सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ स्थित रागेखोलादेखि रागेचौरसम्मको जंगल, मानव बस्ती रहित क्षेत्रमा हजारौं सालका रुख कटानी गरी नयाँ सडक निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको नेतृत्वको यो कार्यले वन विनास र सार्वजनिक सम्पत्तिको दुरुपयोगको गरेको छ ।
पहिल्यै सञ्चालनमा रहेको वैकल्पिक व्यवस्थित सडक हुँदाहुँदै मानव वस्ती नभएको ठाउँमा नयाँ सडक निर्माण गर्नुको औचित्य स्थानीयहरूले प्रश्न गरेका छन् । उपभोक्ता समिति गठन नगरी र वातावरणीय प्रभाव मूल्यांकनविना गरिएको सडक निर्माणले आर्थिक अनियमितताका साथै वातावरणीय सन्तुलन समेत बिग्रिएको स्थानीयको भनाइ छ ।
वन डिभिजन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरका अनुसार स्थानीयवासीले उजुरी गरेपछि स्थलगत अध्ययनका लागि टोली खटाइएको थियो । “सडक निर्माणको नाममा नियम विपरीत सालका रुख कटानी गरिएको छ । यसबारे कानुनी कारबाही प्रक्रिया सुरु हुनेछ,” उहाँले भन्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले अध्यक्ष वाइबाले निर्णयहरू एकलौटी रूपमा लिँदै आफूलाई समेत उपेक्षा गरेको बताउनुभयो । “गाउँपालिका अध्यक्षले मनोमानी ढंगले यो कार्य गरेका हुन्,” थिङले भन्नुभयो ।
नेकपा एमालेका गाउँपालिका अध्यक्ष मानबहादुर वाइवाले भन्नुभयो, “डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन बिना आर्थिक लाभका लागि गरिएका योजनाहरूले समस्या सिर्जना गरेको छ ।”
वन र सार्वजनिक स्रोतको विनास नियन्त्रणका लागि सरोकारवाला निकाय र स्थानीयहरूले तत्काल कदम चाल्नुपर्ने दबाब दिएका छन् । अध्यक्ष वाइबाले हाल काम रोकिएको बताउनु भएको छ, तर यो घटनाले उहाँका गतिविधिहरूमा पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।