नेपालका विभिन्न स्थानहरूमा हिँजोआज मेला–महोत्सवहरू धुमधामका साथ आयोजना भइरहेका छन् । यस्ता कार्यक्रमहरूले स्थानीय समुदायमा चहलपहल त बढाएका छन्, तर वर्तमान आर्थिक मन्दीको अवस्थामा यिनको वास्तविक उपादेयता कस्तो छ भन्ने विषयमा गम्भीर बहस गर्नुपर्ने बेला भने भएको छ । नेपालको अर्थतन्त्र अहिले कठिन अवस्थामा छ । व्यापारमा मन्दी छ । लगानीकर्ताहरू खुम्चिएका छन् । रोजगारका अवसरहरू सीमित छन् । बजारमा खरिद क्षमता न्यून भइरहेको छ । यस्तो समयमा आयोजित मेला महोत्सवहरूले स्थानीय व्यापार र उत्पादन प्रवद्र्धन गर्नुभन्दा पनि उल्टै अनुत्पादक गतिविधिलाई प्रोत्साहन गरिरहेको देखिन्छ । नारामा औद्योगिक प्रदर्शनी, कृषि, व्यापार मेला तथा प्रदर्शनी र पर्यटन महोत्सव जे नाम दिए पनि सबै मेला महोत्सवको प्रकृति एकैनासको हुने गरेको छ । प्रदर्शनीबाट सिक्ने सिकाउने भन्दा रम्ने रमाउने काम बढी हुने गरेको नै देखिन्छ ।
सैद्धान्तिकरूपमा व्यापार मेला वा महोत्सवहरू नयाँ उत्पादन सार्वजनिक गर्ने, स्थानीय उत्पादन प्रवद्र्धन गर्ने र व्यवसायीहरूलाई बजार विस्तारको अवसर प्रदान गर्ने माध्यम हुनुपर्छ । तर हाल भइरहेका अधिकांश मेला–महोत्सवहरू व्यापारिक भन्दा पनि सांस्कृतिक, मनोरञ्जनात्मक वा राजनीतिक महत्वका बढी भएका छन् । नेताहरुले भाषण गर्ने स्थल बनेका छन् । एकातिर, यस्ता मेलामा साना तथा स्थानीय उत्पादकहरूभन्दा पनि ठूला ब्रान्ड, थोक व्यापारी र आयातित वस्तु बेच्नेहरू हावी देखिन्छन् । अर्काेतर्फ मेलामा आकर्षणका रूपमा सांगीतिक कार्यक्रम, नृत्य, रमाइलो जस्ता अनुत्पादक गतिविधिहरूलाई प्राथमिकता दिइएको पाइन्छ । युवा जनशक्तिको ठूलो हिस्सा यसैको वरिपरि लामो समयसम्म जोडिने गरेको देखिन्छ फलस्वरूप, उत्पादनसँग सम्बन्धित श्रमशक्ति नाचगान तथा मनोरञ्जनमा संलग्न हुनपुग्छ, जसले अर्थतन्त्रमा सकारात्मक असर पार्नुको सट्टा झन् विपरीत प्रभाव पार्ने गरेको छ ।
व्यापार मन्दीका कारण धेरै व्यवसायहरू चल्न गाह्रो भइरहेको छ । बजार चलायमान नहुँदा सटर बन्द गरेर वैदेशिक रोजगारीतर्फ मोडिएका युवाको संख्या बढ्दै गएको तथ्यांकले नै औंल्याइरहेको देखिन्छ । बजारमा खरिद क्षमता कमजोर हुँदा बिक्री घटेको छ तर मेला–महोत्सवका कारण मानिसहरू आवश्यक नभएको सामान किन्न प्रेरित भइरहेका छन् । मेला महोत्सवमा विशेष छुट, चिट्ठा तथा आकर्षक अफरका नाममा मानिसहरूले आवश्यकता भन्दा बढी खर्च गरिरहेका छन् । जबकि, अहिले बचत, लगानी तथा उत्पादनमुखी गतिविधिहरूमा जोड दिनुपर्ने समय हो । मेला महोत्सव सञ्चालन गर्न स्थानीय निकाय, संघसंस्था तथा व्यवसायीहरूले ठूलो मात्रामा खर्च गर्छन् । प्रचारप्रसार, स्टल निर्माण, कार्यक्रम व्यवस्थापन र कलाकारहरूको पारिश्रमिकजस्ता कुरामा खर्च हुने रकम उत्पादनशील क्षेत्रमा लगानी गर्न सके नयाँ उद्यम, स्टार्टअप तथा रोजगारीका अवसरहरू सिर्जना गर्न सम्भव हुन्थ्यो ।
मेला महोत्सवको उपादेयताबारे चर्चा गरिरहँदा यहाँ मेला–महोत्सव पूर्णरूपमा निरर्थक छन् भन्न खोजिएको होइन । सही ढंगले सञ्चालन गर्न सकिए, यी महोत्सवहरू व्यापार प्रवद्र्धन, लगानी आकर्षण तथा उत्पादन वृद्धिको महत्वपूर्ण माध्यम पनि बन्न सक्छन् । दुई चारवटा स्टलहरु राखेर होइन, सम्पूर्ण रुपमा मेलाहरूमा घरेलु तथा साना उद्यमीहरूका उत्पादनलाई बढी प्राथमिकता दिने, आयातित वस्तु बेच्नेभन्दा पनि स्थानीय हस्तकलाका सामग्री, कृषि उत्पादन, औद्योगिक उत्पादनहरूलाई प्रवद्र्धन गर्ने नीति ल्याउने, मेला महोत्सवलाई व्यावसायिक नेटवर्किङ तथा लगानी प्रवद्र्धनको अवसर प्रदान गर्ने माध्यम बनाउन सकिन्छ । मेलाहरू केवल सामान किनबेच गर्ने थलो मात्र नभएर, उद्योगी–व्यवसायीहरूबीच नेटवर्क बनाउने, लगानीकर्ता र ‘स्टार्टअप’हरूबीच सहकार्यको अवसर दिने खालका बनाउनुपर्ने आवश्यकतामा सम्बद्ध पक्षको ध्यान पुग्नु पर्छ ।
महिनासम्म नाचगान भिडभाड खरिदविक्रीको माहोलमा समय, स्रोत र सीप खर्चनुभन्दा हप्ता पाँच दिनको कृषि, पर्यटन या उद्यमसँग सम्बन्धित क्षेत्रलाई मात्र केन्द्रित गरेर ‘स्टार्टअप’ र अनुभवीहरुका बीचमा सिक्ने सिकाउने वातावरण सिर्जना गर्न सकिए यसले वास्तवमै स्वदेशमै उद्यम तथा रोजगारका सम्भावना पहिल्याउन मद्दत पुग्छ । त्यसैले सरकार, स्थानीय निकाय, व्यवसायी र सर्वसाधारण सबैले यस्ता महोत्सवहरूलाई केवल रमाइलोको माध्यम बनाउनुभन्दा आर्थिक पुनरुत्थानको अवसरका रूपमा उपयोग गर्नुपर्छ । अन्यथा यिनले उत्पादनशील श्रम शक्तिलाई अन्यत्र मोड्ने, अनावश्यक उपभोग बढाउने र समग्र आर्थिक गतिविधिलाई असर पार्ने जोखिम रहन्छ । सही नीति, प्राथमिकता र व्यवस्थापन नभएसम्म यस्ता मेलाहरू आर्थिक भारभन्दा बढी केही हुने छैनन् ।