मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीको हरिहरपुरगढीमा डरलाग्दो बन फँडानी

आइतवार , मंसिर २३, २०८१

सिन्धुली – बागमती प्रदेशकै विवादस्पद गाउँपालिकाका रुपमा चिनिएको सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले विकासको नाममा अनियमित खर्च र वन विनास गरेको छ । हरिहरपुरगढी गाउँपालिका ६ को राँगेखोलादेखि राँगेचुरीसम्मको सडक निर्माणका क्रममा हजारौं सालका रूख काटिएका छन् । उक्त क्षेत्रमा कुनै बस्ती नरहेको र पहिले नै अन्य वैकल्पिक सडक सञ्चालनमा रहेको अवस्थामा नयाँ सडक निर्माणले अनावश्यक वन विनास भएको स्थानीयले बताएका छन् ।

राँगेखोलादेखि कौवा खोला हुँदै ठूलो कौवा र सानो कौवासम्मको पहिल्यै ढलान गरिसकिएको सडक रहेको छ । उक्त सडकको थप स्तरोन्नतिको माग भइरहेका बेला पालिकाले उपभोक्ता समिति समेत नबनाई समानान्तर रूपमा नयाँ सडक खनेर बन तस्करी गर्दै करोडौं रुपैयाँ अपचलन गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार यो कार्य विकासका लागि नभई पालिकाका अध्यक्ष बज्रध्वज वाइवा र प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार पैकाराको खर्च तजबीजी गर्न र सालका रूख बेच्ने उद्देश्यले गरिएको तथ्य खुल्न थालेको हो । केही समय अगाडि संघीय मामिला मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृत पैकाराको सरुवा गरेको थियो तर उहाको सरुवा रोक्नका लागि पालिका अध्यक्ष वाइवा राजधानी काठमाण्डौं पुगेर एमालेका नेताहरु मार्फत सरुवा वदर गराएर आफ्नो लुटको साम्राज्यलाई निरन्तर दिन सफल भएको बताइएको छ ।

हरिहरपुर गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले पालिकाका अध्यक्ष बज्रध्वज वाइबाले आफ्नै मनोमानीमा कहीं यो निर्णय नगराई आफ्नै तजविजीमा गरेकाले आफूले केही बताउन नसक्ने बताउनुभयो । उहाँले यसबारेमा अध्यक्षलाई सोध्नु भन्दै पञ्छिनुभयो ।

अध्यक्ष वाइबाले भने स्थानीय समूहको आग्रहमा आफूले यो काम गरेको प्रतिक्रिया दिनुभयो । उपाध्यक्षलाई समेत निर्णयमा सहभागी नगराई यो काम गरेको भन्ने उपाध्यक्षको भनाइ छ नि भन्दा उहाँले आफूले स्थानीय समूहको आग्रहमा काम गरेको बताउनु भयो ।

वैदेशिक रोजगारीमा गएका भुइँमान्छेलाई सताएर ठूलो विवादमा आएका अध्यक्ष वाइवाले जिल्लास्थित माओवादी नेताहरुलाई भन्दै आएका थिए । निर्वाचनमा टिकट लिन र निर्वाचन परिचालनमा मेरो तीन करोड खर्च भएको छ, त्यो रकम फिर्ता देऊ, म अध्यक्ष पदबाट राजीनामा दिन्छु । वाइवाको यो भनाइले उहाँ निर्वाचनका बेला भएको खर्च असुलीमा निरन्तर क्रियाशिल हुनुहुन्छ । सर्लाहीको भरतताल निर्माणका नाममा अर्बौ प्राकृतिक स्रोतमा अनियमितता गरेपछि निलम्बनमा पर्नु भएका मेयर भरत थापाको धन्दाकै शैलीमा नयाँ सडक निर्माण गर्ने र लाखौं मूल्यका सालका काठहरु कटानी गरेर बेच्ने क्रम बढेपछि त्यसको चौतर्फी आलोचना पनि भएको छ ।

स्थानीय वासिन्दाका अनुसार चार किलोमिटरको सडक निर्माण गर्दा भएको घना जंगलको विनासले पर्यावरणमा नकारात्मक प्रभाव पारेको जनाउँदै उक्त कार्यको विरोध हुन थालेको छ । यसरी बिना योजना गरिएको विकासका नाममा वन विनासले हरिहरपुरगढीको वातावरणीय सन्तुलन मात्र बिग्रिने नभई स्थानीय बजेटको अनियमितता समेत भएको छ ।

वन विनास र अनियमित खर्चको यो घटनाले हरिहरपुरगढी गाउँपालिकाको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ । अब यसलाई नियन्त्रण गर्न सरोकारवाला निकायहरूले तत्काल पहल गर्नुपर्ने दवाव बढेपछि वन डिभिजन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले वातावरणीय प्रभावको मूल्यांकन विपरीत जवर्जस्ती सडक निर्माणका नाममा सालका रुख अन्धाधुन्ध काटेको उजुरी आएपछि स्थलगत अध्ययन गर्न टोली खटाइएको जानकारी दिनुभयो । यसबारेमा आफूहरुले कानुनी कार्वाही अगाडि बढाउने उहाँले बताउनुभयो ।

वन डिभिजन कार्यालयको ध्यानाकर्षणपछि हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवाले काम बन्द गरेको प्रतिक्रिया दिनुभयो । यसबारेमा बुझ्न प्रमुख प्रशासकीय अधिकृत पैकारालाई फोन सम्पर्क गर्दा आफू कार्यक्रममा भएकाले पछि फोन गर्न आग्रह गर्दै पञ्छिनुभयो ।

नेकपा एमाले हरिहरपुरगढीका नेता मानवहादुर वाइवाले भने गाउँपालिकामा निरन्तर बेथिति बढिरहेको र डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन विपरीत आर्थिक लाभ लिने गरी योजनाहरु सञ्चालन गर्दा अहिले समस्या नै समस्या सिर्जना भएको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष चेखवहादुर थिङले पनि गाउँपालिकाका अध्यक्षको अनियमितता र मनोमानीका कुरा उठाउँदा कतै सुनुवाइ नभएको दुःखेसो पोख्नुभयोे ।

प्रतिक्रिया