परिवार, समाज या राष्ट्रमा आउने जुनसुकै समस्याको उचित व्यवस्थापन गर्नु राजनीति हो । त्यसैले आममानिसको बुझाइजस्तो राजनीति फोहोरी खेल होइन । राजनीति कसरी फोहोरी हुन्छ जब यो नै राज्य सञ्चालनको एक मात्र आधार हो भने ! खासमा यो खेलका खेलाडी चाहिँ फोहोरी भएका हुन् । सत्ता र पैसाको लोभ र उन्मादले राजनीतिका खेलाडीहरूलाई धमिल्याएका कारण यो खेललाई फोहोरी ठानिएको मात्र हो । तर जतिसुकै फोहोरी किन नहोस्, यो फोहोर सफा गर्न पनि एक सच्चा इमानदार राजनीतिज्ञकै खाँचो पर्छ ।
विगतको राणाकालीन र निरंकुश राजतन्त्रात्मक परिवेशका कारण नेपालीहरूले उचित शिक्षा प्राप्त गर्न सकेनन् । त्यो अवस्थामा नागरिकको हकहित र व्यवस्था परिवर्तनका लागि हाम्रा राजनीतिक दलका नेताहरूले ठूलो बलिदान दिएकोमा दुईमत छैन । अब अवस्था बदलिसकेको छ । अब हामी स्वयं अनुशासनमा बस्न सक्नुपर्छ । हाम्रा नेताहरूको दायित्व भनेको भावी पुस्ताका लागि अनभिज्ञताको पर्दामा रहेर भविष्यको परिकल्पना गर्नु र त्यसका लागि जग तयार गर्नु हो ।
यसरी आफूलाई अज्ञानताको पर्दामा राखेर आफू कस्तो व्यवस्थामा जिउने परिकल्पना गरिन्छ त्यो व्यवस्था निर्माण गर्न चाहिने एक मात्र तत्व इमानदारी हो । इमानदारीमा इच्छाशक्ति पनि थप भए जस्तोसुकै कार्य सम्भव छ। जसरी अमेरिका अठारौं शताब्दीमा व्याप्त विकृत प्रणालीबाट मेरिट प्रणालीमा आयो, अब हामीले निर्माण गर्ने राज्य भनेको त्यही प्रणालीमा हुनुपर्छ ।
हामी नेपालीहरू आफूलाई अन्तर्यामी सम्झन्छौं । एकै व्यक्ति कहिले अर्थमन्त्री, कहिले गृहमन्त्री, कहिले परराष्ट्रमन्त्री या पाए जुनसुकै मन्त्री बन्ने खुबी राख्छन् । न विषयगत शैक्षिक योग्यता, न अनुभव । तै पनि सबै कुरा बुझ्न सक्ने हामी नेपालीहरू वास्तवमै महान छौं । नेता मात्र होइन, हामी जनता पनि उस्तै छौं । चियापसल, चौबाटो जहाँ पनि जुनसुकै विषयमा हामी निर्धक्क यसो र उसो हुनुपर्छ भनेर आफ्नो अद्भुत विज्ञता बाँड्न पछि पर्दैनौं। किन यस्तो गर्छौं त हामी ? किन कि हामी आफूलाई सर्वोपरि ठान्छौं, विज्ञ ठान्छौं । विज्ञानलाई एकदमै सहज ढंगले लिने गर्छौं । हामी त क्षणभरमै यसो र उसो हुनुपर्छ भनेर निष्कर्ष निकालिहाल्छौं । यो हाम्रो ठूलो भूल हो । हामीले विज्ञानलाई समय दिनुपर्छ, विज्ञलाई स्थान दिनुपर्छ ।
यसका लागि विषयगत विज्ञहरू सम्बन्धित ओहोदामा रहनुपर्छ । विज्ञ हुँदैमा व्यवस्थापन गर्न सक्छन् त भन्ने प्रश्न पनि उठ्छन् । विषयगत विज्ञ एकले नसके अर्कोले सक्ने सम्भावना जति धेरै हुन्छ, त्यसको दाँजोमा अनुभव भएका तर विषयगत ज्ञान नभएकाहरूबाट हुने सम्भावना एकदमै कम हुन्छ । जब राजनीतिमा पनि विषयगत विज्ञताको कसी राखिनेछ तब सबै नागरिकलाई अध्ययन गर्न कर लाग्नेछ । शिक्षाबिना राजनीति असम्भव भयो भने विद्यालय, क्याम्पसमा ढुंगामुढा, तालाबन्दी स्वतः हराउने छ । यो विषय वर्तमान संसदबाटै सम्भव नहोला तर बिस्तारै जुन बौद्धिक चेतना विकास हुँदै गइरहेको छ, एक दिन अवश्य यो कुरा सम्भव हुनेछ । यसलाई सार्थक बनाउनु आमनेपालीको भविष्यका लागि सुखद सुरूआत हुनेछ । ढुंगामुढा गर्नेले जान्ने तर पढेलेखेकाले जान्दैन भनेर पूर्वाग्रह राख्नु फोहोरी राजनीति नै हो । यस्तो राजनीति अब हामीलाई स्वीकार्य छैन । अबको हाम्रो आन्दोलन र अबको हाम्रो राजनीति पद्धति विकासमा केन्द्रित हुनुपर्छ । पुराना नेताहरूले देशका लागि जे जति योगदान दिए, त्यसको कदर गर्दै उनीहरूको उचित पुनस्र्थापना हुनुपर्छ । अब राजनीति गर्ने विज्ञहरूले उनीहरूको अनुभव आत्मसात् गरी देश विकासमा इमानदारीका साथ लाग्नुपर्छ । सम्पत्ति कमाउने उद्देश्य भएकाहरू व्यापार या अन्य जुनसुकै व्यवसायमा लाग्दा हुन्छ। राजनीतिको अर्थ जनताका लागि निःस्वार्थ काम गर्नु हो । देश बनाउन कुनै ठूलो वाद होइन, विषयगत दक्षता, मानवीयता र इमानदारी भए पुग्छ ।