सिन्धुली– कमलामाई नगरपालिका ५ कि नाम परिर्वतन मिना केहि दिन देखि अदालत धाइरहनुभएको छ । सम्बन्ध विच्छेदको लागि अदालत आएको उहाँले बताउनुभयो । “एक वर्ष नै भइसक्यो फैसला भने भएको छैन । कहिले कहिले तारिखमा बोलाइ रहने भएकाले आएको हुँ । झण्डै दश पटक बढि अदालत आइसके , ” उहाँले भन्नुभयो । श्रीमानले दैनिक कुटपिट गरेपछि सँगै बस्न नस्कने भएपछि उहाँ अदालत आउनुभएको बताउनुभयो । उहाँको २०६० सालमा प्रेम विवाह भयो । घर नजिकैको केटासँग प्रेम विवाह गरेको मिनाले बताउनुहुन्छ । “२०६० सालमा घर नजिकैको केटासँग विवाह भएको हो । केहि वर्ष अगाडि सम्म हाम्रो सम्बन्ध राम्रै थियो । एक वर्ष जति भयो, मादक पदार्थ सेवन गरेर दैनिक कुटपिट गर्न थालेको । त्यसै कारणले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको हो ,” उहाँले भन्नुभयो । उहाँका दुइ छोरा छन् । सोमबार मात्रै सम्बन्ध विच्छेदको फैसला भएको उहाँले सुनाउनुभयो ।
कमलामाई नगरपालिका ४ का सन्तोषले पनि दुई महिना अगाडि मात्रै श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नुभयो । १६ वर्षको उमेरमा प्रेम विवाह गर्नुभएको सन्तोषले पाँच वर्ष पछि सम्बन्ध विच्छेद गर्नुभएको बताउनुभयो । “सानै उमेरमा प्रेम विवाह गरेको हुँ । श्रीमती अरुसँग लागेको थाहा पाएपछि मैले सम्बन्ध विच्छेद गरेको हो ,” उहाँले भन्नुभयो ।
पाँच वर्ष अगाडि सँगै मर्ने सँगै बाँच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका कमलामाई नगरपालिकाकी देवकी र सन्तोषको (नाम परिर्वतन) सम्बन्ध ३ वर्ष पनि टिकेन । विवाह भएको ३ महिना मै सन्तोष पत्नी र घरपरिवारलाई खुसि दिने अभिलाषा बोकेर वैदेशिक रोजगारीका लागि कतार जानुभयो । बैदेशिक रोजगारीमा गएका सन्तोषको पत्निसँग खासै कुरा हुन्थेन । आफुले पत्नीसँग कुरा गर्न इच्छा गरेपनि पत्नीले विभिन्न बहाना बनाएर कुरा गर्न मन नगरेको सन्तोष बताउनुहुन्छ । “म विदेशमा हुदाँ कहिले पनि पत्नी म सँग नरिसाइ बोलिन, मैले फोन गर्दा रिसाउने, बेस्त छु भन्थिइन ,” उहाँले भन्नुभयो ।
सन्तोष दुइ वर्ष नवित्दै बैदेशिक रोजगारीबाट घर फर्किनुभयो । तर उहाँले पत्नी देबकीबाट पहिलेको जस्तो माया पाउनुभएन् । विदेशबाट फर्किएको केही दिन राम्रै सम्बन्ध रहे पनि आफू विदेशमा हुँदा पत्नीले परपुरुषसँग सम्बन्ध राख्ने गरेको गाइँगुइँ चलेपछि उनीहरूबीच सुरु भएको खटपट बोलचाल बन्द हुने स्थितिमा पुग्यो ।
सासुससुराले पनि देवकीलाई नराम्रो व्यवहार गर्न थाले । दिनहुँ पतिको कुटाइले थकित बनेपछि उहाँले सम्बन्ध विच्छेदका लागि निवेदन दिनुभयो । अन्ततः जिल्ला अदालतमा उनीहरूको सम्बन्ध विच्छेद भयो । सम्बध विच्छेदपछि सन्तोष कतारमा नै हुनुहुन्छ भने देवकी काठमाडौँमा ।
सिन्धुलीमा अहिले सम्बन्ध विच्छेदका मुद्धा बढेको छ । जिल्ला अदालत सिन्धुलीमा सम्बन्ध विच्छेदको मुद्धा बढी छ । जम्मा मुद्धाको झण्डै आधि सम्बन्ध विच्छेदको मात्रै रहेको अदालतको तथ्यांकले देखाएको छ । अदालतमा चालु आर्थिक वर्षको हाल सम्म जम्मा ३५० वटा मुद्धा छन् ती मध्ये १ सय २७ वटा सम्बन्ध विच्छेदको रहेको छ ।