मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीमाढीका सिसि क्यामेरा प्रयोग विहिन

आइतवार , पौष १४, २०८१

सिन्धुली – सिन्धुलीमाढीका अधिकांस ठाउँमा सिसि क्यामेरा प्रयोगविहिन बनेको छ । जिल्लाको कमलामाई नगरपालिकाले जडान गरेको क्यामेरा मर्मत नहुदाँ प्रयोगविहिन भएको छ । करिब दुइ दर्जन बढी सिसि क्यामेरा काम नलाग्ने भएपछि सुरक्षा व्यवस्थामा चुनौति थपिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीमाढीको अधिकांस ठाउँमा सिसि क्यामेरा मर्मत नहुदाँ प्रयोगविहिन भएको छ । हाल ४० ठाउँको क्यामेरा विग्रेको छ । झण्डै एक महिना देखि क्यामेरा चल्न छोडेको एक प्रहरीले बताए । उनले भने, “सिसि क्यामेरा विग्रेको धेरै समय भयो । नगरपालिकाले जडान गरेको क्यामेरा समयमा मर्मत नगर्दा सुरक्षा व्यस्थापमा पनि चुनौति थपिएको छ ।” सिन्धुलीको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै कमलामाई नगरपालिकाको लगानीमा विभिन्न ठाउँमा जडान गरिएका सिसि क्यामेराको मर्मत सम्भारमा कसैको ध्यान नजाँदा बेवारिसे बन्दै गएका छन् ।

उक्त क्यामेराको सहयोगमा आपराधिक गतिविधि तथा सवारी दुर्घटना निगरानी गर्दै आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी गोबिन्दराज काफ्लेले बताउनुभयो । तर, ती क्यामेराले काम नगर्दा त्यस्ता घटनामा संलग्नहरुको पहिचान गर्न गाह्रो भइरहेको उहाँको भनाई छ । जिल्लामा सुरक्षा संवेदनशिलता बढ्ने भएकाले चाडवाडअगावै ती क्यामेराहरु मर्मत गर्नुपर्ने आवश्यकता रहेको प्रहरीले बताएको छ ।

केहि दिन अगाडि कमलामाई नगरपालिका ४ ढुग्रेबासको एक घरमा चोरी भयो । घर नजिकै सिसि क्यामेरा समेत थियो । नगरपालिकाले जडान गरेको उक्त सिसि क्यामेरा दुई महिना देखि चल्न छोडेको प्रहरीले बताएको छ । सिसि क्यामेरा विग्रदा चोर पत्ता लगाउन समस्या भएको प्रहरीले बताएको स्थानीयले बताए ।

गत एक महिना अगाडि कमलामाई नगरपालिका ५ कै दिपा कार्की पनि घरमा चोरी गर्ने चोरको पहिचान गर्न सिसि क्यामेरा हेर्न प्रहरी कार्यालय पुग्नुभयो । क्यामेरा विग्रिएकाले उहाँले चोरको पहिचान गर्न समस्या भएको बताउनुभयो । गत विहिबार उहाँको घरमा झ्यालबाट कसैले सामान चोर्न खोजेको थियो । रातको समयमा घरमा चोरी गर्न आउने व्यक्ति पत्ता लगाउन उहाँले सिसि टिभि फुटेज हेर्न खोज्नु भएको थियो । तर सिसि क्यामेरा नै बन्द देखेपछि उहाँ घर फर्किनुभयो ।

कमलामाई नगरपालिकाले सिन्धुलीमाढी सहित भिमान बजार लगाएत विभिन्न ठाउँमा सिसि क्यामेरा जडान गरेको छ । कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानमा ६ वटा, वडा नम्बर ५ मा ११ वटा, वडा नम्बर ६ मा २७ वटा, त्यस्तै वडा नम्बर ४ मा १० वटा र वडा नम्बर ७ मा ४ वटा सिसि क्यामेरा जडान गरिएकोे छ । कमलामाई नगरपालिकामा अपराध रहित, शान्ति र सुव्यवस्थित बनाउन नगरको मुख्य बजार र चौकहरूमा सिसि क्यामेरा जडान गरिएको हो । नगरको सुरक्षाको लागि सिसि क्यामरा जडान गरेता पनि सदुपयोग नहुँदा अपराध गतिविधि बड्ने सम्भावना समेत बढदै गएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया