सिन्धुली – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सभामा बहुमत पुगेपछि मात्र संविधान संशोधन हुने बताउनु भएको छ । बिहिबार प्रेस चौतारी नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गौतमले नेकपा माओवादी केन्द्र सहितको राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका हुन् ।
उहाँले भन्नुभयो, “संविधान संशोधनको विषय एमाले वा कांग्रेसको मात्र चाहेर सम्भावना छैन । यसका लागि सबैको साझा धारणा चाहिन्छ । नेकपा माओवादी केन्द्रले उठाएको प्रतक्ष निर्वाचित कार्यकारीको विषयमा समेत बहस गरेर साझा धारणा बनाएर सबैको साझा सहमतिका आधारमा संविधान संशोधन गरिन्छ ।”
पछिल्लो समय नेकपा माओवादीले संविधान संशोधन गर्दा समावेशी समानुपातीक सहभागिता सहित प्रतक्ष निर्वाचित कार्यकारीको एजेण्डालाई अघि सार्दै आएको छ ।
नेकपा एमालेको दुधौलीमा बिहिवारदेखि हुने चौथो जिल्ला कमिटीको बैठकलाई संबोधन गर्न सिन्धुली आइपुग्नु भएका गौतमले संविधान संशोधनको बहस चलेपछि गठबन्धन सरकारको दुबै सदनमा बहुमत पुगेपछिमात्र प्रकृया अघि बढ्ने समेत स्पष्ट पार्नुभयो ।
“संविधान संसोधनमा दुबै सदनमा बहुमत चाहिन्छ त्यसका लागि केही समय कुर्नुको विकल्प छैन् । राष्ट्रिय सभामा हाम्रो बहुमत पुगेपछि संविधान संशोधन हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने भन्दै स्थायी सरकार निर्माणका लागि पनि संविधान संशोधनमार्फत यो निर्वाचन प्रणालीलाई सुधार ल्याउनु पर्ने आवश्यकता औल्याउनुभयो ।
संकटको अवस्थामा पुगेको अर्थतन्त्रलाई लयमा ल्याउने, सुशासन, डेलिभरी, रोजगारी र अवसरको न्यायोचित वितरणमा स्थायी सरकारको रुपमा बर्तमान गठबन्धनको सरकार लागि परेकाले यो गठबन्धन आगामी २०८४ सालको निर्वाचनसम्मै टिक्ने गौतमको दावी छ ।
“एमाले र काँग्रेस मिलेर बनेको सरकारले देशको अर्थतन्त्रलाई लयमा फर्काउने काम गरिरहेको छ । समयमा अर्थतन्त्रलाई लयमा फर्काउन नसकेको भए देशमा ठूलो विपद आउन सक्थ्योे, त्यसैले देशका दुई ठूला राजनीतिक दलहरु एकजुट भयौं । यो गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहन्छ,” उहाँले थप्नुभयो ।
पछिल्लो समय राष्ट्रिय रुपमा चासोका साथ हेरीएको रवी लामिछानेको मुद्दामा नागरिक र केहि मिडियाहरुविच अन्याय र न्यायको बहस चलिरहेको भन्दै त्यसले मुलुकमा अस्थिरता र अराजकता निम्त्याएको उहाँको तर्क छ । उहाँले लामीछानेमाथीको मुद्धमा प्रहरी र अदालतले अनुसन्धान गरिरहेकाले अनुसन्धानलाई प्रभावित गर्ने गतिविधि नगर्न आग्रह समेत गर्नुभयो ।