सिन्धुली, – सिन्धुलीमा विषादी प्रयोगमा न्यूनिकरण सम्बन्धी सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । विषादी प्रयोग मुक्त सप्ताह २०८१ को अवसरमा कृषि विकास कार्यालय सिन्धुलीले गोष्ठीको आयोजना गरिएको हो । कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अरुण खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
गोष्ठीको अवसरमा विषादी प्रयोगको असर, विषादी प्रयोग गर्ने सहि तरिका, प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, विषादी बेच्दा र भण्डारण गर्दा ध्यान दिनुपर्ने कुरा लगायतको बिषयमा छलफल गरिएको छ ।
कार्यक्रममा रसायनिक विषादीको प्रकार, नेपालमा प्रयोग हुने विषादीको प्रकार, विषादीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पर्ने असर, विषादीको उचित प्रयोग गर्ने तरिका, विषादी प्रयोग गर्ने उचित विधि लगायतको बिषयमा कृषि विकास कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत सुसिल श्रेष्ठले प्रस्तुतिकरण राख्नुभएको थियो ।
उहाँले रासायनिक विषादी दुरुपयोगका साथै असुरक्षित प्रयोगले मानव स्वास्थ्यमा पर्ने दीर्घकालीन असरहरू पर्ने, पर्यावरण तथा वातावरणमा पर्ने असरहरू पर्ने, मौरी तथा अन्य मित्र जीवमा पर्ने असर पर्ने, बिरुवामा असर पर्ने, हानिकारक रोग र कीरामा असर पर्ने बताउनुभयो ।
अनावश्यक विषादीको प्रयोगबाट मानिसमा सास फेर्न कठिन हुने साथै सास छिटो छिटो फेर्ने, बान्ता हुन्, बढी तिर्खा लाग्ने, बान्ता हुने, ज्वरो आउने, टाउको दुख्नु मांसपेशी फरफराउने, मांसपेशीले थाहा नपाउने, खोकी लाग्ने, आँखाको आकार सानो हुने, होस हराउने, मांसपेशी अर्को तर्फ फर्कने, ज्वरो आउनु जस्ता समस्या तत्काल देखा पर्ने बताउनुभयो ।
यस्तै अनावश्यक विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा दम, नशा, पेट, मुटु पक्षपात, छारे रोग, क्यान्सर रोग, क्यान्सर जन्य घातक रोग लाग्नु,महिलामा बाँझोपना र गर्भ पतन, वंशाणुगत परिवर्तन, कलेजोको खराबी, परुषमा नपुंसकता, बच्चाको मानसिक विकासमा बाधा जस्ता दीर्घकालीन असरहरू देखा पर्ने उहाँले बताउनुभयो ।
विषादी प्रयोग गर्न परे सुरक्षित पहिरनको प्रयोग गर्न, खेतबारीमा कति विषादी लाग्छ हिसाब गरेर मात्र प्रयोग गर्नु पर्ने उहाँले बताउनुभयो । विषादीको खास मात्र कति हो यसको हिसाब गरेर मात्र नाप्ने भाँडाको प्रयोग गर्नुपर्ने, विषादी छर्ने बेला कुनै पनि खानेकुरा खान नहुने, हावाको दिशा ख्याल गरेर विषादी छर्नुपर्ने, विषादी छर्दा शरीरमा नपर्ने गरेर छर्नुपर्ने, एप्रोन लगाएर मात्र विषादीको प्रयोग गर्नु पर्ने, नोजललाई मुखले फुक्न नहुने उहाँले बताउनुभयो ।
त्यस्तै माटो परिक्षणको फाइदा, माटोको रेखदेख गर्ने तरिका, माटोको अम्लियपना ब्यवस्थापनमा गरिएको प्रयास, माटोको उर्वराशक्ति ब्यवस्थापनमा गरिएको प्रयास लगायतको बिषयमा कृषि विकास कार्यालय सिन्धुलीका कृषि प्रसार अधिकृत उमादेवि श्रेष्ठले प्रस्तुतिकरण गर्नुभएको थियो । श्रेष्ठले माटोको उर्वराशक्ति टिकाइ राख्न अनुरोध गर्नुभयो । माटो स्वस्थ भए मात्र माटोबाट उत्पादन हुने खाद्यवस्तु स्वस्थ हुने भन्दै उहाँले माटोको रेखदेख गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा परियोजना कार्यान्वयन इकाई सिन्धुलीका प्रमुख यम कुमार श्रेष्ठले जीवनाशक विषादी व्यवस्थापन ऐन २०७६ मा भएका व्यवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा १० जना कृषकलाई विषादी प्रयोग गर्दा सुरक्षाको लागि प्रयोग गर्नुपर्ने मास्क, टोपी, चस्मा, गम बुट, पन्जा र एप्रोन वितरण गरिएकोथियो । थप दुई किसानलाई पछि उक्त सामाग्री प्रदान गरिने कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अरुण खनाले जानकारी दिनुभयो ।
दिवसको अवसरमा कार्यालयले विद्यालय स्तरमा विषादी प्रयोगले हुने असर, यसबाट बच्ने उपाय तथा यसको प्रयोग न्यूनीकरणका सवालमा विद्यार्थीलाई समेत सचेतना गर्दै आएको उहाँले बताउनुभयो । मंसिर १६ गते देखी सुरु भएको विषादी प्रयोग मुक्त सप्ताह मंसिर २२ गते समापन हुने उहाँको भनाई रहेको छ ।