चुरे क्षेत्र जैविक विविधता एवं प्रचुर प्राकृतिक स्रोतको खानी तथा मानव विकासको दरिलो प्रमाण हो । आजभोलि यो क्षेत्र बढ्दो दोहनले निम्त्याएको वातावरणीय विनाशले गर्दा सर्वसाधारण, विज्ञ, नीति निर्माता एवं सरोकारवालाबीच बहसको विषय बनेको छ । जैविक विविधताको संरक्षण र पारिस्थितिकीय सेवाको उपलब्धता, आर्थिक तथा सामाजिक उन्नतिको आधार, जलवायु परिवर्तनले निम्त्याउने जोखिम न्यूनीकरण, स्थानीय समुदाय तथा इकोसिस्टमको जलवायु उत्थानशीलता, तराई क्षेत्रको आर्थिक, सामाजिक तथा वातावरणीय उन्नयन जस्ता पक्षबाट केलाउँदा चुरे क्षेत्र संवेदनशील भूमि हो । चुरे क्षेत्रको निरन्तर दोहनका कारण कारण चुरे क्षेत्रमा भूक्षय, माटो कटान र खहरे खोलाहरूमा भेल–बाढीको समस्या टड्कारो देखिँदै आएको छ साथै बढ्दो जनसंख्या र सहरीकरणले गर्दा वनविनाश बढिरहेको र यसले सम्पूर्ण पर्यावरणमा विभिन्न नकारात्मक प्रभाव परिरहेको छ ।
चुरे क्षेत्रका यी पर्यावरणीय समस्यहरूको दिगो समाधान खोज्न त्यस क्षेत्रकै विशिष्ट भौगोलिक बनावट, हावापानी र वातावरणीय दृष्टिकोणले हेर्न आवश्यक छ किनकि चुरे क्षेत्रको आफ्नै विशेषता छ जो न त तराई क्षेत्रसँग मिल्छ न त मध्यपहाडी क्षेत्रसँग । चुरे क्षेत्र संरक्षित हुन नसक्दा मानव समुदायको आश्रयस्थल बन्ने क्रममा यहाँको प्राकृतिक सम्पदा विनास हुँदा अन्नको भण्डार भनिएको तराईका उर्वर जमिन मरुभूमिमा परिणत हुँदै गएको छ । तराईमा बसोबास गर्ने मानव समुदायले पानीको सतह सुक्दै गएर पानी खानै नपाउने अवस्था आएको छ । यसकारण यो क्षेत्रको पर्यावरणीय बचाउ एवं संरक्षण गरी उपलब्ध स्रोत–साधनको समुचित उपयोग गर्न चुरे केन्द्रित विशेष नीति तथा कार्यक्रममा जोड दिन अत्यावश्यक छ ।
राजनीतिक स्वार्थका कारण विभिन्न समयमा राजनीतिक दलहरुले नै वन फँडानीलाई तीब्र पारेका उदाहरण छन् । कहिले सडक विस्तारका नाममा, कहिले सस्तो लोकप्रियताका लागि त कहिले व्यक्तिगत स्वार्थले वन विनाश हुँदा एकातिर पर्यावरणीय संकट उत्पन्न भएको छ भने अर्कातिर खानेपानीको स्रोत सुक्दै गएको छ । यस्तो अवस्थाले बाढी, पहिरो, कटान जस्ता विपद्हरु पनि निम्तिएको छ । त्यसैले तस्करी, फँडानी र अतिक्रमण जस्तो अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढतापूर्वक लाग्नु पर्दछ । दुःखलाग्दो पक्ष के छ भने विभिन्न्न अध्ययनले केही दशकदेखि चुरे क्षेत्रको वनजंगल क्रमश ः नासिँदै गइरहेको देखाएका छन् । कतिपय ठाउँमा वन व्यवस्थापनको जिम्वेवारी स्थानीय उपभोक्तालाई दिए पनि जंगल फँडानी, अतिक्रमण र काठ तस्करीजस्ता गतिविधि नियन्त्रण हुन सकिरहेको छैन । केही वर्षयता बिनाइजाजत चुरे क्षेत्रका खोलानालाबाट जताभावी ढुंगा बालुवा निकालेर लैजाने प्रवृत्ति बढिरहेको छ जसले गर्दा तत्कालीन तथा दीर्घकालीन पर्यावरणीय असरहरू देखिन सक्छन् । त्यसैले यो अनियन्त्रित क्रियाकलापलाई तत्काल रोक्नुपर्ने आवश्यकता छ ।