मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

गोलन्जोरको घोक्सिला खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास

मंगलवार , पौष ९, २०८१

सिन्धुली, – सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ र ७ जोडने घोक्सिला खोलामा निर्माण हुन लागेको पक्की पुलको सिलान्यास गरिएको छ । गोलन्जोर गाउँपालिकाको बाराहा–घोक्सिला जोड्ने पुलको गाउँपालिका अध्यक्ष शंकरराज बरालले सोमवारएक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो ।

पुलको शिलान्यास कार्यक्रममा सम्बोधनगर्दै गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले उक्त ठाउँमा पुल नहुँदा बर्खामा धेरै दुःख पाएको बताउदै अब पुल निर्माण पश्चात यस क्षेत्रको नागरिकलाई बाह्रै महिना सहज यात्राका लागि सघाउ पु¥याउने बताउनुभएको छ ।

अध्यक्ष बरालले भन्नुभयो “यो ठाउँमा पुल नहुँदा हामीले बर्खामा धेरै नै दुःख पाएका थियौँ । भोगेको थिएँ । देखेको थिएँ । त्यही कुरालाई मनन गरेर म गाउँपालिका अध्यक्ष निर्वाचित भए देखि नै बागमती प्रदेश सरकारसँग पुल निर्माणका अहोरात्र पहलकदमी गरिरहेँ । त्यसैले सम्भव भएको छ ।”

उहाँले पुलको अपरिहार्यता र आवश्यकतालाई मध्यनजर गर्दै छिटो भन्दा छिटो गुणस्तरीय पुल निर्माण गर्न निर्माण कम्पनीलाई ध्यानाकर्षण गराउनुभयो । “यो क्षेत्रको जनताको लागि पुलको आवश्यकतालाई ख्याल गरेर छिटो पुल निर्माण गर्नुहोला ।,” निर्माण कम्पनीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो,“पुल बनाउने मात्र होइन गुणस्तरीय पनि बनाउनुपर्छ, त्यसमा पनि ख्याल गर्नुहोला ।”

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय बाट बिनियोजित ९ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ ८० पैसामा पुल निर्माण हुनेछ । ७० मिटर लामो पुल आगामी २०८२ को मंसिर १३ गते भित्र निर्माण सम्पन्न गर्ने गरी २०८१ जेठ १४ गते श्रृजना निर्माण सेवाले सम्झौता गरेको छ । श्रृजना निर्माण सेवा सिन्धुलीका प्रोपाईटर उद्धव दाहालले सम्झौता भित्रै पुल निर्माण सम्पन्न गर्ने बताउनुभयो ।

यो पुल निर्माण सम्पन्न भएपछि गोलन्जोर गाउँपालिकाको वडा नम्बर ६ र ७ का स्थानियहरुलाई आवातजावत गर्न सहज हुनेछ । यो पुल बनेपछि मध्य पहाडी लोकमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई समेत सहज हुने गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताउनुभयो । गोलन्जोर गाउँपालिकाको अक्करे भिरमा बर्षायाममा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध हुने गरेको छ ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चौधरी, श्रृजना निर्माण सेवाका सञ्चालक उद्वव दाहाल , स्थानीय राजनितिक दलका प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु र स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया