अब के हुन्छ ? यतिखेर सबैले सोध्ने यही प्रश्न हो । गद्दि खोसिएको निरंकुुश राजाको शक्तिको आँकलन गरेर मानिस त्रसित वा भयभित हुने स्थिति आएको सङ्केत हो यो प्रश्न ।
सबैलाई थाहा छ, राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजिविकाका सवाल उठाएर संघर्ष गर्ने वीरवीरंगना हुन्छन् । यस्ता संघर्षहरूमा आफ्नो सचेत जीवन न्यौछावर गर्नेहरू महान् सहिद हुन्छन् । हाम्रो देशमा सदियौंदेखि यसरी सघर्षपूर्ण र अमर जीवन बाँचेका हजारौंहजार सम्मानित योद्धा र अमर सहिद भएका छन् ।
यही समाजमा अर्कोतिर दोहोरो सवालजवाफको क्षमता नभएका दिमाग आउट भएका केही अचेत जमात पनि छन् । ती विभिन्न रुप र रंगका राजभक्त हुन् । उनीहरूले सोच्नु पर्दैन, कुराकानी गर्नुपर्दैन, प्रश्न गर्नुपर्दैन र बस्तुगत यथार्थ के छ थाहा हुनु जरुरि पनि हुँदैन किनकि अर्कैले चलाउँदा मात्र चल्ने बस्तु हुन् । यति घृत र मुल्यहीन मानिस पनि छन् जो सामन्ती र शोषकीको राज्यसत्ता खोजिरहेछन् र त्यस्का लागि व्यर्थको प्रयास र मुल्यहीन घृणित मृत्युका भागिदार बनिरहेका छन् । खासमा ती जीउँदै मरेर जनमानसलाई सताउने मिथकहरूमा प्रेतात्मा भनिने पात्रहरू हुन् । अवको नेपाली समाज एकपटक यिनै तर्साउनेहरूले सताईएको समाज निश्चित बन्नेछ किनकि यहाँ काँग्रेस, एमाले र माओवादीबीच कुरा नमिलेपछि दूध खुवाएर बिषाक्त साँप पालिराखिएको छ ।
काँग्रेस र एमालेको बुद्धि नभएरै जनताले पाएको पटकपटकको अवशर गुमेको मात्र छैन, कतिपटक त राष्ट्रघात र जनघात गर्न पुगेका छन् । बुद्बि भएको भए जनयुद्ध हुँदैनथ्यो र मानिसको हताहत पनि हुँदैनथ्यो । ४० बुँदे मागको सुनुवाई हुँदैगर्दा माओवादीले हिंड्नेबाटो बन्दहुन्थ्यो । जनयुद्ध शुरुभएपछि पनि दमनको बाटो नरोजेको भए वा माओवादीले भनेको बार्ताको ढोका खुल्ला छ भनेको अवस्थामा बार्ता गर्नतिर लागेको भए जनयुद्धमार्फत फेरिएको राज्यव्यवस्था हजारौंहजार सहिद नहुँदै आईसक्थ्यो । जनताको त्यही माग धनजनको क्ष्यति नहुँदै पूरा गर्नु पर्दैन ? गोलमेच सम्मेलन र संविधानसभाको माग धनजनको क्ष्यति नहुँदै पूरा गर्नुपर्दैन ? काँग्रेस एमालेकै बुद्धिले गर्दा नै ज्ञानेन्द्रको सामन्ती निरंकुश शासन आएको र त्यो फाल्न हजारौं जनताले सहिद हुनुपरेको हैन ? शान्तिसंझौता पछि पनि राज्यपुनर्संरचना गर्दा संघीयताले देश टुक्रिन्छ भन्ने कुबुद्धि पलाएकैले मधेस जलेको र कैयौं मारिएपछि र हजारौं परिवारको बिचल्ली अनि विस्थापित भएपछि मानेका हैनन् ? काँग्रेस र एमालेलाई लागेका छौंडा हटाउन र उनीहरूमार्फत आएका सामन्ती प्रेतहरू पन्छाउन हजारौंहजारले वलिदान गर्नुपरेको हैन र ? अहिले पनि यिनैको सरकार बन्नुपर्ने बिडम्बनापूर्ण क्ष्यति फेरि एकपटक जनताले व्यहोर्नुपर्ने भएको छ । राजकीय सत्ता जनतालाई फर्काईदिएँ भन्ने सामन्ती भूतले फेरि एकपटक देश र जनतालाई सताउन थालेको छ । काँग्रेस–एकालेको सरकार बनेपछि “अब बेला आयो“ भन्दै गुमेको लुटको स्वर्ग फर्काउने आतङ्क र अराजकता फेरि शुरु भएको छ । बेलैमा सामन्तवादको समुल नष्ट गर्न माओवादीले गरेका प्रयासमा भाँजो हाल्ने काँग्रेस–एमालेकै कारण अब फेरि हत्या श्रृङ्खला शुरु भएको छ । सामन्ती छापामार आतङ्क बेलैमा निमिट्यान्न नपार्ने हो भने अरू हजारौं मानिसको दर्दनाक र आमनरसंहार हुने निश्चित छ ।
के काँग्रेस–एमालेको बुद्धि फिर्छ ? यतिखेर हरिवंशको “हरिवहादुर“ उपन्यासको याद आईरहेको छ– सबैथोक गुमिसक्दा पनि बदमास हरिवहादुरको बुद्धि फेरिएन । देशका लागि र जनताका लागि काँग्रेस र एमाले अभिशाप भैसकेका दल हुन् र माके चाहिँ ती अभिशाप भएका दलहरूसँग क्ष्यति व्यहोर्दै मान्यता दिईराख्ने भूमिका खेल्नेमा सिमित छ । राज्यको डण्डा प्रयोग गरेर सामन्तवादको समुलनष्ट गर्न चुकेको पिडादायी अवस्था व्यहोर्नुपर्ने स्थितिमा पुगेको छ ।