सिन्धुली – सिन्धुलीमा लागु पदार्थ सेवन गरेर सवारी चलाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बिपि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका वडा नं. ९ भिमानमा ६५ वटा सवारी साधनका चालकहरूको स्वास्थ्य परीक्षण गर्दा ७ जनाले लागु पदार्थ सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ पर्नेमा चालकहरूमा बर्दिबासबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०६–००१ज ०१४५ नम्बरको को इलेक्ट्रिक गाडी चालक महोत्तरीको बर्दिबास नगरपालिका १४ का २७ वर्षीय सौरभ भुजेल, राजविराजबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००५ख ९६७१ नम्बरको हायसका चालक सप्तरीको रुपनी गाउँपालिका २ का ३६ वर्षीय गजेन्द्र कुमार यादव, झापाबाट काठमाडौँ जाँदै गरेको बा ५ ख ४१९० नम्बरको हायस चालक झापाको बुद्ध शान्ति गाउँपालिका २ का ३१ वर्षीय तुलसी दर्जी रहेका छन् ।
यस्तै कटारीबाट सर्लाही जाँदै गरेको प्रदेश २–०१–००१ ख ००७० नम्बरको ट्रक चालक उदयपुर कटारी नगरपालिका १४ का ३० वर्षीय चन्द्र बहादुर दमाई, सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना १ ज ८७१४ नम्बरको विङ्गर चालक सर्लाही लालबन्दी नगरपालिका ५ का ४१ वर्षीय राज कुमार घिमिरे, सर्लाहीबाट खुर्कोट जाँदै गरेको प्रदेश २–०४–००१ च ०११४ नम्बरको पिक अप चालक सर्लाहीको लालबन्दी नगरपालिका ५ का २४ वर्षीय विष्णु अधिकारी र काठमाण्डौबाट झापा जाँदै गरेको बा ४ ख ६६७७ नम्बरको हायस चालक दोलखाको कालिन्चोक गाउँपालिका ९ का ४३ वर्षीय दीपक राज चिमरीया रहेका छन् ।
सातै जना सवारी चालकहरूलाई लागु औषध नियन्त्रण ऐन बमोजिम आवश्यक कारबाहीको लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक अनिलकुमार खडकाले जनाकारी दिनुभयो । यस अघि पनि बिपी राजमार्गको सिन्धुली खण्डमा गरिएको चेकजाँचमा पाँच जना चालकले लागु पदार्थ सेवन गरि सवारी चलाएको पाइएकाले लागु औषध नियन्त्रण ऐन बमोजिम कारबाही भएको उहाँले जानकारी दिनुभयो ।
सवारी चालकहरूले लागु पदार्थ सेवन गरि सवारी चलाउने गरेको गुनासो बढेसँगै प्रहरीले यस तर्फ सक्रियता बढाएको उहाँ बताउनुभयो । एक जना सवारी चालकको लापरबाहीले दर्जनौँ व्यक्तिको ज्यान जान सक्ने भन्दै कानुन विपरीतका कार्य गरि सवारी चलाउने सवारी चालकलाई कडा कारबाही हुने बताउनुभयो ।
लागु पदार्थ ओसार प्रसार र लागु पदार्थको प्रयोग पूर्ण रूपमा रोक लगाउन प्रहरीले राजमार्गमा चेकजाँच सँगै सवारी चालकको स्वास्थ्य परिक्षणमा समेत सक्रियता बढाएको उहाँको भनाई छ । यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको उहाँ बताउनु हुन्छ । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले आफू सवार सवारीसाधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न उहाँले आग्रह गर्नुभयो ।