मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुली अस्पतालमा रेविज विरुद्ध खोप अभाव

बिहिवार , मंसिर १३, २०८१

सिन्धुली – सिन्धुली अस्पतालमा रेबिजबिरुद्धको खोप (एन्टिरेबिज भ्याक्सिन) अभाव भएको छ । सिन्धुली अस्पतालमा दैनिक १० जनासम्म रेबिजविरुद्धको खोप लगाउन सेवाग्राही आउने गरेका छन् । तर भ्याक्सिन अभावका कारण सेवाग्राहीले बजारबाट किन्नुपरेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने उक्त खोप अहिले सेवाग्राहीले ७ सयदेखि एक हजारसम्ममा खरिद गर्नुपरेको छ ।

कुकुरले टोकेपछि रेविज विरुद्धको खोप लगाउन सिन्धुली अस्पतालमा आएको भए पनि अस्पतालमा खोप नपाएपछि उपचार नगरिकनै फर्किनुपरेको कमलामाई नगरपालिका ५ का रमा देवकोटाले ले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो, “जिल्ला अस्पतालमा खोप लगाउन गए । तर, खोप छैन भनेर रित्तो फर्किनु पर्‍यो । मेडिकलमा खोप किनेर लगाए ।”

अस्पतालमा खोप अभाव हुदाँ बजारबाट महंगो मूल्यमा खोप किनेर लगाउनु परेको उहाँले गुनासो गर्नुभयो । स्थानीय मिना मगरले पनि अस्पताल बाहिरबाट खोप लिएर छोरीलाई लगाएको बताउनुभयो । उहाँले निःशुल्क खोप पाइने भएकाले पैसा समेत नलिएर अस्पताल आएको बताउनुभयो । कुकुरले टोकेपछि खोपको लागि जिल्ला अस्पताल पुग्नु भएका कमलामाई नगरपालिका ४ कि सरिता कार्की पनि खोप नपाएरै फर्किनुपरेको बताउनुहुन्छ । सरकारले निःशुल्क भनेको रेविज विरुद्धको खोप समयमै उपलब्ध गराउन नसक्दा महंगो मूल्यमा किनेर लगाउनुपरेको कार्कीले बताउनुभयो ।

रेविज विरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पतालमा खोपको अभाव रहेको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर अभिषेक थपलियाले बताउनुभयो । जथाभावी रुपमा छोडिएका कुकुर, स्याललगायतका जनावरले टोकेका बिरामी रेविज विरुद्धको खोप लगाउन आउने गरेका भए पनि खोप अभाव भएपछि उपचार नगरस् फर्किन बाध्य हुनुपरेको उहाँले बताउनु भयो । “रेविज विरुद्धको खोप बागमती प्रदेश भरिनै अभाव छ,” उहाँले भन्नुभयो, “खोप नआएपछि बिरामीलाई मेडिकलमा जानु भन्नु पर्ने बाध्यता छ । दिनहुँ बिरामी आइरहेका हुन्छन् । तर, हामीसँग तत्काल उपलब्ध हुन सक्ने अवस्था छैन् ।” जहाँबाट खोप आपूर्ति हुने हो त्यहाँबाट नै आपूर्ति नभएकाले अभाव भएको जानकारी दिँदै त्यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो । निशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी उहाँले दिनुभयो । अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ । “अस्पतालमा भएर नदिएको होइन, नभएकाले नै अस्पतालमा अभाव भएको हो,” डाक्टर थपलियाले भन्नुभयो ।

जिल्ला अस्पतालमा झण्डै एक महिना देखि रेविज विरुद्धको खोप नआउँदा बिरामीहरु उपचार नगरि फर्किनु पर्ने बाध्यता छ ।

प्रतिक्रिया