सामाजिक सञ्जाल चलाउँदा, खेल्दा अत्यन्त रमाइलो, मजाक हुने भए पनि यसले धेरैको घरबार चौपट बनाइदिएको छ । नाता सम्बन्धमा दरार ल्याएको छ । यसको गलत प्रभावमा परेर विद्यार्थीको पढाइ बिग्रनुको साथै मानव बेचबिखनको जोखिम बढेका समाचार आइरहेका छन् । सामाजिक सञ्जालको प्रयोगले ससाना धेरै नानीबाबुको नयाँ विषयवस्तु सोच्ने क्षमतामा ह्रास ल्याउनुका साथै घरबाहिर गएर खेल्ने, सिक्ने, सामाजिक दायित्व निर्वाह गर्ने समय बर्बाद गरिदिएको छ । समाजमा विभिन्न विकृति विसंगति सिर्जना गर्न, जाति धर्म, विचारका विरुद्ध आमसर्वसाधारण नागरिकबीच विभ्रम फैलाउन सामाजिक सञ्जालले मलजल गरेको छ । कतिपय मानिसका लागि पूर्वाग्रह साध्ने साझा चौतारी बनेको छ समाजिक सञ्जाल । सूचनामाथि जाजुसी गर्ने, समाज राष्ट्रमा भ्रम फैलाउने, गलफती गर्ने, नानाथरी कुरा काट्नका लागि चिया पसल बनेको छ, सामाजिक सञ्जाल । यसको गलत अभ्यासले कैयौँ देशका सरकार समय समयमा निकै विवादमा परेका पनि छन् र राज्यले ठूलो मूल्यसमेत चुकाउनु परेको छ ।
सामाजिक सञ्जाल अहिले निकै असामाजिक विचार र सामग्रीले भरिँदै गएको पाइन्छ । यसमा प्रेषित कतिपय सामग्री, विचार झुठा, भ्रम फैलाउने, दङ्गाफसाद गराउने, अरूको चरित्रहत्या गर्ने, मानमर्दन गर्ने, पीडितमा अनेक खालका पीडा, डर, बेचैनी, डिप्रेसन पैदा गरिदिने, खालका हुने हुँदा अब यो असामाजिक सञ्जाल बन्न पुगेको हो कि भन्न सकिन्छ । यसको लतमा फसेपछि अन्त्यमा मृत्युको मुखसम्म पनि मानिसलाई पुर्याएको अन्तर्राष्ट्रिय एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जाल गफाडीका लागि गफ लगाउने साझा चौतारी भएको छ, अहिले । कतिपय मान्छे तीनै गफको पछि लागेर कमेन्ट, लाइक, सेयर, पोष्ट गर्न अरूलाई उत्पे्ररित गरिरेहका हुन्छन् । उनीहरू स्वयंलाई थाहा हुँदैन कि यसको परिणाम के हुन्छ र यस कार्यले कस्तो सजाय आकृष्ट गर्छ । यसको परिणाम कि त सजाय भोग्नेलाई थाहा छ कि त जागिर गुमाउनेलाई थाहा छ । अहिलेसम्म सयौँ जना सजायको भागीदार र कैयौँ जनाले नेपालमा समेत जागिरबाट हात धुनु परेका उदाहरण छन् ।
सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगको हिसाबले हामी पनि अन्य विकसित देशका नागरिकभन्दा कम छैनौँ तर सामाजिक सञ्जाल प्रयोगकर्ताको दैनिक गतिविधि नियाल्दा लाग्छ यसको सदुपयोगभन्दा दुरुपयोगमा बढी ध्यान गएको हो कि ? आफूले प्रयोग गरेका वा राख्ने गरेका सामग्रीको सकारात्मक र नकारात्मक पक्षको बारेमा ज्ञान अभाव भएको हो कि ? यो हाम्रो सामाजिक मूल्य मान्यताभित्र पर्छ कि पर्दैन, हाम्रो धर्म संस्कृतिभित्र पर्छ कि प्रदैन, हाम्रो कानुनले छुट दिएको छ कि छैन । त्यसतर्फ हेक्का नभएको हो कि ? कारण जे सुकै भए पनि आज कैयौँ सोझा नागरिक सामाजिक सञ्जाल सही तरिकाले सञ्चालन र उपयोग गर्न नजान्दा प्रहरीको फन्दा पर्न बाध्य भएको सत्य हो । राज्यले अनुसन्धान गर्दा अपराधी नछुटून् र सोझा जनता नफसून् भन्ने कुरामा ध्यान केन्द्रित गर्न जरुरी छ । अन्यथा, धान खाने मुसो, चोट खाने भ्यागुतोजस्तै हुनेछ । सूचना प्रविधिको प्रयोगको अधिकतम फाइदा उठाउँदै सामाजिक सञ्जालको उपयोग गर्दा सबै सचेत र सजग बनौँ ।