सिन्धुली – सिन्धुलीमा पछिल्लो समय नागरिकता र पासपोर्ट बनाउनेको संख्या बढेको छ । तिनपाटन गाउँपालिका वडा नं ३ का २० वर्षीय दिवश सुनुवारले केही दिनअघि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाउनुभयो । उहाँले पार्सपोट बनाउनका लागि नागरिकता बनाएको बताउनुभयो । “विदेश जाने विचार गरेको छु । पहिले नागरिकता बनाउनु पर्ने रहेछ । त्यसैले नागरिकता बनाएको, अब तत्काल नागरिकता बनेपछि पार्सपोट बनाउन लाग्छु ,” उहाँले भन्नुभयो । त्यस्तै, कमलामाई नगरपालिका ८ का ६० वर्षिय तुला बहादुर मोक्तानले केही दिनअघि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बताउनुभयो । मोक्तानले अहिलेसम्म नागरिकताको काम नै नपरेकाले नबनाएको प्रतिक्रिया दिएको बताउनुभयो ।
कमलामाई नगरपालिका ४ का ८७ वर्षिय लिलानाथ सापकोटाले आइतबार नै जिल्ला प्रशासन कार्यालयमा राहदानीको फाराम भर्नुभयो । अस्ट्रेलियामा रहेकी छोरीले घुम्न बोलाएका कारण उहाँले राहदानी बनाउन लागेको बताउनुभयो । पछिल्लो समयमा जिल्लामा राहादानी बनाउने बृद्धबृद्धाको संख्या पनि बढ्न थालेको छ । सिन्धुलीमा पछिल्लो समय नागरिकताभन्दा पासपोर्ट बनाउनेको संख्या बढी देखिन थालेको छ । पछिल्ला दिनमा दैनिक डेढ सय बढी नागरिकता र ८० आसपासमा राहदानी वितरण भइरहेका छन् । नागरिकता बनाउन आउनेहरूको अवस्था हेर्दा नागरिकताभन्दा बढी राहदानी बनाउनेहरूको भिड प्रशासनमा रहेको छ ।
कतिले बनाए राहदानी ?
सिन्धुलीमा एक महिनामा मात्रै २ सय ८४ जनाले राहदानी बनाएका छन् । मंसिर महिनामा उक्त जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ । चालु आर्थिक वर्षको हाल सम्म ३ हजार १ सय ८४ जनाले राहदानी बनाएका हुन् । सो अवधिमा २ हजार ९ सय ४२ जनाले राहदानी प्राप्त गरेका छन् भने २ हजार २ सय ५८ वटा इ राहदानी वितरण भएको छ । एमआरपि राहदानी ६ वटा र दु्रत राहदानी सिफारिस १७ वटा भएको प्रशासनले जानकारी दिएको छ । ८ सय ३ वटा राहदानी वितरण हुन बाकिँ छ ।
यस्तै, मंसिर महिनामा मात्रै ९ सय ६८ जनाले बंशको आधारमा नयाँ नागरिकता लिएका छन् । ५ सय १३ जना महिला र ४ सय ५५ जना पुरुषले नयाँ नागरिकता लिएका हुन् । ६ सय ६६ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । २ सय ५० जना महिला र ४ सय १६ जना पुरुषले नागरिकताको प्रतिलिपि लिएको प्रशासनले जानकारी दिएको छ । एक गैरआवसि नागरिकले नागरिकता पाएका छन् । चालु आर्थिक वर्षको हाल सम्म ३ हजार ८ सय ९९ सय जनाले नयाँ नागरिकता लिएका हुन् । ति मध्ये महिला २ हजार ९३ जना छन् भने पुरुष १ हजार ८ सय ६ जना छन् । सो अवधिमा ३ हजार १२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । सो मध्ये महिला १ हजार २ सय ६ र पुरुष १ हजार ८ सय ६ रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।