शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

राजनीतिक शुद्धीकरणको अवसर

सोमवार , फाल्गुण १२, २०८१

नेपालमा राजनीतिक पार्टीहरूको शुद्धीकरणको चर्चा बाम्बार हुने गर्छ तर चाहेजस्तो शुद्धीकरण भने हुन सकेको छैन । तीस वर्षको पञ्चायतका विरुद्ध संघर्ष गरेको पुस्ता स्वयंले यताको तीन दशक शासनको बागडोर समालिसकेको छ तर विकृति र विसंगति रोकिएको छैन । लोकतन्त्र अझै संस्थागत हुन सकेको छैन । देशले आर्थिक तथा सामाजिक परिवर्तनको गति लिन सकेको छैन । राजनीतिमा मूल्यको निरन्तर ह्रास भएको छ । नेपाली समाजले राजनीतिक क्रान्ति गर्न सम्भव भए पनि आर्थिक क्रान्ति भने धेरै टाढाको विषय बन्यो । बन्दै गएको छ । नेपाली समाज सामन्ती युगबाट भर्खरै मात्रै पुँजीवादी चरणमा प्रवेश गरेको छ  । तरपनि नेपाली समाजको सामन्ती अवशेष अहिले पनि कायमै छ र उसले आफूलाई रूप परिवर्तन गर्दै बाँच्ने, टिक्ने र मौका परेका बखत आफ्नो गुमेको शक्ति फिर्ता गर्ने दाउमा छ भन्ने पनि चर्चा गर्ने गरिन्छ । शासन सत्ताको फिर्तीका बारेमा गफै होला भन्ने भए पनि नेपाली समाजमा रहेको सामन्ती चिन्तन प्रवृत्ति जबर्जस्त मौलाएको छ । त्यो चिन्तनले डेरा गरेको छ ।

हिजोका जनवादी र समाजवादी नेता र नेतृत्वको साख्खै बन्न कोशिस गरिराखेको छ । त्यसकारण नेपाली समाजको बदलाव राजनीतिक बदलावको तुलनामा अपेक्षाकृत सकारात्मक गतिमा अघि बढ्न सकेको छैन । सामन्ती चिन्तन संस्कार र प्रवृत्तिको जबर्जस्त प्रभाव नेपाली राजनीतिमा छ । यो चिन्तन नेपाली नेताहरूमा छ र राजनीतिक पार्टीहरूमा पनि छ । यो प्रवृत्तिले नेपाली समाजलाई अगाडि बढ्नका लागि प्रेरित गर्दैन सकेपछि फर्काउने कोशिस गर्छ । त्यसो गर्न सकेन भने पनि यथास्थितिमा अलमल्याई राख्नका लागि हरदम कोशिस गर्दछ । यही कोशिसको शिकार राजनीतिक दल, नेतृत्व र कार्यकर्तासमेत भएका छन् त्यसैको परिणाम नेपाली समाज अग्रगमन र प्रतिगमनको दोसाँधमा उभिएको छ र अपरिवर्तनको गोलचक्करमा नराम्रोसँग फसेको छ ।

नेपालमा संसदीय प्रणालीको आधारभूत मूल्यमान्यताको पालना नै भएको छैन । स्वार्थ मिल्दा देशको सबभन्दा ठूलो दल र दोस्रो ठूलो दल पनि मिल्ने र सरकार बनाउने, स्वार्थ नमिल्दा व्यवस्थापिका संसदलाई निर्णयविहीन बनाएर बन्धक राखिरहने गलत राजनीतिक संस्कार देखिने गरेको छ । सत्तादेखि सत्तासम्म, निर्वाचनदेखि निर्वाचनसम्म भनेजस्तो देखिने गरेको छ । पालैपालो सत्ताको केन्द्रमा पुगेका राजनीतिक दलहरुले राज्यको ढुकुटीमाथि लुट मच्चाउँदा देशको अवस्था निकै भद्रगोल भएकै छ । कतिपय भ्रष्टहरुले उन्मुक्ति पाएका छन् । कतिपय भ्रष्टहरुको फाइल दबाउने काम भएको छ ।

त्यसर्थ नेपालका राज्य सञ्चालनको विधिमा रहेका दलका नेताहरुले मात्र होइन आज प्रतिपक्षमा रहेका दलहरुले पनि इतिहासबाट पाठ सिक्न जरुरी छ । अन्यथा सिंगो मुलुक भीरबाट लड्न किञ्चित समय लाग्ने छैन । दलहरुमा व्याप्त मूल्य विघटनको राजनीतिमा सुधार नभएमा देश र जनताले ठूलो मूल्य चुकाउनुपर्नेछ । त्यसो त मूल्यहीन राजनीतिको तुरुन्त अन्त्य हुन जरुरी छ । बिडम्वना मूल्यहीनता नेपालको राजनीतिक संस्कार भइसक्यो । यो संस्कारले ल्याउने दुष्परिणाम सामान्य हुने देखिन्न ।

प्रतिक्रिया