शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

समाजमा भ्रष्टाचारको शुन्य सहिष्णुता अपनाऔँ

आइतवार , फाल्गुण १८, २०८१

समकालीन समाजको सबैभन्दा ठूलो समस्या ‘भ्रष्टाचार’ देखिएको छ । समाजले अवलम्बन गर्दै आएका मूल्यमान्यता, रितीरिवाज तथा संस्कृतिले भ्रष्टाचारलाई प्रेरित गरिरहेको देखिन्छ । व्यक्ति कस्तो सामाजिक परिवेशमा हुर्किएको छ र त्यो समाज कस्ता मूल्यमान्यतामा विश्वास गर्दछ भन्ने कुराले व्यक्तिको प्रवृत्ति, व्यवहार, चाहना, लोभजस्ता सवाललाई निर्धारण गर्दछ।नेपाली समाजमा चाकरी, चाप्लुसी, नजराना, कोसेलीपात, उपहारका नाममा ‘लेनदेन’ चल्दै आएको छ । इमानदारलाई भन्दा धेरै पैसा कमाउने र सम्पन्न व्यक्तिलाई समाजले सम्मानित दृष्टिकोणले हेर्छ। छरछिमेक, टोल, समाज सबैतिर पैसा भएका मान्छेको उच्च आदर र सम्मान हुन्छ । त्यसैको प्रभावले व्यक्ति भ्रष्टाचार तथा अनियमितता गरेर भए पनि पैसा कमाउने र सामाजिक रवाफ बढाउने ध्याउन्नमा लाग्दछ । यही जगमा समाजमा भ्रष्टाचारजस्ता गलत क्रियाकलाप दिनदिनै झाँगिदै गएका छन् । भ्रष्टाचारको प्रमुख कारणमा पैसाप्रतिको आशक्ति तथा सामाजिक मूल्यमान्यता र चालचलनहो । नेपाली समाज पैसालाई अत्यन्तै महत्व दिने, शक्तिलाई अत्यन्त आदर गर्ने र यस्तालाई प्रश्नसमेत नगर्ने भएकाले उच्च अधिकारीहरू जायज–नाजायज वा जसरी भए पनि पैसा संकलन गर्नेतर्फ लाग्ने र सोही कारण भ्रष्टाचारले फैलने मौका पाएको छ ।भ्रष्टाचारले मुख्यतः तीन क्षेत्रलाई बढी प्रभाव पारिरहेको देखिन्छ । राजनीतिक क्षेत्रमा विधिको शासन र लोकतन्त्रलाई प्रभाव पारेको छ । आर्थिक क्षेत्रमा राष्ट्रिय आय घटाउनमा यसले प्रभाव पारेको छ । सामाजिक क्षेत्रमा राजनीतिक प्रणाली र नेतृत्वमा जनताको विश्वास घटाउने कार्य गरेको पाइन्छ । भ्रष्टाचारले सदाचार, पारदर्शिता र उत्तरदायित्वमा नकारात्मक असर पारेको छ ।

सिन्धुलीमा स्थानिय तह, सरकारी कार्यालय र सार्वजनिक संस्थामा आर्थिक अनियमिमता बढिरहेको नागरिक अगुवाले गुनासो गरेका छन् । जिल्लाका केहि स्थानिय तह, सरकारी कार्यालय र सार्वजनिक संस्थाले सार्वजनिक खरिद ऐन, २०६३ विपरित क्रियाकलाप गर्दै आइरहेको आरोप लाग्ने गरेको छ । त्यस्तै, जिल्लाका स्थानिय तह र सरकारी कार्यालयले विज्ञापन शिर्षकमा करोडौँ खर्च गरिसकेका छन् । स्थानिय तह र सरकारी कार्यालयको प्रमुख, लेखा अधिकृत लगायतले कमिशनमा ¥याल चुहाउँदा फुजल खर्च बढेको हो । त्यसैगरि, टेण्डरबाट गरिने काममा समेत आर्थिक अनियमितता बढेको व्यवसायीले गुनासो गरेका छन् । ठेक्का खुलाउँदा आफू निकटका व्यवसायीलाई फाईदा पुग्ने गरि ‘स्पेसिफिकेसन’ तयार गरिएको समेत फेला परेको छ । टेण्डर मार्फत लगाईने काममा थोरै व्यवसायीबिच प्रतिस्पर्धा गराउन विभिन्न तिक्डम लगाउने गरिएको छ । यतिमात्र नभएर सरकारी कार्यालय र स्थानिय तहले वितरण गर्ने अनुदान आफु अनुकुलका मान्छेलाई दिइएको भन्दै सर्वसाधरणले विरोध गर्दै आएका छन् । तसर्थ, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने अख्तियार दुरुपयोग अनुसन्धान जिल्ला समन्यव समितिले आर्थिक अनियमितताको गन्ध कतै देखिए तत्काल अनुसन्धान गर्नतर्फ जोड दिनुपर्दछ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लामा रहेको नौँवटै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतलाई छलफलमा बोलाई भ्रष्टाचारविरुद्ध निर्मम हुन निर्देशन दिन जरुरी छ । त्यस्तै, स्थानिय तहमा राजनैतिक दलले प्रतिपक्षको भुमिका निर्वाह गर्दै गलत प्रवृद्धि विरुद्ध आवाज उठाउन सक्नुपर्दछ । अतः भ्रष्टाचारप्रति शुन्य सहिष्णुता अपनाईँ जिल्लामा सुशासन कायम गर्नतर्फ जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया