शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

वर्गीय समाजमा हाम्रो स्थान

सोमवार , फाल्गुण ५, २०८१

हामीलाई आफ्नो दलले वा सरकारले बर्ग र सम्पत्तिसहितको फर्म भर्न लगाउँछ । हामी भर्छौं र भन्छौं, “म ... बर्गको हुँ ।“ हामी सबैले के बुझेका छौं भने एउटै बर्गका मानिसको एउटै र उस्तै बस्तुगत अवस्था हुन्छ । बिचार भनेको वर्गीय परिस्थितिको उपज हो । बिचारहरू सङ्गठित भएर दल बन्दछ । दल सारमा एउटै बर्गको संगठित शक्ति हो । नीजि स्वार्थ जस्तै दलहरूको पनि आआफ्नो स्वार्थ हुन्छन् । सर्वहारा वर्गले पनि आफ्नो स्वार्थ पुर्तिका लागि दल बनाएको छ । यही दललाई साम्यवादी दल भनिन्छ । यो दलले आफ्नो वर्गसँग श्रमजिवी वर्गलाई पनि जोडेर मानव जातीको लागि सबैभन्दा राम्रो वा व्यवस्थित समाज बनाउने नीति, योजना र कार्यक्रम बनाएर साम्यवाद स्थापना गर्ने भएकाले यो दलको बिचारलाई समाजको सबैभन्दा उच्च चेतना भएको दल मानिन्छ । यही दलको नेतृत्वमा भएको नेपाली जनयुद्ध बिरुद्ध खडा हुने सबै नालायक बदमासहरू सिद्ध भएका छन् ।

प्रतिक्रियावादि अदालतका आदेश र प्रतिगामी शक्तिहरूको प्रतिवाद गर्दै यसपाली पनि देशभर जनयुद्ध दिवस धुमधामसँग देशैभरी मनाईएका छन् । जनयुद्ध दिवस यस बर्ष पनि नेपालमा विभिन्न कार्यक्रमहरू भएका छन् । शोषितपिडित नेपाली जनताले सामन्ती र फासिस्ट शासनव्यवस्थाबिरुद्ध एक हदसम्म विजयी र कीर्तीमानी भएको रुपमा लिन सकिन्छ । निरंकुश सामन्ती राजतन्त्र र भँडुवा फासिस्ट संसदवादी नेतृत्वको दलाल पुँजीवादी शासनव्यवस्था बिरुद्ध १० बर्षसम्म निरन्तर प्रतिरोध गरेको महत्वपूर्ण घटनाको रुपमा यो दिवसलाई मनाउने गरिएको छ ।

हत्या, हिंसा र अपराधहरूका श्रोत राज्यसत्ता हो । वर्गीय समाजमा राजनीति एकातिर शोषक वर्गको सेवाका लागि भएका हुन्छन् भने अर्कातिर शोषित वर्गले शोषणबाट मुक्ति पाउनका लागि भएका हुन्छन् । यसलाई वर्गसंघर्ष भनिन्छ । शोषक वर्गको शोषण गर्न पाउने अधिकार र शोषित वर्गको शोषणबाट मुक्ति अर्थात समानताको अधिकारका लागि भएका गतिबिधिहरू हत्या र हिंसा, हस्तक्षेप र प्रतिरोधले अधिनायकवादी रुपमा पुग्दछ । समाजमा रहेका हरेक मानिसका लागि शोषक वर्गको अधिनायकता स्वीकारेर चुपचाप बस्ने वा नसहेर प्रतिरोध गर्ने भन्ने मात्र बिकल्प बाँकि रहेको हुन्छ । त्यसैले हत्या र हिंसाको वर्गीय पक्षधरता हुन्छ । नेपालमा १० बर्ष जनयुद्ध सञ्चालन भएको बेलामा जनताले जनवादी सत्ताका लागि भएका कृयाकलापमा साथ र सहयोग गर्ने वा सामन्ती, शोषकी राज्यपक्षलाई सघाउने भन्ने मात्र बिकल्प रहेको थियो । व्यवहारतः पुष्टि भएका छन् कि केपिहरू, वैगुनी केटाहरू समेतले सामन्ती र शोषकी राज्यसत्तालाई सहयोग गरिरहेका थिए ।

नेपालमा एकातिर राजतन्त्र र बहुदलीय प्रजातन्त्रका पक्षधर र अर्कोतिर नयाँ जनवादी पक्षधर भएर सशस्त्र संघर्ष भएको थियो । शान्तिसंझौतामा हस्ताक्षरपछि जनयुद्ध र त्यसको जगमा उठेको जनआन्दोलनपछि उक्त संघर्षको सम्पूर्ण जिम्मेवारी राज्यले लिने सहमति भयो । त्यसअघि यसलाई सत्तापक्ष र बिद्रोहीपक्ष भनेर नामाकरण भएको छ । सत्तापक्ष फासिस्ट र भँडुवा भएको र बिद्रोहीपक्ष जनपक्ष अर्थात जनयुद्धको नामबाट सशस्त्र प्रतिरोध गरेको घटना १० बर्ष चलेको थियो । युद्धको घोषणा भैसकेको स्थितिमा युद्धको नियम पालना गर्नुपर्ने दुबैपक्षको दायित्व हुन्छ । सत्तापक्षले संविधान, कानुन, ऐन अन्तर्गत भएर दमन गर्ने वैधानिकता पाएको दावी गर्दथ्यो । त्यसको उल्लंघन भएमा सजायँको लागि भागिदार थिए । उता जनपक्षधर दावी गर्ने बिद्रोही पक्ष अर्थात माओवादीले घोषित नीति, कार्यक्रम र योजनामा रहेर प्रतिरोध गर्न पाउने अधिकार आफूसँग रहेको दावी गर्दथ्यो । नीति विपरितका घटना भएमा त्यसो गर्नेलाई जनतासमक्ष ल्याएर कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए । राज्यपक्षबाट भएका असंवैधानिक, गैरकानुनी र अपराधका लागि उनीहरू जिम्मेवार छन्, सजायँका लागि योग्य छन् । घोषित नीतिबिपरित व्यवहार गर्ने माओवादीहरू पनि सजायँका लागि योग्य छन् । के अब प्रमाणसहित घटनाहरू सार्वजनिक गरेर जनसत्तामार्फत कारवाहीमा लाग्नुपर्ने अवस्था आएको हो ? संक्रमणकालिन न्यायको लागि बनाएको आयोगहरूप्रति उदासिनता देखाउने हो भने अर्को बिकल्प छँदा पनि छैन ।

वर्गीय समाजमा मानिस कि त शोषक वर्गको हुन्छ कि त शोषित वर्गको हुन्छ । कोहीकोहीको शोषण पनि गर्ने र शोषित पनि हुने स्थिति हुन्छ तर त्यो एउटा निश्चित स्थितिसम्म मात्र रहन्छ । त्यस्ता मानिस एक चरणसम्म पुषेपछि कि त शोषक वर्गमा पुग्ने कि त शोषित वर्गमा पुग्ने स्थिति हुन्छ । वर्षसंघर्षले मानिसलाई आआस्थानमा पुर्याउने गर्दछ । मानिसले आफ्नो स्थान कहाँ हो भनेर छुट्याउने स्थितिलाई सचेत र छुट्याउन नसक्ने स्थितिलाई अचेत अवस्था भनेर बुझ्नुपर्ने हुन्छ । मानिसले शोषक वर्गसँग रहने कि शोषित वर्गसँग रहने हो भनेर आफ्नो स्थान आफैले छुट्याउने प्रयत्न गर्नुपर्दछ । शोषित वर्गको प्रतिरोधमा आफू पिडित भएको बताउनु र त्यस्तो अवस्थाका मानिसलाई जनता भन्नू आफैमा बेईमानीबाहेक अरू हैन ।

प्रतिक्रिया