वनजंगल जोगाउनु हाम्रो साझा दायित्व हो । डढेलो बढ्नुको मुख्य कारण चेतनाको अभाव र नियमनको कमजोरी हो । त्यसो त ९० प्रतिशत डढेलोका घटना मानवीय त्रुटिकै कारण हुने भएकाले पनि डढेलोको जोखिम न्यूनीकरण गर्न मानवीय भूमिका नै निर्णायक हुन्छ । डढेलोबाट बच्न सामुदायिक जागरण र कानुन कार्यान्वयनलाई सँगसँगै अघि बढाउनुपर्छ । वन ऐन, २०७६ ले आगलागी गराउनेलाई तीन वर्षसम्म कैद वा जरिवानाको प्रावधान गरेको भए पनि डढेलोका अभियुक्तमाथि कानुनी कारवाही भएको पाइँदैन । त्यसैले डढेलो न्यूनीकरणमा राज्यको उदासीनता त देखिन्छ नै, सँगसँगै समुदायको असावधानी पनि उत्तिकै समस्या हो भन्ने तथ्य आम रुपमा बुझाउन जरुरी छ ।

सरकार र स्थानीय समुदायको साझेदारी बढाउँदै पूर्वतयारी र जोखिम व्यवस्थापन योजना प्रभावकारी बनाउन ध्यान दिन आवश्यक छ । त्यस्तै स्थानीय बासिन्दा, सामुदायिक वन उपभोक्ता समूह र विद्यालयस्तरमा डढेलो रोकथामबारे सचेतना अभियान चलाउने, आम सञ्चार माध्यमबाट डढेलोबाट हुने क्षति र सावधानीका उपाय प्रचार गर्ने, सुराकी दिने वा अपराध रोक्न सहयोग गर्ने व्यक्तिलाई पुरस्कार दिने व्यवस्था प्रभावकारीरूपमा लागु गर्ने, सामुदायिक वन समूहलाई डढेलो नियन्त्रण टोली गठन र तयारी उपकरण प्रदान गर्ने जस्ता कार्यमा ध्यान दिन आवश्यक छ । सेटेलाइट इमेजरी, रिमोट सेन्सिङ जस्ता प्रविधिको प्रयोग बढाएर डढेलोको प्रारम्भिक पूर्वानुमान र अनुगमन प्रणाली विकास गर्नतिर ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया