मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीको अंग्रेजी विद्यालयमा संस्कृत पढाइ

शुक्रवार , मंसिर २१, २०८१

सिन्धुली ,– सिन्धुलीमा संचालनमा रहेको एक निजी शैक्षिक संस्थाले संस्कृत भाषाको शिक्षण शुरु गरेको छ । जिल्लाको कमलामाई नगरपालिका ६ मा रहेको भगवती अंग्रेजी आवासीय माध्यामिक विद्यालयमा संस्कृत भाषाको अध्ययन अध्यापन शुरु भएको हो । संस्कृत भाषालाई वेदको भाषा मानिन्छ । वाणीको स्वर्णीम लिखित रुप वेद हो । अंग्रजी शिक्षाको दवदबासँगै कर्मकाण्डी भाषाको रुपमा सिमित भएको प्राचिन भाषा संस्कृतलाई विश्वका विभिन्न विद्यालय, विश्वविद्यालयहरूले आफ्नो पाठ्यक्रममा समावेश गर्न थालेका छन् ।

यसैबिच, भगवती विद्यालयले पनि कक्षा ५ र ६ का विद्यार्थीको लागि ऐच्छिक विषयका रुपमा संस्कृत भाषा अध्ययन अध्यापन शुरु गरेको विद्यालयका संस्थापक तथा प्रधानाध्यपाक कृष्णकुमार उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरूलाई संस्कार सहितको सिपमूलक शिक्षासँग जोड्न र नेपाली भाषालाई शुद्धसँग पढ्न र लेख्न यसको आवश्यकता देखिएकाले संस्कृत शिक्षालाई विद्यालयले पठनपाठनमा समावेश गरेको हो ।” त्यसैगरी नैतिक शिक्षाबिना संस्कार सहितको सिपमुलक शिक्षाबारे पुस्तान्तरण गर्न पनि असम्भव देखिएको र संस्कृत शिक्षाले विद्यार्थीहरूलाई नैतिकवान बनाउन समेत टेवा पुग्ने देखिएकाले संस्कृत शिक्षाको पठनपाठन सुरू गरिएको प्रिन्सिपल उप्रेतिले बताउनुभयो ।

संस्कृत भाषाको शिक्षण शुरु भएसँगै अभिभावकले सकारात्मक प्रतिक्रिया दिएका छन् । संस्कृत भाषा पूर्विय दर्शनको संवाहक भएकाले विद्यालयको प्रयास सराहनिय भएको अभिभावक रमेश खड्काले बताउनभुयो । उहाँले भन्नुभयो, “सम्पूर्ण प्राणी जगतको महत्व बुझेर समान व्यवहार गर्न सिकाउने शक्ति यो भाषामा निहीत छ । यो कुनै वर्ग र समुदायको भाषा होइन । आज संस्कार सहितको शिक्षाको आवश्यकतालाई संस्कृत शिक्षाले पुलको काम गर्ने छ ।” नैतिक शिक्षाको पूर्ण आयाम संस्कृत शिक्षाबाट नै पाइने बताउदैँ खड्काले भन्नुभयो, “यो विश्वको प्राचीनतम् भाषा र सबै भाषाको जननी हो । नेपाली पढ्न, शुद्ध लेख्न तथा मानिसलाई नैतिकवान्, मर्यादित र आदर्शवान बनाउन संस्कृत भाषाको महत्व मूल्यवान छ ।”

स्मरण रहोस् भगवती माध्यामिक विद्यालयले जिल्लामा संस्कार सहितको शिक्षामा जोड दिँदै आएको छ ।

प्रतिक्रिया