भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युसँगै वैदेशिक अध्ययनमा गएका अन्य विद्यार्थीको सुरक्षाको विषयमा पनि चिन्ता र चासो बढेको छ । कलिला उमेरका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न पठाउँदा आर्थिक र शैक्षिक विषयसँगै व्यावहारिक पक्षमा पनि उचित परामर्श दिनुपर्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ । पछिल्लो समय वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालय तथा क्याम्पसको वस्तुस्थिति र त्यहाँ तिर्नुपर्ने शुल्कका विषयमा मात्रै परामर्श दिने गरिएको छ । व्यावहारिक जीवनका अन्य पाटाका विषयमा पनि समयमै प्रशस्तै परामर्श नपुग्दा भारतमा मात्रै होइन, अन्य मुलुकमा अध्ययन गर्न गएका नेपाली विद्यार्थी विविध दुर्घटनामा पर्ने गरेका छन् । पछिल्लो समय बुटवलकी लम्सालको निधनबाट पनि नेपाली विद्यार्थीको सुरक्षामा चिन्ता बढेको हो ।
संसारभरिका ४० हजार विद्यार्थी अध्ययनरत केआइआइटीमा एक हजार दुई सय नेपाली विद्यार्थी रहेका छन् । एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि अन्य विद्यार्थीहरुले आवाज उठाउनु जायज थियो । अहिलेसम्म सार्वजनिक भएको तथ्यअनुसार प्रकृतिलाई विश्वविद्यालयकै एक भारतीय विद्यार्थीले केही समयदेखि ह्यारेसमेन्ट गरिरहेका थिए । यसबारे उनले एक महिनाअघि नै विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ)मा उजुरी पनि गरेकी थिइन् । ती युवकले प्रकृतिलाई अश्लील गाली गरेको अडियो क्लिप पनि सार्वजनिक भएको थियो । तर, विश्वविद्यालय प्रशासनले उनको उजुरीमा ध्यान दिएन बरु प्रकृतिको निधनपछि आन्दोलित नेपाली विद्यार्थीहरुलाई जुन प्रकारले दमन र निष्कासनको प्रक्रिया अगाडि बढायो, यसबाट नेपाली विद्यार्थीहरुलाई हेर्ने विदेशी विश्वविद्यालयको रवैया प्रष्ट हुन्छ । हामीले यस्ता घटनामा दोषीमाथि कारवाही र पीडितलाई न्यायका लागि आवाज उठाउनुपर्छ, सँगसँगै यस्ता घटनामा प्रवृत्तिगत अध्ययन पनि गरेर त्यस्ता घटना हुन नदिने नीति र संयन्त्रको विकास गर्नु आवश्यक छ ।
हमासको आक्रमणमा परेर दश नेपाली विद्यार्थीको ज्यान गएपछि तत्कालीन रुपमा नेपाली समाज निकै संवेदनशील भयो तर अहिले हामीले त्यो घटना बिर्सिसकेका छौं । विपिन जोशीको अवस्था सार्वजनिक नभएकाले अहिले पनि चर्चाको विषय बन्ने गरेको छ तर अनाहक ज्यान गुमाएका दश नेपाली विद्यार्थीको कमै चर्चा हुने गर्दछ । अहिले ओडिसामा देखिएको यो घटनाले नेपाली समाजलाई मर्माहत बनाए पनि हामी चाँडै बिर्सन्छौं र फेरि अर्को घटना भएपछि चर्चा गर्छौं । यसमा खासगरी समाजभन्दा पनि राज्य गम्भीर बन्न आवश्यक छ । अहिले विश्वका अन्य मुलुकमा वर्षेनि कति विद्यार्थी बाहिरिन्छन् भन्ने थाहा भए पनि भारतमा कति विद्यार्थीले पढिरहेका छन्, राज्यसँग एकिन जानकारी छैन । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिनुपर्ने हुन्छ तर भारतमा अध्ययन गर्न जाने अधिकांश विद्यार्थीले नलिएको स्पष्ट देखिन्छ । एक वर्षमा दुई हजारको हाराहारीमा भारतमा अध्ययनरत नेपाली विद्यार्थीले एनओसी लिएको सरकारी तथ्यांक देखिन्छ तर एउटै विद्यालयमा एक हजार दुई सय विद्यार्थी रहनुले दशौं हजार विद्यार्थी भारतमा पढिरहेको देखिन्छ । यसमा कमजोरी कसको ? ध्यान दिनुपर्ने बेला आएको छ ।
अन्य देशमा अध्ययनमा जाने विद्यार्थीहरुमध्ये पनि साँच्चिकै अध्ययनका लागि कति गएका छन्, सरकारसँग एकिन तथ्यांक छैन । विदेशी विश्वविद्यालयहरुले पढाइसँगै कामको व्यवस्था पनि गर्ने भएकाले अधिकांश विद्यार्थी अध्ययनकै बहानामा कामका लागि जाने गरेका छन् । उनीहरुमध्ये धेरैले पढाइ छाडिसकेका हुन्छन् भने पढ्नेहरुले पनि अवैधरुपमा काम गर्ने गरेको देखिन्छ । यसले स्वतः अध्ययनका नाममा विदेश जाने विद्यार्थीहरुको असुरक्षा बढाउँछ नै । जसरी गए पनि आखिर सबै नेपालकै नागरिक हुन् र उनीहरुको सुरक्षा गर्ने दायित्व नेपाल सरकारको हो । त्यसैले वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुको सुरक्षाका लागि उनीहरुको तथ्यांक अद्यावधिक गर्नेदेखि सम्बन्धित देशका दूतावास र सम्बन्धित विश्वविद्यालयका प्रतिनिधि सम्मिलित संयन्त्र नै बनाएर काम गर्नु आवश्यक छ ।