मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीमा रोकिएन बलत्कारको घटना

शनिवार , पौष १३, २०८१

सिन्धुली – सिन्धुलीको ८ वर्षीया सुनकोशी (१२) लाई रामेछापको लिखु तामाखोशी गाउँपालिका–३ खोल्माका ३५ वर्षीय सिताराम अधिकारीले बलत्कार गर्नुभयो । आफ्नो होटलमा बसिरहेको अवस्थामा बलत्कार गरेको व्यहोरा उल्लेख गरी न्यायको माग गदँै पीडित सुनकोशी (१२) का अभिभावकले प्रहरी कार्यालय, सिन्धुलीमा जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा अभियुक्त अधिकारीलाई प्रहरीले पक्राउ गरेकोे थियो । नाबालिकालाई जबरजस्तीकरणी गरेको यथेस्ट प्रमाण भेटियो । कानूनी व्यवस्थाअनुरुप पीडक अधिकारी हाल मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (क) बमोजिक जन्म कैद सजाय भोगिरहनु भएको छ ।

१३ वर्षीया मरिण १२ (ख) लाई गत असार ४ गते तीन जनाले बलत्कारगरेका आरोप छ । कमलामाई नगरपालिका–६ मा बस्दै आएका २१ वर्षीय विवेक तामाङको कोठामा प्रलोभनमा पारेर लगि सोही ठाउँमा बस्ने १९ वर्षीय उज्वल तामाङ र कमलामाई–४ बस्ने २० वर्षीय विशाल चौधरीले बलत्कारगरेका पीडितले आरोप लगाउनु भएको हो । रातको १० बजे मुख थुनेर पालैपालो करणी गरेका र भोलिपल्ट विहान ४ बजे कोठाबाट बाहिर निकालेका उहाँले बताउनुभयो । पेट धेरै दुखेर गाह्रो भएको अवस्थामा लोकतान्त्रिक चौरमा भेटिनुभएको उहाँले अभिभावक र प्रहरीलाई उक्त घटना बारे बताउनुभएको थियो । पीडित मरिण १२ (ख) को आरोपबमोजिम प्रहरीले तीनै जना पीडकहरुलाई पक्राउ गरेर घटना बारेमा थप अनुसन्धान गरिरहेको छ ।

यी त जबरजस्तीकरणी (बलत्कार)का प्रतिनिधि घटनाहरु मात्रै हुन् । सिन्धुलीमा चालु आर्थिक वर्षको हालसम्म सात वटा जवरजस्ती करणीको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा २० वटा जवरजस्ती करणीको मुद्धा दर्ता भएका छन् । यस्तै, आर्थिक वर्ष २०७९÷८० मा ३१ वटा जवरजस्ती करणीको मुद्धा दर्ता भएको प्रहरीले जानकारी दिएको छ । यो संख्या प्रहरीमा उजुरी परेका मात्रै हुन् । करणी भएपनि सामाजिक, पारिवारीक लाज, डरका कारणले उजुरी नगर्नेको संख्या पनि उत्तिकै हुन सक्ने आँकलन छ । प्रहरीको तथ्याङकलाई आधार मान्ने हो भने जिल्लामा ६ वर्षीया बालिकादेखी हजुरआमा उमेरका महिलाहरुसम्म करणीको शिकार भइरहेको पाइन्छ ।

जिल्लामा जबरजस्तीकरणीका घटना रोक्न बेला–बेलामा सचेतनामुलक कार्यक्रम भैरहन्छन् । अपराधीहरुमाथि कारर्वाही पनि नभएका होइनन् । तर, पनि जबरजस्तीकरणीका घटना रोकिन सकेका छैनन् । आर्थिक अवस्था कमजोर भएका महिला, किशोरी र बालिकालाई विभिन्न लोभलालच, प्रलोभन र प्रेम सम्बन्धमा पारेरसमेत जबरजस्तीकरणी गर्ने प्रवृत्ति बढ्दो छ ।

यस्ता घटनामा अपरिचित व्यक्तिहरु भन्दापनि नजिकको छरछिमेकी, चिनेजानेका व्यक्ती, प्रेमी र आफन्त नै संलग्न हुने गरेका प्रहरीको अनुसन्धानले देखाउँछ । तीन वर्षअघिसम्म करणी र यौन हिंसाका कतिपय घटनाहरु गाउँघरमै रकम लेनदेनमा मिलाईने वा बेइज्जत हुन्छ भन्ने डरले लुकाएर राख्ने प्रवृत्तिका कारण न्यायलयसम्म पुग्न सकेको थिएनन् । पछिल्लो समय समाजमा सचेतना बढेसँगै पीडित न्याय निकायसम्म जान थालेका छन् ।

मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबजस्तीकरणी गरेको मानिने उल्लेख छ । वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्तीकरणी गरेमा पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद हुने कानुनी व्यवस्था छ ।

सामूहिक रुपमा करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपांग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई करणी गरेमा उपदफा ३ मा लेखिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

तर, जबरजस्तीकरणी जस्तो जघन्य अपराधमा पहूँचवालाहरुले पीडितलाई ‘होस्टाइल’ गराएर मुद्धा कमजोर पार्ने प्रवृत्ति छ । पीडित र साक्षीलाई सुरक्षा अभाव, आर्थिक, राजनीतिक दबाब र कमजोर अनुसन्धानले यस्तो प्रवृत्ति बढ्दा अपराधीले उन्मुक्ति पाउने र आफैविरुद्ध उभिन विवश पीडितहरु झन पीडित हुने गरेका छन् ।

प्रतिक्रिया