सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका ५ मा सार्वजनिक(ऐलानी) जग्गा नाप्न निजि जग्गा नाप्नु पर्ने भन्दै पैसा असुली गरेको पाइएको छ । निजि जग्गा नापे बापत कठ्ठाको पाँच सयको दरले पैसा असुल गरेको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित परिवारको लगत संकलन र जग्गा नापी गर्ने क्रममा ऐलानी जग्गाको सिमाना छुट्याउन निजि जग्गा पुरै नाप्नु पर्ने भन्दै पैसा लिएको स्थानियले गुनासो गरेका छन् । एउटै व्यक्तिले ४० देखि ६० हजार बढी पैसा तिरेका छन् । पैसा तिरेको कुनै रसिद समेत दिइएको छैन ।
ऐलानी जग्गा छुट्याउन अनिर्वाय रुपमा निजि जग्गा सबै नाप्नु पर्ने भनेपछि पैसा तिरेर जग्गा नपाएको स्थानीय इमल कुमार माझीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पैसा नतिरे सम्म ऐलानी जग्गा नै नाप्दिन भन्यो । ऐलानी जग्गा नाप्नको लागि निजि जग्गा नाप्नै पर्छ भन्यो । त्यसैले हामीले पैसा तिरेर निजि जग्गा नाप्यौँ र ऐलानी नाप्दियो ।” पैसा अगाडि दिनेको अगाडि नै नाप्ने र नदिनेको ऐलानी जग्गा नै ननाप्ने भने पछि पैसा तिर्न बाध्य भएको स्थानिय मान बहादुर थोकरले बताउनुभयो । उहाँले ४ हजार तिरेर आफ्नो जग्गा नपाएको बताउनुभयो । “मैले चार हजार तिरेर मेरो जग्गा नपाएको, एैलनी नाप्दिन भने पछि निजि नाप्नै प¥यो । छिमेकिले पैसा तिरेर जग्गा नपाएपछि आफ्नो जग्गा पनि अरुको खाने डरले जग्गा नपाएको हो । ऐलानी जग्गाको सिमाना छुट्याउन निजि जग्गा अनिवार्य नाप्नु पर्छ भने पछि हामीले पैसा तिरेर जग्गा नपाएको हो , ” उहाँले भन्नुभयो ।
स्थानीय कल कुमारी सुनुवारको त निजि जग्गा नापेको ३ हजार पैसा लगे तर ऐलानी जग्गा भने नापेनन । सुनुवार भन्नुहुन्छ, “निजि जग्गा नाप्नु पर्छ अनि मात्रै ऐलानी नाप्छु भन्दै झुक्याएर पैसा लगे तर ऐलानी जग्गा भने नापेनन् । अरुसँग क्रिण गरेर पैसा ल्याएको थिए । ऐलानी जग्गा नै नापेनन् ।” स्थानीयबाट केहि व्यक्तिसँग कठ्ठाको पाँच सय र केहि व्यक्तिसँग एक हजार सम्म पैसा उठाएको स्थानीयले बताएका छन् । वडा नम्बर ५ बाट मात्रै २७ लाख बढी पैसा असुली गरेको स्थानिले बताएका छन् । भूमि आयोगको कार्यविधिमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित परिवारको लगत संकलन र जग्गा नापीका लागि कुनै शुल्क लिन पाउने व्यवस्था छैन ।
मरिण गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित परिवारको लगत संकलन र जग्गा नापीको लागि रास इन्जिनियरिङ कन्सल्टेन्सी सँग २०७९ मा सम्झौता गरेको थियो । ३० लाखमा ८ सय वर्गकिलोमिटर क्षेत्रफल नाप्ने सम्झौतामा छ । गाउँपालिकाबाट ३० लाख भुक्तानी भइसकेको छ । सम्झौता अनुसारको रकम अपुग भएको भन्दै पुन भुक्तानीको लागि कन्सल्टेन्सीले गाउँपालिकामा बिल पेस गरेको मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले बताउनुभयो । नापी कार्यालय सिन्धुलीबाट नाप्ने प्रमाणित गरेपछि भुक्तानी भएको उहाँले बताउनुभयो ।
मरिण गाउँपालिकाले भने निजि जग्गा नापे बापत पैसा लगेको बताएको छ । गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तानले वडामा सर्वदलिय बैठक बसी निजि जग्गाको पैसा लिने भनी माइनेट भएको बताउनुभयो । यस विषयमा वडालाई नै थाहा हुने भन्दै उहाँ पन्छिनुभयो । यस विषयमा वडा नम्बर ५ का वडा अध्यक्ष दिपक माझी सँग बुझ्दा निजि जग्गा नापेको पैसा लिएको बताउनुभयो ।