शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

राज्यको शासन प्रणालि बुुझाउ

शुक्रवार , माघ २५, २०८१

समय गतिशील छ, निरन्तर अघि बढिरहन्छ । समयअनुसार समाज बदलिएन भने त्यो समाज वा त्यसको प्रतिनिधित्व गर्ने देश अघि बढ्न सक्दैन । अहिले पनि संसारभरिका सबै देशहरु सामाजिक विकासका दृष्टिले समानरुपमा अघि बढ्न सकिरहेका छैनन् । भौतिक विकास सामाजिक चेतनाकै उपज भएकाले सामाजिक चेतनामा उल्लेख्य परिवर्तन नआउँदासम्म भौतिक विकासको गति पनि तीब्ररुपमा अघि बढ्न सक्दैन । नागरिकको अधिकार र दायित्वको उचित संयोजन मिलाएर उनीहरुका आवश्यकता पूरा गर्ने भौतिक र मानवीय विकास गर्नुलाई नै युगानुकूलको विकास मान्न सकिन्छ । त्यसका लागि हरेक पुस्ता अघिल्लोको तुलनामा थप प्रगतिशील र अग्रगामी बन्दै जानुपर्दछ । आजको नेपालको अवस्था हेर्ने हो भने शैक्षिक जागरण र मानवीय चेतना निकै बढेको छ तर सापेक्षिकरुपमा नयाँ पुस्तामा मुलुक र समाजलाई हेर्ने दृष्टिकोण अपेक्षितरुपमा प्रगतिशील बनाउन सकिएको छैन कि भन्ने चिन्ता व्यक्त हुने गरेको छ, यसमा ध्यान दिनुपर्ने समय आएको छ ।

नागरिकसँग राज्यको शासन प्रणालिका बारेमा पर्याप्त ज्ञान नहुँदा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुुत हुुन सक्दैन । कुनैपनि समस्या पर्दा नेतृत्वलाई मात्र सराप्ने प्रवृत्तिले देशको हित गर्दैन । विशेषगरि, युवाहरु राजनिति बुझ्न चाहदैँनन् । उनीहरु प्रक्रिया र प्रणालिलाई बुुझ्न खोज्ने भन्दापनि आलोचनामै रमाउने गरेका छन् । टोलको संरक्षणनै नबुुझ्नेले देश बिग्रियो भन्दै चिन्ता गर्नुु औचित्यहिन हो । वडाबाट उपलब्ध हुुने सेवाकै बारेमा जानकारी नहुनेले हरेक नकारात्मक पक्षलाई देशको नेतृत्वसँग जोड्ने गरेका छन् । देशमा कुशासन बढ्नुुको मुख्य कारणनै नागरिक सचेत नभएर हो । चुनावको समयमा अक्सर ‘जस्तो जनता, उस्तै नेता’ भन्ने उक्तिले चर्चा पाउँछ । मतदाताले उम्मेदवारलाई चिन्न नसक्दा धेरै ठाउँमा गलत प्रवृत्तिका व्यक्ति निर्वाचित हुने गरेका छन् । देश बुुझ्नकालागि टोल बुुझ्नुपर्छ । तर, टोल बुुझ्नैलाई हामीले प्रयत्न गरेका छैनौँ । तसर्थ, राज्यले वडादेखि देश कसरी चल्छ भन्ने ज्ञान बाढ्न विशेष प्राथमिकता दिन जरुरी छ ।

नयाँ पुस्ताको रुचि र परम्परागत राजनीतिक एजेण्डामा तालमेल मिल्न सकिरहेको छैन । इतिहासमा आफूले गरेको योगदानप्रति बढी नै गर्व गर्ने, कामभन्दा धेरै कुरा गर्ने, दल वा गुटका आधारमा विभक्त हुने, राजनीतिलाई पद, प्रतिष्ठा र शक्ति आर्जनको आधारको रुपमा लिने, राजनीतिलाई सेवा होइन पेशाको रुपमा लिने, राजनीतिक दल वा गुटमा आबद्ध भएका बाहेक अरुहरुको अस्तित्व स्वीकार नगर्नेलगायतका परम्परागत राजनीतिका विशेषतालाई नयाँ पुस्ताले पचाउने सम्भावना एकदम न्यून देखिन्छ । व्यवहारिकरुपमा नयाँ पुस्ताको रुचि समयसापेक्ष भए पनि पुरानाले नयाँलाई आकर्षित गर्न नसक्दा नयाँ पुस्ता विचार र सिद्धान्तबाट विमुख हुने, देश र परिवर्तनको गौरवपूर्ण विरासतलाई बेवास्ता गर्ने लगायतका अवस्था बढ्ने खतरा देखिन्छ । त्यसैले नयाँ पुस्ताको सोच र समाजको बदलिंदो आवश्यकतालाई आत्मसात गर्दै राजनीतिक शक्तिहरुले आफ्ना नीति, सोच र शैलीहरु बदल्न आवश्यक छ ता कि नयाँ पुस्तालाई राजनीतिक, सामाजिक काममा उनीहरुकै सोच र शैलीअनुसार बढीभन्दा बढी परिचालन गर्न सकियोस् ।

प्रतिक्रिया