शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

भूकम्पीय जोखिमप्रति सतर्कता अपनाऔं

आइतवार , चैत्र २, २०८१

नेपाल पटकपटक विनाशकारी भूकम्पबाट गुज्रिँदै आएको छ । भौगोलिक हिसाबबाट नेपाल भूकम्पीय उच्च जोखिममा रहेको क्षेत्र हो । पछिल्लो पटक २०७२ सालको विनाशकारी भूकम्प हामी र हाम्रो पुस्ताका लागि ताजा अनुभव मानिन्छ जसमा पाँच लाख भन्दा बढी घरमा क्षति पुग्यो, हजारौँले ज्यान गुमाए, लाखौँ घरबारबिहीन बने र धेरै बसाइँ सर्न बाध्य भए । यो अवस्थामा हामीले २०७२ पछिको सिकाइ, भोगाइ र भूकम्प पछिको अध्यायन भुल्दै गर्दा फेरि नेपालमा निरन्तर भूकम्पका धक्का महसुस हुन थालेका छन् । हाम्रो एउटा बानी छ, आफूलाई दुःख नपर्दै नचेत्ने । बेलैमा होशियारी नअपनाउने तर त्यही लापरवाहीले क्षति निम्त्याउँदा पछुताएर बस्ने । भूकम्पीय जोखिमप्रतिको हाम्रो उदासिनताले पनि यही देखाउँछ । नागरिकहरुमा यस्तो उदासिनता त छ नै, नागरिकलाई सचेत पार्ने, कानुन बनाउने, अनुगमन तथा नियमन गर्ने निकायहरुमा समेत पर्याप्त संवेदनशीलता देखिँदैन ।

हामीले भूकम्पले धेरैको ज्यान लियो भन्छौं तर कुरा त्यसो होइन । भूकम्प आफैंले ज्यान लिने हैन, हामीले बनाएका कमजोर भौतिक संरचना र अव्यवस्थित शहरीकरणले गर्दा जनधनको क्षति हुने हो । हामीले सुन्छौं, जापानमा ५–६ म्याग्निच्युडका भूकम्प अनगिन्ती गइरहन्छन् तर पनि भूकम्प र त्यसपश्चात् आउने समुन्द्री आँधीले जनधनको क्षति भएको सुनिँदैन । किनभने त्यहाँ आम मानिसलाई भूकम्पबाट कसरी बच्न सकिन्छ भन्ने कुराको राम्रोसँग शिक्षा दिइनुका साथसाथै भवन निर्माण आचारसंहितालाई पनि कडाइका साथ लागु गरिएको छ । अब हामी पनि भूकम्पलाई स्वीकार गर्दै यसैसँगै बाँच्न सिक्नुपर्छ । हामीकहाँ पनि भूकम्पीय जोखिमबारे सचेतना अभिवृद्धि गर्न सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । तर पनि यसबारे नागरिक स्तरमा पर्याप्त सचेतना छैन भने भवन निर्माण मापदण्डको पालनामा नागरिकको लापरवाही र नियमनकारी निकायको उदासिनता धेरै छ । भूकम्पीय दृष्टिकोणले नेपाल हिमालय अति सक्रिय क्षेत्रमा पर्छ ।

ग्लोबल रिपोर्टका अनुसार नेपाललाई भूकम्पीय जोखिमका आधारमा एघारौं स्थानमा राखिएको छ । विनाशपछिको सतर्कता पश्चाताप बाहेक केही नहुने भएकोले पूर्वतयारी गर्नु अत्यन्त जरुरी हुन्छ । पूर्वतयारीका सन्दर्भमा भूकम्प प्रतिरोधी भवन निर्माण गर्नु सबैभन्दा उत्तम पूर्वतयारी हो । यो कुनै नौलो कुरो होइन । घर निर्माणसम्बन्धी हाम्रो चलन चल्तीमा रहेको केही सामान्य अभ्यासहरुलाई मात्र परिवर्तन गर्न सकिएमा भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सकिन्छ ।एकपटक ठूलो भूकम्प गइसकेको ठाउँमा पुनः जान सक्दैन भन्ने हुँदैन । जमिनमुनिको पूरै शक्ति स्खलित नभएको अवस्थामा त्यही क्षेत्रमा फेरि सानातिना कम्पन गइरहन सक्ने सम्भावना रहन्छ । गोर्खा भूकम्पपछि पनि नेपालका अन्य भूभागमा ठूलो मात्रामा शक्ति संकलन भइरहेको र जुनसुकै समयमा पनि उक्त शक्ति बाहिर पैदा हुन सक्छ भनेर भूगर्भविद्हरूले सचेत पार्दै आइरहेका छन् । नेपाल हिमालय भूकम्पीय दृष्टिकोणबाट उच्च जोखिम भएको क्षेत्रमा पर्ने हुनाले पनि संरचना निर्माणमा अपनाउनु र भूकम्पपछिको पूर्वतयारीलाई नियमित बनाउनु नै जोखिम न्यूनीकरणको उपाय हो । स्थानीय सरकारले भूकम्पीय सुरक्षालाई ध्यान दिएर निर्माणका काम गर्ने र त्यसरी निर्माण कार्य भए नभएको प्रभावकारी अनुगमनलाई आफ्नो नियमित कार्यसूचीमा राख्नु आवश्यक छ ।

प्रतिक्रिया