शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

राजनीतिक शुद्धीकरणको अवसर

बिहिवार , चैत्र १३, २०८१

नेपालमा राजनीतिक पार्टीहरूको शुद्धीकरणको चर्चा बाम्बार हुने गर्छ तर चाहेजस्तो शुद्धीकरण भने हुन सकेको छैन । तीस वर्षको पञ्चायतका विरुद्ध संघर्ष गरेको पुस्ता स्वयंले यताको तीन दशक शासनको बागडोर समालिसकेको छ तर विकृति र विसंगति रोकिएको छैन । लोकतन्त्र अझै संस्थागत हुन सकेको छैन । देशले आर्थिक तथा सामाजिक परिवर्तनको गति लिन सकेको छैन । राजनीतिक शुद्धीकरणमा दलहरू चुकेका छन  । नेपाली राजनीतिको विरासत संघर्षका गाथाहरूले भरिपूर्ण छ तर निर्माणको गाथा गाउन पाइएको छैन । यो आम मानिसहरूको मनको आवाज आजभोलि निकै गुन्जिने गरेको छ । जिन्दगीभर संघर्ष गरेका नेताहरूबाट सत्ता राजनीतिमा किन चुक हुन्छ ? राष्ट्रको समस्या किन समाधान हुन सक्दैन ? नेतृत्व वर्ग राष्ट्रिय समस्याप्रति किन संवेदनशील हुन सक्दैन ? यी मूलभूत विषयमा चिन्तन गर्नु जरुरी छ ।

लगातार विकृति, विसंगति, अन्याय र अत्याचारका विरुद्ध लडेको पुस्ता त्यही विकृति विसंगति र अन्याय र अत्याचारको साक्षी बस्नुपर्ने अवस्थाको सिर्जना हुन किन परेको होला ? नेपाली राजनीतिको समस्याको चिरफार गरेर त्यसैका विरुद्ध संघर्ष गरेर राजनीतिक प्रणाली नै फेर्न सफल भएको राजनीतिक पुस्ताले फेरि कतिपय प्रवृत्ति दोहोरिने अवस्थाको अन्त्य गर्न नसकेको किन होला ? हस्तक्षेपका विरुद्ध निर्ममतापूर्वक कठोरभन्दा कठोर कदम चाल्न पनि पछि नपर्ने यो पुस्ता आज वैदेशिक शक्तिका सामुन्नेमा किन आफना दाबीहरू प्रस्तुत गर्न किन नसकेको होला ? यी र यस्तै प्रश्नको जवाफ नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र पाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लेदिनुपर्ने भएको छ । भर्खरै गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नराष्ट्रिय स्वतन्त्रपार्टी लगायतले पनि भाग्ने र उम्कने ठाउँ छैन । सार्वजनिक रूपमा उठ्न प्रश्नहरूको सबैले सामना गर्नुपर्ने हुन्छ ।

नेपाल परनिर्भर र सस्तो श्रम निर्यात गर्ने देशका रुपमा परिचित भएको छ । देशको समग्र भविष्यका लागि यो सानो समस्या होइन । शासन सत्तामा बस्नेहरुका लागि विलास तथा राजनीतिमा कर्पोरेट तथा दलाल पूँजीपति वर्गका केही घरानाहरुको हालीमुहालीले शोषणमा व्यापक बृद्धि भएको छ । जसको परिणाम आम जनताको अवस्था निकै गम्भीररुपमा समस्याग्रस्त हुँदै गएको छ । यसप्रति वर्तमान सरकारको जवाफदेहिता, जिम्मेवारी र दायित्व निर्वाहको सामान्य त्यान्द्रो पनि बाँकी रहेको देखिन्न । आज २०८१ मा नै मिशन २०८४ को उदेकलाग्दो भाषणले जनतालाई दिक्क बनाइरहेको देखिन्छ । यसरी देशमा मूल्य विघटन हुँदै गएको राजनीतिप्रति जनताको आक्रोश चुलिँदै गएको छ र घृणा बढेको छ । जनताले विकल्प खोजिरहेका छन् तर भरपर्दो विकल्प पाइरहेका छैनन् ।

विश्वको इतिहासले के देखाउँछ भने निराशाको समुद्रमा डुबेका जनता शुरुमा अतीतमुखी संस्कृतितर्फ फर्कन्छन्, सबैमा अग्रगामी चेत हुन्छ नै भन्ने हुँदैन । त्यसपछि राजनीतिमा पनि अतितमुखी विकल्प खोज्न सक्ने कुरालाई इन्कार गर्न सकिन्न । फ्रान्समा १७९३ मा राजाको टाउको काटेका जनताले सन् १८०४ मा नेपोलियन बोनापार्टलाई सम्राटका रुपमा जयजयकार गरेका थिए । त्यसर्थ नेपालका राज्य सञ्चालनको विधिमा रहेका दलका नेताहरुले मात्र होइन आज प्रतिपक्षमा रहेका दलहरुले पनि इतिहासबाट पाठ सिक्न जरुरी छ । अन्यथा सिंगो मुलुक भीरबाट लड्न किञ्चित समय लाग्ने छैन । दलहरुमा व्याप्त मूल्य विघटनको राजनीतिमा सुधार नभएमा देश र जनताले ठूलो मूल्य चुकाउनुपर्नेछ । त्यसो त मूल्यहीन राजनीतिको तुरुन्त अन्त्य हुन जरुरी छ । बिडम्वना मूल्यहीनता नेपालको राजनीतिक संस्कार भइसक्यो । यो संस्कारले ल्याउने दुष्परिणाम सामान्य हुने देखिन्न । अव राजनीतिक शुद्धीकरणमा लागौँ ।

प्रतिक्रिया