सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रसायनिक मल कारखाना स्थापनाका लागि स्थलगत अध्ययन थालिएको छ । काठमाडौं विश्वविद्यालय (केयू) को प्राविधिकटोलि केयुका टोलीले हरिहरपुरगढी गाउँपालिका ३ गुर्जीमा इलेक्ट्रोलाईसिस प्रविधिमा आधारित रसायनिक मल कारखाना स्थापनाका लागि पूर्वसम्भाव्यता अध्ययन थालिएको हो ।
गाउँपालिका र काठमाडौं विश्वविद्यालय बीच गत भदौमा भएको सम्झौता अनुसार केयुले ट फिल्डमै आएर पूर्वसम्भाव्यता अध्ययन थालेको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिनुभयो । गाउँपालिकामा रासायनिक मल कारखाना स्थापनाका लागि अति आवश्यक पर्ने कच्चा पदार्थहरू (हाइड्रोजन,नाइट्रोजन र कार्बन डाइअक्साइड) को उपलब्धताका विषयमा केयूले अध्ययन थालेको हो ।
वार्षिक दुई लाख टन क्षमताको रसायनिक मल कारखाना स्थापनाका लागि गाउँपालिकाले जग्गा, बिजुली र पानी उपलब्ध गराउने छ । उद्योग स्थापनाका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित बागमती नदी किनारको ३ सय ८६ बिघा जग्गासमेत छनोट गर्ने कार्य सम्पन्न भइसकेको छ ।
“अब प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि आवश्यक पर्ने कच्चा पदार्थहरू (हाइड्रोजन, नाइट्रोजन र कार्बन डाइअक्साइड) को उपलब्धताका विषयमा केयूले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि थप प्रकृया अघि बढाइनेछ,”अध्यक्ष वाइवाले भन्नुभयो ।
केयूले गाउँपालिकामा प्राविधिक र आर्थिक रूपमा रासायनिक मल कारखाना स्थापनाको उपयुक्तताबारे विस्तृत अध्ययने गर्ने छ । जसका लागि ३ महिनाभित्र केयूले रसायनिक मल कारखाना स्थापनासम्बन्धी पूर्वसम्भव्यता अध्ययन प्रतिवेदन तयार पार्नुपर्नेछ ।
उक्त अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डले समेत स्वीकृत जनाएको छ । वार्षिक दुई लाख टन क्षमताको रसायनिक मल कारखाना स्थापनाका लागि थाइल्यान्डको एक निजी कम्पनीले लगानी गर्ने प्रतिबद्धता जनाएको समेत गाउँपालिकाका अध्यक्ष वाइवाको भनाइ छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रसायनिक मल कारखाना स्थापनाका लागि बागमती सरकारको मन्त्रिपरिषदबाट समेत निर्णय भएको छ । २०७९ चैत्रमा तत्कालिन मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले मन्त्रीपरिषदबाट उक्त निर्णय गर्दै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिन्धुलीमा निर्माणाधीन रासायनिक मल कारखानाको फाइल हस्तान्तरण गर्नु भएको थियो ।
प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि सुरु लगानी १ खर्ब ३ अर्ब रुपैयाँ लाग्ने विभिन्न अध्ययनहरुले जनाएका छन् । अध्ययनका क्रममा प्राकृतिक ग्यासबाहेक वाटर इलेक्ट्रोसिस प्रविधि र थर्मोकोल प्रविधिमा आधारित रासायनिक मल कारखाना पनि विकल्प हुन सक्ने र त्यसका लागी १ खर्ब ८९ अर्ब रुपैयाँ लाग्ने बताइएको छ ।