सिन्धुली – जिल्लाको दुधौली नगरपालिका ११ का दिपेन्द्र सदा १७ वर्षको हुनुभयो । यो उहाँको माध्यमिक तहको पढाई पुरा गरिसक्ने उमेर हो । तर उहाँले कक्षा २ बाटै पढाई छोड्नु भयो । पढाई छोडेर माछा मार्ने र घरमै बस्ने गरेको उहाँले सुनाउनुभयो । “दिउँसो साथिहरुसँग माछा मार्न जान्छु । बेलुकालाई खानको लागि माछा मारेर ल्याउने गरेको हो । पढाइ मैले छोडि सके, अहिले पढ्न जान्न ,” उहाँले भन्नुभयो । आर्थिक अवस्था कमजोर भएकाले पढाई पुरा गर्न नसकेको उहाँले बताउनुभयो । किताब कलम नै किन्न नसक्ने भएपछि उहाँले पढाइ नै छोड्नु भएको बताउनुहुन्छ । “स्कुल जाने लुगा समेत किन्ने पैसा थिएन । कलम किताब किन्ने पैसा नभएपछि स्कुल जानै छोड्दिए । माछा मारेर थोरै पैसा पनि कमाई हुने साथै आफुलाई खान पनि हुने भएकाले यता तिरे लागे ,” उहाँले भन्नुभयो । उहाँसँगै उहाँका ९ वर्षीय भाइ दिपक सदा पनि माछा मार्न व्यस्थ हुनुहुन्थ्यो । ३ कक्षामा मा पढ्दै गर्नुभएको दिपक पढ्न छोडे माछा मार्ने काम गर्ने थाल्नुभयो । आफ्नै दाइले पढ्न छोडेको देखेर आफुलाई पनि पढ्न मन नलागेको उहाँले बताउनुभयो । “दाई पनि स्कुल जादैनन् । त्यसैले मलाई पनि स्कुल जान मन लाग्दैन । माछा मार्ने काम नै सजिलो ।” उहाँले भन्नुभयो ।
सोही स्थानका मैया सदाले पनि कक्षा ५ बाटै आफ्नो पढाई छोड्नुभयो । पढ्न जानै मन नलागेर पढाई छोडेको उहाँले बताउनुभयो । उहाँ घरकै काममा व्यस्त हुनुहुन्थ्यो । दुधौली नगरपालिकाको मुसहर समुदायका अधिकांश बालबालिका विद्यालय जाने गरेका छैनन् । आफ्नो बच्चालाई बारम्बार विद्यालय पठाउँदा समेत बिच बाटोबाट फर्किने गरेको स्थानीय देवकी सदाले बताउनुभयो । उहाँले भन्नुभयो,“छोरालाई विद्यालय पठाको छ । उ बिच बाटो बाट कहाँ जान्छ थाहै हुन्न । जति सम्झाउँदा पनि मान्दैनन् ।”
दुधौली नगरपालिका वडा नं. ६, ७, ८, ९, १० र ११ नंम्बर वडामा रहेका सिमान्तकृत मुशहर समुदायका बालबालिका तथा किशोरकिशोरीहरु अझै विद्यालयको पहुँच बाहिर रहेको स्थानीय सदाले जनाकारी दिनुभयो । नगर भित्रका १२ दशमलव १ प्रतिसत मुसहर समुदायका दलित बालबालिकाहरु विद्यालय बाहिर रहेको पाइएको हो । “आर्थीक अवस्था निक्कै कमजोर भएका यस्ता समुदायका बालबालिकाहरु अधिकांस विद्यालय भर्ना नहुने र भर्ना भएकाले पनि प्राथमिक तहसम्म पनि अध्ययन नै नगरी विचैमा विद्यालय छाड्ने गरेका छन्,” उहाँले भन्नुभयो ।
यी समुदायका १५ वर्ष माथिका अधिकासं किशोरीले विवाह गरिसकेका छन् । कोहि भारत लगाएत छिमेकि देशमा काम गर्न पुगेका छन् । दुधौली नगरपालिकाले मुसहर समुदायका बालबालिका विद्यालयमा टिकाउन विभिन्न कार्यक्रम गरेको नगरप्रमुख दिनेश अधिकारी दनुवारले बताउनुभयो । मुसहर समुदाय स्तरमा पुगेर चेतनामलुक कार्यक्रम सञ्चालन गरे पनि बालबालिका पढ्न नजाने गरेको उहाँले बताउनुभयो । पढेर केही हुँदैन भन्ने सोचाइको कारणले पनि बालबालिकाले पढ्न छाडेको मेयर दनुवारको भनाई छ ।
सरकारले यस्ता समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गराउन निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, दिवा खाजा कार्यक्रम, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम, वैकल्पिक शिक्षा कार्यक्रम, प्राथमिक बाल शिक्षा जस्ता कार्यक्रम सञ्चालनमा ल्याउनु पर्ने स्थानीय पत्रकार रविन्द्र भट्टराईको सुझाव छ ।