मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुली प्रहरीलाई प्रश्नः के गर्दा अभद्र व्यहारमा मुद्धा दर्ता हुन्छ ?

सोमवार , पौष १५, २०८१

सिन्धुली – दुई वर्ष अगाडि सुनकोशी गाउँपालिका ५ कि एक किशोरिले आफ्नै बाबुले जवरजस्ती गर्न खोजेको भन्दै प्रहरी कार्यालय सिन्धुलीमा निवेदन दिइन् । प्रहरीले तत्काल ती बाबुलाई पक्राउ ग¥यो । झण्डै एक हप्तासम्म प्रहरीले अनुसन्धान गरेको थियो । अन्तमा किशोरी आफैले बाबुले घुम्न जान नदिएकाले जवरजस्ती गर्न खोजेको भनी निवेदन दिएको बयान दिइन् । किशोरीको बयान अनुसार प्रहरीले अनुसन्धान पनि गरेको थियो । अन्तमा बाबुलाई अभद्र व्यवहारमा मुद्धा दर्ता गरियो । यो घटना एउटा प्रतिनिधि पात्र घटना मात्रै हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अभद्र व्यवहारको मुद्धा बढी छ । आर्थिक वर्ष २०७८/७९ मा ५८ वटा मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा ६४ वटा अभद्र व्यवहारको मुद्धा दर्ता भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा १८ वटा र चालु आर्थिक वर्षको हाल सम्म ७ वटा अभद्र व्यवहारको मुद्धा दर्ता भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेका अनुसार गालीगलौज, बैंकिङ ठगी, कुटपीट, मापसे सेवन गरी होहल्ला गरेको, मानसिक समस्या दिएको, जग्गा किनबेच भएको बेइमानी जस्ता विषयमा पीडितले अभद्र व्यहारको जाहेरी दिन्छन् ।

मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । यदि कसैले यो बुँदाविपरीत व्यवहार गरेको छ भने १ वर्षसम्म कैद, दस हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

तर, प्रहरीले अरु कुनै केश पाएन भने अभद्र व्यवहारमा मुद्धा दर्ता गर्छ । यसलाई कानुनविदहरु कानुनको दुरुपयोग भन्छन् । एक अधिवक्ताले मुद्धाको संख्या बढ्नुमा मानिसहरुमा कानुनी ज्ञान बढ्नु वा अनावश्यकरुपमा फसाउन पनि मुद्धा दर्ता हुनु दइवटा कारणले भूमिका खेल्ने बताए । कतिपयले मनमुटाव वा अन्य कुनै कसुरमा पनि विपक्षिलाई फसाउन अभद्र व्यवहारमा मुद्धा दायर गरेको हुनसक्ने उनको भनाइ छ । अभद्र व्यवहारसम्बन्धि कानुनी व्यवस्थाको दुरुपयोग भइरहेको उनले बताए । हिरासतमा राख्ने आधार नभेटिएको अवस्थामा अभद्र व्यवहारको मुद्धा लगाएर राख्ने गरिएको उनले जानकारी दिए ।

अभद्र व्यवहारसम्बन्धी मुद्दा पुष्टि हुँदैन । बोलि–व्यवहारमा अभ्रद महसुस हुनासाथ पीडितले जाहेरी दिन पाउने छुट छ । जसका कारण दुःख दिने नियतले कारबाही गराउन खोजेको पाइन्छ । यो मुद्दामा कानुनी व्यवस्थामा जस्तै ‘फिजिकल इभिडेन्स’ पनि चाहिँदैन । के बोल्यो वा कस्तो व्यवहार ग¥यो भन्ने कुराले फरक पार्दछ ।

अधिवक्ता लोकहरी आर्चायको बुझाइमा पञ्चायत कालमा प्रतिपक्षीलाई दुःख दिने आशयका साथ सार्वजनिक अपराध सम्बन्धी ऐन ल्याइएको थियो । अहिले मुलुक लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा कसूरको नाम मात्र परिवर्तन भएर ‘अभद्र व्यवहार’ बनेको छ तर, हैरानी दिने प्रवृत्ति भने रोकिएको छैन ।

त्यसो त मुलुकी अपराध संहितामा यो कसूर सही आशयका साथ राखिएको विषय भएको उहाँ बताउँनुहुन्छ । तर, प्रयो मात्र गलत भएको उहाँको बुझाइ छ ।

प्रतिक्रिया