सरकारी निकायको स्वामित्वमा रहेका सम्पत्ति नै सार्वजनिक सम्पत्ति हुन् । अहिलेको अवस्थामा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हक, स्वामित्व, नियन्त्रणमा रहेको सार्वजनिक उपयोगका सम्पत्तिलाई सार्वजनिक सम्पत्ति भनिन्छ । यसको उचित व्यवस्थापन गरेर उपयोग र उपभोग गर्दा यसले सार्वजनिक जीवनको मूल्य अभिवृद्धि गर्छ । समग्र सार्वजनिक सेवाको विश्वसनीयतामा वृद्धि हुन्छ । सार्वजनिक कोषको प्रयोग गरी सरकारी निकायद्वारा सार्वजनिक सम्पत्ति खरिद गरिन्छ एकातिर भने अर्कोतिर कहिलेकाहीँ अन्य निकाय तथा पक्षबाट हस्तान्तरण भएर पनि त्यस्तो सम्पत्ति प्राप्त हुन्छ । सार्वजनिक सम्पत्तिमा सबैको समान हक र दायित्व हुन्छ । देशका नागरिकले साझा रूपमा आफ्नो स्वामित्वमा स्वीकारेर प्रयोग गर्ने गरेको वस्तु वा सेवाका रूपमा यसलाई लिइएको हुन्छ । यी वस्तु वा सेवाको प्रयोगमा आफ्नो अधिकार भएकोबारे सबै सचेत र अग्रसर छन् । हामी सडकमा हिँड्छौँ, बिजुलीको प्रयोग गर्छौं, वनजंगल, खोला, तालबाट लिन सक्ने वस्तु वा सेवा लिने गर्छौं, मठमन्दिरमा रमाउँछौँ र जीवनको अन्तिम घडीमा सार्वजनिक स्थलमै आफूलाई समाहित गर्छौं । यस्ता सबै सार्वजनिक वस्तु वा सेवाको उपयोग हामीले तिर्ने करबाट उपलब्ध भएको सम्बन्धमा पनि हामी सचेत र जानकार छौँ । सार्वजनिक सम्पत्तिको रेखदेख एवं संरक्षण गर्ने दायित्व सरकारकै हो भनी आफ्नो करेसामा जोडिएको सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पनि सरकारको जिम्मेवारी पर्खेर बस्ने गर्छौं । यस्तो सोचले आलस्य र निष्क्रिय भएका हाम्रा जिम्मेवारीका कमजोर पाइलाका कारण सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कार्य जटिल र चुनौतीपूर्ण भएको छ । यस सन्दर्भमा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रत्येक व्यक्ति, समाज र तिनै तहका सरकारको सचेतना र जागरुकता आवश्यक छ ।
तर सार्वजनिक सम्पत्तिको संरक्षणमा न सरकार र सरकारी निकायहरू गम्भीर छन्, न त नागरिकहरू नै गम्भीर छन् । सरकारी निकायका कर्मचारीहरूले नै सर्वसाधारणसँग मिलेर सार्वजनिक सम्पत्तिको हिनामिना गर्ने गरेका विषय बेला बेलामा प्रकाशमा आइरहन्छन् । सरकारी जग्गाहरू नै व्यक्तिका नाममा गएका घटनाहरू हाम्रो देशमा अनेक छन् । यस्तो प्रवृत्तिले ऐतिहासिक तथा धार्मिक महत्वका क्षेत्रहरू संकटमा पर्ने गरेका छन् । त्यसैले यो हामी सबैको सरोकारको विषय बन्नुपर्छ । कतिपय क्षेत्रहरू देशकै गौरव र पहिचानसँग जोडिएका हुन्छन् । यस्ता क्षेत्रको जगेर्ना गर्नु सबैको कर्तव्य हो । सार्वजनिक सम्पत्तिलाई आफ्नो भन्ने सोच नहुँदा सम्म ती सम्पत्तिको संरक्षण मुश्किल छ । नेपालका अधिकांश सार्वजनिक सम्पत्तिहरुको व्यवस्थापनमा कमजोरी देखिएको छ । सरकारी पक्षबाट सार्वजनिक सम्पत्तिको संरक्षण हुन सकेको छैन । नागरिकले पनि सरकारी सम्पत्तिमा मनलाग्दी गरिरहेका छन् । तसर्थ, सरकारले नागरिकमा चेतना बढाउन सक्नुपर्छ । त्यसैगरि, हरेक नागरिकले सार्वजनिक सम्पत्तिको अपनत्व महशुश गर्न आवश्यक छ । अतः सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनमा सबैको सक्रियता आवश्यक पर्दछ । सार्वजनिक पदको शक्तिका आडमा मिलेमतो गरी सार्वजनिक सम्पत्ति व्यक्ति वा समूहको नाममा दर्ता गर्ने गराउने गलत प्रवृत्ति दशकौँदेखिको समस्या हो । यस समस्याको समाधान गर्न राजनीतिक एवं प्रशासनिक नेतृत्वको नैतिक अनुशासन र इमानदार कार्य अग्रसरताको जरुरी छ । सार्वजनिक सम्पत्तिको नियमित रूपमा खोजतलास गर्ने, रेखदेख र संरक्षण गर्ने, एकीकृत अभिलेख राख्ने, अभिलेखको अद्यावधिक गर्ने, गैरकानुनी रूपमा व्यक्ति वा संस्थाको नाममा गएकोबाट फिर्ता गर्ने, सम्पत्ति दुरुपयोगको भएकोमा आवश्यकता अनुसार कारबाहीका लागि सिफारिस गर्नस्थायी संरचना खडा गर्नु आवश्यक छ । यस प्रकारको संरचनालाई अधिकार सम्पन्न गराउने र संस्थामा सक्षम, अनुभवी, विज्ञता एवं मनोबल भएको जनशक्ति व्यवस्थापन गर्न जरुरी छ । यस कार्यमा सार्वजनिक सम्पत्तिको संरक्षणको दायित्व भएका राज्यका सबै अंगबिच सहकार्य हुनु जरुरी छ । यसबाट नोक्सान हुँदै गएको सार्वजनिक सम्पत्तिको संरक्षण गर्न टेवा पुग्नेमा विश्वास गर्न सकिन्छ ।