शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

गाउँपालिकाको परिचय फेर्न तल्लीन सुनुवार

मंगलवार , माघ १, २०८१

महिलाले कुनै स्थानीय तह, संघसंस्था नेतृत्व गरिरहेको कुरा सहजै पत्याउन मुस्किल पर्छ समाजलाई । महिलाले गर्न सक्छन् भनेर नेतृत्व हस्तान्तरण गर्न नचाहेका उदाहरण पनि प्रशस्तै छन् । त्यसैले त एकाध दुईले सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्षको कार्यकक्षमा नै आएर ‘अध्यक्ष खै’ भन्दै पार्वती सुनुवारलाई नै प्रश्न गर्छन् । कहिलेकाहीँ गाउँपालिकाका कर्मचारीले ‘उहाँ हुनुहुन्छ अध्यक्षज्यू’ भनिदिन्छन्, त केहीलाई पार्वती आफैले ‘मै हुँ अध्यक्ष’ भन्नुपर्छ । पार्वतीले हाँस्दै भनिन्, ‘नागरिकको यसमा दोष छैन, केही गरेर उहाँहरूको मनमा बस्न सकेँ भने कसरी बिर्सनुहोला र !’ यो गाउँपालिकाको अध्यक्ष बन्नुभन्दा अगाडि पार्वती उपाध्यक्ष थिइन् । ‘म आफैं पनि कहिलेकाहीँ अध्यक्ष भएको बिर्सदोरहेछु । कतै कार्यक्रममा गएका बेला भुलेर उपाध्यक्ष भनिरहँदा उठेको छु ।

आमा गीता सुनुवार र बाबा टंकबहादुर सुनुवारको पहिलो सन्तानको रुपमा जन्मेकी पार्वतीका १० भाइबहिना छन् । ६ बहिनी ४ भाइ । स्कूल पढ्दा देखि नै पार्वतीलाई राजनीतिमा रूची थियो । तर २०६१/६२ को जनआन्दोलन उनको राजनीतिक यात्राको कोशेढुंगा सावित भयो । त्यसयता उनी निरन्तर यो वा त्यो बाहनामा नागरिकका घरदैलोमा पुगेकी छिन् । यसअघि उपाध्यक्ष हुँदा र अहिले अध्यक्ष हुँदा उनले धेरै फरक पाएकी छैनन् ।

उनले अध्यक्षको भूमिकामा आइसकेपछि उदाहरणीय काम गरिसकेकी छिन्, तर पार्वतीलाई भने अझै गर्नै बाँकी छ जस्तो लाग्छ । महिलालाई आर्थिक रुपमा सवल र सक्षम बनाउन उनले पहल गरेकी छिन् । ‘आर्थिक रुपमा सवल र सक्षम भइसकेपछि महिलाले आफू माथि हिंसा भइरहेका छन् भने आवाज उठाउन सक्ने रहेछन् ।’ उनी भन्छिन्, ‘म उपाध्यक्ष हुँदा उहाँहरुको लागि धेरै योजना थियो, त्यसमध्ये अहिले उद्यमशिलतालाई प्राथमिकता दिइरहेको छु ।’ सबैभन्दा चाख लाग्दो विषय त के भने उनले गाउँपालिकाका महिलालाई एकजुट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्, जो अन्य गाउँपालिकाले सायदै गरेका छन् । उनले गाउँपालिकाका महिलालाई भेला गरेर एकअर्का बीच परिचय र चिनाजानी गराइन् । परिचय गरिसकेपछि आफूलाई महिलाका लागि गाउँपालिका मार्फत् आउने विभिन्न कार्यक्रम गर्न सहज भएको अध्यक्ष पार्वतीको अनुभव छ ।

पार्वतीको गाउँपालिका सिन्धुलीको विकट गाउँपालिका हो । सोचेको र चाहेको जस्तो स्वास्थ्य र शिक्षाको सहज पहुँच छैन भने भौतिक संरचना कम छन् । आफैं महिला र न्यायिक उपसमितिमा बसेर काम गर्दा अनुभव गरेकाले होला, महिलाका लागि अझै काम गर्नुपर्छ भन्ने उनलाई लागिरहन्छ र गरिरहेकी छन् । अन्य समस्या त महिलाका छन् नै, विकट र सहज रुपमा सवारीसाधन, स्वास्थ्यचौकी तथा अस्पताल र दक्ष जनशक्तिको अभाव हुँदा बच्चा जन्माउने बेला दुख भोग्नुपरेको पार्वतीको तितो अनुभव छ । यी यावत् समस्याले गर्दा आमा र बच्चाले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उनको चाह छ । त्यसैले उनले गर्भवती अवस्थाका महिलालाई फिक्कल अस्पतालमा पुगेर कम्तीमा ८ पटक स्वास्थ्य उपचार गर्न आग्रह गर्छिन् । चेतना र शिक्षाको अभावले केहीले आजको दिनसम्म समेत अस्पताल जान मान्दैनन् । उनीहरुका लागि गाउँपालिकाले छुट्टै व्यवस्था गरेको पार्वतीले बताइन् । ‘हामीले गर्भवती महिलाले बच्चालाई जन्म नदिएसम्म चेकअप गराउन आए प्रत्येक पटक १ हजार दिने व्यवस्था गरेका छौं ।’ पार्वती भन्छिन्, ‘यसलाई पैसा दिइएको रुपमा भन्दा मातृशिशु मृत्युदरलाई न्यूनीकरण गर्न लागू गरिएको योजना वा उपाएका रुपमा बुझिदिनुहोला ।’

यसै पनि गाउँघरमा सवारीसाधन निकै कम गुड्छन्, त्यसमाथि बाटो अफ्ठ्यारो हुन्छ धेरै ठाउँमा । त्यसैले अरु सवारीसाधनको त कुरै छोडौं, भएको १/२ वटा एम्बुलेन्सलाई बिरामी अस्पताल पुर्याउँदा भ्याइनभ्याई हुन्छ । यस्तै समस्याले गर्दा केहीले समयमा उपचार नपाउने हुन सक्छ । त्यस्तो बेलामा गाउँपालिका अध्यक्ष पार्वती आफैंले प्रयोग गर्ने सवारीसाधन एम्बुलेन्स बन्छ । उनी सोच्छिन्, जनप्रतिनिधि भइसकेपछि आफूभन्दा अगाडि नागरिकको समस्यालाई समाधान गर्नेतर्फ लाग्नुपर्छ ।

उपाध्यक्षका रुपमा रहेर न्यायिक समितिमा काम गर्दा महिलाको समस्या धेरै आउँथ्यो । त्यसैले होला उनले महिला विरुद्ध हुने हिंसा, दुव्र्यवहार, आर्थिक अभाव लगायत समस्यालाई नजिकबाट जान्ने मौका पाइन् । कोही महिला आफ्नो समस्या लिएर आउँदा आर्थिक रुपमा चरम अभाव भोगिरहेका पार्वतीले देखेकी छिन्, जोसंग न्यायका लागि आउन गाडी भाडा र खाने खर्च समेत हुँदैन । त्यस्ताका लागि गाउँपालिकाको पहलमा खाना तथा आवासको व्यवस्था गरेको उनले बताइन् । पार्वती भन्छिन्, ‘गाउँपालिकामा समाधान नहुने जस्तो देखियो भने उहाँहरुलाई हामीले केही व्यवस्था गरेर जिल्लाको सम्बन्धित स्थानमा पठाउँछौं ।’ समितिमा रहँदा उनले महिला माथि हुने हिंसा, दुव्र्यवहार सहित घरका पुरुष सदस्य वैदेशिक रोजगारमा जाँदा समस्या परिरहेको घटना देखिन् ।

उपाध्यक्ष हुँदा गर्न नसकेको तर योजना बनाइएको धेरै उदाहरणीय कार्य गाउँपालिकाको अध्यक्षका रुपमा निर्वाचित भएर आइसकेपछि सुनुवारले गरेकी छिन् । यसैको असर होला, अहिले गाउँपालिकामा परिर्वतन देखिन थालेको छ । महिलाका लागि पहिलेभन्दा अहिले काम गर्न सहज भएको सत्य हो । चुनौती पार गर्दै परिवार, सन्तान, घर व्यवहार सम्हालेर पनि उनीहरुले हेरक क्षेत्रमा उच्च स्थान निर्माण गर्न सफल छन् भन्ने प्रमाणित भएका छन् । यसबाट के बुझ्न सकिन्छ भने अवसर आए जस्तोसुकै परिस्थितिमा उनीहरुले काम गर्न सक्छन्, पुरुषभन्दा कम छैनन् । यस्तैमा महिलाले नेतृत्व सम्हालेर काम गर्न सक्छन् र ? उनीहरुको घरमा जिम्मेवारी हुन्छ, भ्याउँदैनन् भन्दै प्रश्न उठाउने पितृसत्तात्मक सोच भएकाको लागि पार्वती सुनुवार गतिलो उदाहरण हुन् ।

शिक्षा सबैभन्दा ठूलो हतियार रहेछ भन्ने उनले न्यायिक समितिमा आइसकेपछि बुझ्ने मौका पाइन् । न्यायिक समितिले कानुनलाई टेकेर काम गर्ने हो । त्यसैले उनले कानुनको पढाई एलएलबी समेत गरिरहेकी छिन् । तर एलएलबीको पढाइ सकिसकेको छैन, पढाई जारी छ । ‘न्यायिक समितिमा आइसकेपछि कानुनको विषयमा जानकारी हुनुपर्छ भन्ने भयो, अनि कानुन पढेकी हुँ ।’ उनले भनिन्, ‘अहिले त्यही पढाईले कार्य सम्पादन र कानुनी काम गर्न सहजता हुन्छ ।’ पार्वतीलाई लाग्छ, महिलाले आफूलाई अगाडि बढाउन आँट गर्ने हो भने शिक्षित र आर्थिक रुपमा सबल हुनुपर्छ, अनि परिवारको साथ र सहयोग । पार्वतीको पढाई यतिमै मात्र सीमित छैन, उनले समाजशास्त्रमा स्नाकोत्तर तह उत्र्तीण गरेकी छिन् भने जनसंख्या शिक्षामा स्नातक उत्तीर्ण हुन् ।

सफलता मात्रै होइन उनले धेरै चुनौती पार गरेकी छिन् । हरेक महिलाले बुझ्न सक्छन्, छोरी मात्रै हुँदा र बुहारी भइसकेपछि आउने घरको जिम्मेवारी फरक हुन्छ, तर उनलाई समस्या भएन । नेपाली समाजले मानकका रुपमा लागू गरेको उमेरभन्दा धेरै ढिलो विवाह गरिन् पार्वतीले । ललितपुरमा विवाह गरेपछि पार्वती कसैको श्रीमती त कसैको बुहारी बनिन् । साइनो र जिम्मेवारी थपियो, गाउँपालिकाको प्रमुखको भूमिका थाँती थियो नै । तर उनलाई विवाह पछि परिवारले साथ दिँदा त्यस्तो कुनै समस्या भोग्नु परेन । विवाहपश्चात् अब गाउँपालिकामा फर्किन्न होला भन्ने पार्वतीको विषयमा धेरैको सोँच थियो । यो सोँचलाई उनले गलत प्रमाणित गरिन् । ‘ललितपुरमा बिहे गरेको हो, प्रायले अब उतै बसेर काम गर्ने होला नि भन्दै प्रश्न गरे ।’ उनी भन्छिन्, ‘मेरो त कार्य क्षेत्र यहीँ हो, यहाँका आम नागरिकका लागि जनप्रतिनिधिका रुपमा सेवा गर्ने मौका पाएकी छु, अनि कहाँ छोडेर जानु ? सेवा गर्न पाउनु त मेरो सौभाग्य हो ।’

पार्वती ६ महिना अगाडि मात्रै छोराको आमा बनेकी छिन् । छोरालाई नजिकै काम पर्दा छोरा साथै लिएर हिड्छिन्, टाढा जानुपरे घर वा माइतीमा । गाउँपालिकाको अहिलेको भवनमा स्तनपान कक्ष र बालबालिकाको लागि आवश्यक पर्ने संरचना छैन, त्यसैले गाउँपालिका अध्यक्ष पार्वतीलाई पनि अप्ठेरो हुन्छ । ‘स्तनपान कक्षको छुट्टै व्यवस्था नहुँदा समस्या हुन्छ ।’ उनी भन्छिन्, ‘गाउँपालिकाको नयाँ भवन एक महिनामा सम्पन्न हुन्छ, त्यहाँ सबै व्यवस्था छ ।’ कहिलेकाहीं उनलाई काठमाडौंसम्म पुग्नुपर्छ । बैठक र कामको समय मिलाएर ललितपुर घरमा छोरालाई छोडेर जान्छिन्, त्यो समयमा उनलाई निकै गाह्रो हुन्छ । ‘छोरालाई लामो समयसम्म छोड्नुपर्दा स्तनपान गराउन पाइँदैन, चित्त दुख्छ ।’ उनी भन्छिन्, ‘ललितपुर घर आउँदा मैले भ्याइन भने भैंसीको दुध खुवाउनुपर्छ, अनि मेरो मन रुन्छ ।’

जनप्रतिनिधिका रुपमा पार्वतीलाई बिदामा बसेर समय खेर फाल्नु छैन, भएको समयमा सकेसम्म आफूलाई अमूल्य मत प्रदान गरेर यो स्थानसम्म ल्याउने नागरिकको भलाईका लागि काम गर्नुछ । उनी गर्भवती अवस्थामा बिदामा बसिनन्, बच्चा भइसकेपछि सुत्केरी बिदा सकिनासाथ काममा लागिहालिन् । ‘हामी जनप्रतिनिधि नागरिकबाट चुनिएर आएका हुन्छौं, उहाँहरुकै लागि काम गर्ने हो ।’ उनले भनिन्, ‘सानो समस्या पर्दैमा गर्न सक्दिन, भ्याउँदिन भन्न हुँदैन, चुनौती आउँछ, जान्छ, आफ्नो कारणले काम सकेसम्म रोकिनु हुँदैन ।’ सिन्धुलीको विकट मानिने यो गाउँपालिकाको परिचय फेर्ने उनको धोको छ । ‘काम गर्न बाँकी छ, पिछडिएको गाउँपालिका भएकाले असहज परिस्थिति र चुनौती आए होलान्, तर मलाई डग्मगाउने छुट छैन ।’ अध्यक्ष सुनुवार भन्छिन्, ‘नागरिकको लागि आफूले सकेको र उत्कृष्ट काम गर्छु भन्ने योजना छ र कोसिस जारी छ ।’

https://youtu.be/zn78hpMLBU0

यो श्रृंखला अष्ट्रेलियन सरकार वैदेशिक मामिला तथा व्यापार विभागको द एशिया फाउण्डेसन नेपालसँगको साझेदारीमा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रमको “नेतृत्वमा महिला” पहल अन्तर्गत पर्दछ । यस कथामा व्यक्त विचारहरूले अष्ट्रेलियाली सरकार वा द एशिया फाउण्डेसनको विचारलाई प्रतिनिधित्व गरेको भन्ने छैन ।

 

 

प्रतिक्रिया