सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–८ का ज्ञानबहादुर केसीको घर छेउमा खहरे छ । यो खहरेलाई स्थानीयहरू थापा सिस्नेरी खहरे नामले चिन्छन् । हिउँदको समयमा यो खहरेमा पानी बग्दैन । जब आकाशबाट पानी दर्किन्छ, खहरे गडगडाउन थाल्छ । कमलामाई नगरपालिकाको सिन्धुली बजारबाट करिब १० किलोमिटर भिमानतर्फ अघि बढ्दा बिपी राजमार्गमै पर्छ, थापा सिस्नेरी खहरे ।
अघिपछि खहरे नै हो वा होइन भन्ने यो राजमार्ग भएर गुड्ने सवारी साधनले पनि मेसो पाउँदैनन् । जब बर्खामा आकाशबाट पानी पर्न थाल्छ, खहरेकै कारण राजमार्गमा सवारी साधन घण्टौँसम्म रोकिनुपर्छ ।
यो खहरेले सबैभन्दा ठुलो समस्या नजिकैको बस्तीमा पारिरहेको छ । यसअघि खहरे छेउका मानिस रातभर जागाराम बस्नुपर्ने बाध्यता थियो । रातको समयमा खहरे बस्तीमा पस्ने डरले टर्च लाइट बाल्दै हेर्न आउनुपर्ने बाध्यता रहेको केसी बताउँनुहुन्छ । २०८० सालको असार महिनामा बढेको खहरेले उहाँको गोठ नै बगाएको थियो ।
अहिले खहरे बस्तीमा पसेर कतिबेला बगाउँछ भनेर जाग्राम बस्नुपर्ने बाध्यता र पानी परेको बेला खहरेले बगाउला कि भन्ने डर हटेको छ । यस्तो डर हट्नुको कारण चाहिँ बस्तीलाई कटान गरिरहेको खहरे रोक्नका लागि बलियोसँग किनारमा गरिएको तारजालीको पर्खाल हो ।
हरित जलवायु कोष (जीसीएफ) को अनुदानमा सञ्चालित चुरे उत्थानशील आयोजना अन्तर्गत थापा खहरे सिस्नेरीको कटानलाई लक्षित गरेर खहरेको किनारमा पर्खाल लगाइएपछि यसवर्ष स्थानीयहरू ढुक्कसँग सुत्न सकेको प्रेमबहादुर थोकर बताउँनुहुन्छ । १८ लाख ३२ हजारको लागतमा खहरे नियन्त्रणका लागि जालीसहितको पर्खाल लगाएपछि खहरेको कटान रोकिएको छ ।
यसवर्ष ठुलो पानी परेर खहरे बढ्दा पनि कटान नभएको स्थानीयहरू बताउँछन् । पर्खालले खहरेको कटान रोकिएपछि पहिला खहरे बग्ने स्थानमा स्थानीयहरूले रुख बिरुवा लगाएर हरियाली बनाएका छन् ।
सिस्नेरी थापा खहरे धनुषा र महोत्तरीको सीमा क्षेत्र चुरे पहाडबाट बग्दै आउँछ । पहिलाभन्दा खहरे ठुलो हुने र त्यसको तीव्रता पनि बढी भएको स्थानीयको अनुभव छ । कल्याणी सिस्नेरी सामुदायिक वनका अध्यक्षसमेत रहनु भएका ज्ञानबहादुर केसी पहिलाभन्दा पछिल्ला वर्षमा खहरे ठुलो भएको बताउँनुहुन्छ ।
“अहिले खहरे पहिला भन्दा ठुलो भएर आउँछ । एकै पटक ठुलो पानी पर्ने गरेकाले त्यसो भएको हुनसक्छ,” खहरे बढ्नुको कारणबारे उहाँ भन्नुहुन्छ “खहरेको मुहान क्षेत्रमै बाँध बान्ने हो भने खहरेको कटानलाई धेरै रोक्न सकिन्छ ।”
सानो क्षेत्रमा पर्खाल लगाएर गाउँमा भइरहेको कटान रोकिएपछि त्यसलाई विस्तार गर्नुपर्ने माग स्थानीयहरूको छ । अझै पनि खहरेका कारण गाउँभन्दा तल रहेको सयौँ बिघा जमिन हरेक वर्ष कटान गरिरहेका कारण त्यसमा तटबन्ध निर्माण गर्नुपर्ने सोही ठाउँका स्थानीय नरबहादुर तामाङ बताउँनुहुन्छ ।
“‘बस्ती त बच्यो । तर, खेतीयोग्य जमिन बगर बनेको छ,” उहाँले भन्नुभयो “हामीले उत्पादन नलिए पनि बगर भएको जमिनको तिरो बर्सेनि तिर्नु परिरहेको छ । अब खेतीयोग्य जमिन बचाउन पनि तटबन्ध गर्नुप¥यो ।”