नेपाल गाउँहरुको देश हो । देशको अधिकाँस भाग शहरले भन्दा गाउँले भरिएको छ । गाउँहरुको देश नेपालमा पछिल्लो समय गाउँहरु रित्तिदै गएका छन् । विभिन्न सेवा सुविधा र सहजताको लागि भन्दै आफु जन्मे हुर्केको सुन्दर गाउँ छोडेर शहर र तराई सर्नेहरुको संख्या ठूलो छ । अचेल गाउँहरु रित्तिदै गएका छन् र सहरहरु साँघुरिदै गएका छन् । गाउँमा प्रशस्त खेतबारी छन् तर खेती गर्ने मान्छे छैनन् । यता सहरमा छत मात्र छन् अनि कौसी खेती र गमला खेती गर्नेहरुको संख्या बाक्लिदै गएको छ । ती सुनसान र उराठ हुँदै गएका गाउँहरुमा जसोतसो जीवन भर्ने काम उमेरले नेटो कटिसकेका वृद्ध बा–आमा वा हजुरबा हजुरआमाहरुले गरिरहेका छन् ।
गाउँ रित्तिनुमा थुप्रै कारणहरु छन् । पहिले गाउँमा मान्छे थिए, विकास थिएन । अहिले गाउँमा मान्छे छैनन्, केही न केही विकास छ । गाउँहरुमा बाटो, स्वास्थ्यचौकी, विजुली बत्ति, शिक्षा जस्ता पूर्वाधारहरु पुगिरहेका छन् । विद्यालयका ठूला–ठूला भवनहरु बनिरहेका छन् तर पनि गाउँ छोड्नेहरुको संख्या दैनानुदिन बढ्दो छ । यस्तो किन भइरहेको छ ? यसको बारे केही छलफल गर्न जरुरी छ । केही बर्ष अघिको तुलनामा सेवासुविधा गाउँघरमा पुगिरहेका छन् तर ति सेवा सुविधा प्रयाप्त छैनन् र भएका पनि गुणस्तरीय छैनन् । विद्यालयका ठूला–ठूला भवन बनिरहेका छन् तर पढाईको गुणस्तर बढाउन सकेका छैनौँ । स्वास्थ्य चौकीका ठूला भवनहरु बनिरहेका छन् तर उपचार पाउन मुस्किल भइरहेको छ । अधिकाँस गाउँ छोड्ने मान्छेहरुको भनाई के पाइन्छ भने ‘उपचार र आफ्नो बालबालिकाको शिक्षाको लागि’ गाउँ छोड्नु पर्यो । अतः गाउँ खाली हुनुको एउटा महत्वपूर्ण कारण गुणस्तरीय शिक्षा र स्वास्थ्य नहुनु नै हो ।
रोजगारको अवसर नहुनु पनि अर्को महत्वपूर्ण कारण हो । गाउँमा स्वरोजगारको वातावरण पाइदैन । नगरे पनि कृषि गरे पनि कृषि त्यहि पनि निर्वाहमूखि कृषि । केही फाट्टफुट्ट व्यवसायीक रुपमा कृषि गर्न लागेकाहरुको पनि कृषि उत्पादनले बजार पाउँदैन, मुल्य पाउँदैन । अनि अनुदान पनि अझै वास्तविक किसानले पाउने गरेको पाइदैन । जसको कारण सरकारले कृषकलाई कृषिमा भविष्य देखाउन सकेको छैन । परिणामतः गाउँमा बसेर जति गरेपनि केही हुँदैन भनेर गाउँ छोड्नेहरुको संख्या ठूलो छ ।
राजनीतिक बितृष्णा अर्को एक महत्वपूर्ण कारण हो । यसबाट गाउँशहरका अधिकाँस नागरिक असन्तुष्ट छन् । तीनवटै तहका सरकारले आफ्ना नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न सकेका छैनन् । नेताहरुको विश्वसनीय बोली पनि पाइदैन । सुशासन कायम गर्न हाम्रा दल र सरकारहरु चुकेका छन् । परिणामतः मानिसको रोजाई विदेश र शहर बनिरहेको छ । गाउँ खाली भइरहेको छ । यसलाई हृदयंगम गरेर सरकारले पहाडका जनतालाई पहाडमा रमाउने वातावरण बनाउन विकास निर्माणका अतिरिक्त, थप आत्मनिर्भरता तथा रोजगारीका कार्यक्रम ल्याउन आवश्यक छ ।