आज ८ मार्च, ११५ औँ अन्तर्राष्टिय श्रमिक नारी दिवस । विश्वका महिलाले मुक्तिका लागि गरेको संर्घष सम्झना गर्ने दिन । हरेक वर्षझैँ यस वर्ष पनि नेपाल लगायत विश्वभर अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस बनाइँदै छ । लैंगिक आधारमा मान्छेबीच हुने विभेदविरुद्ध थालिएको यो अभियानले आजसम्म आइपुग्दा संसारलाई महिलामैत्री बनाउन धेरै काम गरेको छ । तर धर्म, सम्प्रदाय, मूल्य र मान्यताका नाममा सदियौंदेखि लादिएका कतिपय विचार र आदतका कारण यति धेरै संघर्ष र अभियान चलाइँदा पनि महिलाप्रतिको विभेद जारी छ । नारीहरूप्रति हेरिने दृष्टिकोणमा अझै उदारता नआएको सामाजिक यथार्थ हाम्रा सामु छर्लंगै छ । नेपाली समाजमा महिलाहरू चुलोचौकोमा मात्र सीमित राखेर बाहिर नारी अधिकारका चर्का भाषण सुनिने गर्छ । घर बाहिर नारी समानताका विषयमा चर्का भाषण र वकालत र बहस गर्न सक्षम हामी नारी दमनका लाजमर्दा काम गरिरहेका छौँ ।
समान ज्यालाको माग राखेर आन्दोलन गरेको शताब्दी नाघ्दा पनि कतिपय स्थानमा महिला भएकै कारण ज्यालामा विभेद त छँदैछ, महिलामाथि हुने हिंसा अनेक क्षेत्रमा अनेक रूपमा कायम छन् । विचार, ज्ञान, ध्यान होस् या भौतिक वस्तु होस्, सबैथोक बेचेर शक्तिशाली हुने यो युगमा पुँजीवादले अनेक नाममा महिलालाई शोषण गरिरहेकै छ । पुँजीवादी उत्पादन प्रणालीले महिलालाई चुलाचौका, खेतबारी र घाँसस्याउलाबाट आज बजारमा ल्याएर उपयोग गरिरहेकै छ ।
८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउने उदघोषसँगै विश्वभरका महिलामा उत्साहको सञ्चारमात्र भएन, यसले चेतनास्तर वृद्धिमा पनि ठूलो फड्को मार्यो । यसपछि क्षेत्रीय, उपक्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा महिला आन्दोलन विस्तार भयो । तथापि आजभन्दा ११५ वर्षअगाडि श्रमिक महिलाको अवस्था जस्तो थियो, अहिले पनि त्यस्तै छ । स्थितिमा अपेक्षाकृत सुधार भने आएको छैन भन्न हिच्किचाउनु पर्दैन । बरु महिला शोषणका स्वरुपमा भने परिवर्तन आएको छ।
नेपालमा पनि महिलाको अवस्था दयनीय छ । त्यसमा पनि झन् घरमा काम गर्ने महिला त पारिश्रमिक विनाका श्रमिक भएका छन् । चुलोचौको महिलाको पर्यायवाची बनेको छ । चुलोचौकोको कामलाई कामका रुपमा बुझ्ने गरिएको छैन । श्रम पुरुषभन्दा महिलाले बढी गर्छन् । तर श्रमको गणना पुरुषको हुन्छ महिलाको हुन्न । पुरुष परिवारको सञ्चालक कहलिन्छ महिलाचाहिँ गृहिणी (हाउस वाइफ) कहलिन्छे । विज्ञानले महिला र पुरुषबीच कुनै पनि खालको भौतिक–मानसिक फरक नभएको पुष्टि गरिसक्दा र महिलाले पटकपटक विभिन्न क्षेत्रमा उदाहरणीय बनेर आफूलाई पुष्टि गरिसक्दा पनि महिलामाथिको निरन्तर विभेद संसारकै लागि सरमको विषय हो । शक्ति र सम्पत्तिले आधुनिक समाजमा सिर्जना गरेको विभेद त विश्वव्यापी छँदैछ, तर संसारलाई आँखा देखाउने मातृशक्तिप्रतिको विभेद निर्मूृल पार्न सक्नुपर्छ ।
सृष्टिको आधा आकाश ढाकेको नारीलाई घर, समाज र राष्ट्र निर्माणको हरेक क्षेत्रमा पुरुष सरह अवसर प्रदान गरिनुपर्दछ । महिला पुरुषको समान साझेदारीको सम्बोधन गर्न आवश्यक छ । महिला भन्ने बित्तिकै केही गर्न सक्दैनन् भन्ने मानसिकताबाट मुक्त हुन जरुरी छ । जनसंख्याको आधा हिस्सा ओगटेका महिलाहरूको उन्नति बिना देशको प्रगति बिना असम्भव छ । लैंगिक समताको विषय महिलाको मात्रै होइन, सबै जागरुक मान्छेको साझा विषय हो । महिलामाथिको विभेद पुरुषका लागि पनि लज्जाको विषय हुँदै हो । विभेद अन्त्यका लागि महिलाको मात्रै होइन, पुरुषको भूमिका उत्तिकै अपेक्षित छ । त्यसैले यस्तो विभेदकारी संरचनामा परिवर्तन गर्न राज्य, समाज सबै एकजुट हुनु आवश्यक छ ।