जनता आफ्ना आर्थिक–सामाजिक आवश्यकताहरूको दिगो सम्बोधन चाहन्छन् । योजनाबद्ध विकासमा मुलुक लागेको सात दशक पुग्नै लाग्दा पनि विकासले सही बाटो समातेको अवस्थासम्म बन्न नसक्नु विडम्बनापूर्ण छ । दशकौँ विकासको नारा लागिरहने तर जनताले आधारभूत आवश्यकतासमेत सम्बोधन भएको अनुभूति गर्न नपाउने उदेकलाग्दो अवस्थाबाट देश गुज्रिरहेको छ । नेपालमा विकासको गति निकै मन्द र सुस्त छ । केही विकास निर्माणका योजनामा त यो गति ठप्पजस्तो देखिएको छ । कतिपय महत्वपूर्ण योजनामा काम गर्ने ठेकेदार कम्पनी नै काम अलपत्र पारेर भागेको वा छोडेर हिंडेको अवस्था छ । विदेशमा राम्रो काम गरेर ख्याति कमाएका कम्पनीहरुले समेत नेपालमा राम्रो काम गर्न नसक्ने परिस्थिति किन छ, यो गम्भीर विषय हो । राष्ट्रिय गौरवका महत्वपूर्ण योजनाहरुमा समेत राम्रो ढंगले काम भएको छैन । अब सबै पक्ष जिम्मेवारीका साथ समस्या समाधानको बाटोमा लाग्नुपर्छ । मुलुकको स्थायी सरकार मानिने कर्मचारीतन्त्रले अझ बढी गम्भीरता र इमानदारिता देखाउन सक्नुपर्छ । कर्मचारी प्रशासनमाथि धेरै प्रश्नहरु उठेका छन् । निर्माण कम्पनीहरुले सहजढंगले काम गर्ने वातावरण बनाउनेतर्फ उनीहरुले ध्यान पुर्याएको पाइन्न । अझ बढी दुःख दिने गरेको गुनासो सुनिन्छ ।
नेपालले विकासको राम्रो र गतिलो मोडेल नै स्थापित गर्न सकेन । उपभोक्ता समिति बनाएर जनस्तरबाट गरिने काममा समेत राजनीतिक भागवण्डा र चरम बेथिति छ । विकास बजेटको ठूलो हिस्सा झण्डै पचास प्रतिशत रकम असार महिनामा खर्च गर्ने प्रवृत्तिमा कुनै सुधार आउन सकेको छैन । ‘असारे विकास’ को रुपमा यो प्रवृत्ति निकै बदनाम भइसकेको छ । अन्तिम समयमा काम गरेर बजेट सिध्याउनुका पछाडि भ्रष्टाचार गर्ने मनसाय लुकेको प्रष्ट छ । यो खुला सत्य जस्तै भइसकेको छ । तर यसलाई रोक्ने काम कतैबाट हुन सकेको छैन । जताकतै तरमाराहरुको बोलबाला भएकोेले विकासको विकृत अभ्यासले विगत लामो समयदेखि निरन्तरता पाइरहेको छ । नेपालमा विकास प्रक्रिया शुरु भएदेखि जारी रहेको यो अभ्यास गणतन्त्र आउँदासम्म निरन्तर चलिरहेको छ । विकासको नयाँ मोडेल स्थापित गर्नुको साटो पुरानै विकृतिमा रमाउँदा व्यवस्थाप्रति नै जनताको असन्तुष्टि र आक्रोश बढ्दैछ । त्यसैले सरकार र दलहरु यस्ता कुरामा गम्भीर बन्दै सुधारको थालनी गर्ने बाटोमा तत्कालै लाग्न जरुरी छ ।
अहिले धेरै युवाहरु स्वदेशमा काम गर्नुको साटो विदेश जानमै लालायित देखिन्छन् । युवाहरुमा निराशा र आक्रोश हैन आशा भरोसाको संचार गराउन जरुरी छ । यसका लागि पनि हरेक क्षेत्रमा व्याप्त विकृति विसंगतिको अन्त्य गर्न जरुरी छ । मूलरुपमा भन्नु पर्दा नेपालमा हरेक गलत धन्दाहरु राजनीतिक संरक्षणमा मौलाइरहेको अवस्था छ । विकास निर्माणसँग जोडिएका ठेकेदार, प्राविधिक, कर्मचारी वा उपभोक्ता समूह समेत कुनै न कुनै दलसँग जोडिएका छन् । उनीहरुको अन्तरसम्बन्ध बलियो ढंगले कसिएको हुन्छ । राजनीतिक संरक्षणमा फैलिएको बेथितिपूर्ण अवस्थाको अन्त्य नगर्दासम्म नयाँ नेपाल बनाउने कुरा गफ मात्र हुनेछ । अब कम्तिमा पनि सुधारको अवस्थातर्फ अगाडि बढ्न बिलम्व नगरौं ।