मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीमा निर्माण सम्पन्न नहुदैँ पिच उप्कियो, दैनिक एक दर्जन दुर्घटना

बुधवार , मंसिर १२, २०८१

सिन्धुली – सिन्धुलीमाढी चकमके सडक निर्माण अन्तिम चरणमा पुगेको छ । कमलामाई नगरपालिका ७ माझिटारचोकबाट सडक निर्माण भएको हो । सडक अन्तर्गत सिन्धुलीमाढीको माझीटार चोकदेखि अगाडि २८ किलोमिटर सडकलाई तीन खण्डमा निर्माण सुरु गरिएको थियो । पहिलो खण्डअन्तर्गत जीर्घासम्मको १४ दशमलव ५६० किलोमिटर सडकको निर्माण अन्तिम चरणमा पुगेको छ । पहिलो सडक खण्ड अन्तर्गत साढे १४ किलोमिटर सडक निर्माण भएको ठाउँमा भत्किन थालेको स्थानीयले गुनासो गरेका छन् । निर्माण सम्पन्न भइसकेको सडकका ठाउँठाउँमा पिच उप्किएको छ । यसले गर्दा उक्त सडकमा दैनिक सवारी दुर्घटना भइरहेको छ ।

कमलामाई नगरपालिका १२ बुदुनामा दैनिक एक दर्जन सवारी दुर्घटना भइरहेको स्थानीय लिला मोक्तान खपांगी बताउनुहुन्छ । उहाँको घर अगाडि कै घुम्ती सडकको पिच उप्किएको र ग्रेगर भएकाले दैनिक मोटसाइकल दुर्घटना हुने गरेको छ । “यहाँ सडक निर्माण भइसकेको छ । पिच सबै उकिएको छ । पिच उकिएर गेग्रर निस्केको कारण दैनिक मोटरसाइकल यहाँ दुर्घटना हुन्छ । आज मात्रै ६ वटा मोटसाइकल यस ठाउँमा लडिसके, अझै कत्ति लड्ने थाहा छैन ,” उहाँले भन्नुभयो । रातको समयमा बढी दुर्घटना हुने गरेको सोहि स्थानका देवबहादुर खपांगीले बताउनुभयो । “घुम्ती सडकमा पिच उकिएर गेगर भएको र सोहि गेगरमा चिप्लेर मोटसाइकल लड्ने गरेको छ । रातको समयमा नदेखिने भएकाले बढी दुर्घटना हुन्छ ,” उहाँले भन्नुभयो ।

बुदुनामा झण्डै २० मिटर सडकको पिच सबै उप्किएको छ । घुम्ती सडकमा गेग्रर धेरै भएकाले दुर्घटना हुने गरेको स्थानियले बताएका छन् । सडक निर्माणमा लापरबाहि गरेको भन्दै यहाँ स्थानिय आक्रोसित भएका छन् । चमकेबाट सिन्धुलीमाढी आउनुभएको सिन्धुलीमाढीका कुमार दुलाल पनि बुदुनामा बाइक दुर्घटनामा परेको सुनाउनुहुन्छ । घुम्ती सडकमा गेग्ररमा चिप्ले लडेको उहाँले बताउनुभयो । उहाँको हातमा चोट लागेको छ भने पछाडि सवारको पनि चोट लागेको छ ।

यहाँ सयौँ मोटसाइकल दुर्घटना भइसकेको छ । पुर्वाधार बिकास कार्यालय सिन्धुलीले सडकको अनुगमन गरिरहेको बताएको छ । निर्माणको अन्तिम चरणमा पुगेको सडकको ठाउँठाउँमा केहि फल्ट रहेको कार्यालयको सुचना अधिकारी हेमन्त गाईले बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई फल्ट भएको ठाउँमा सडक निर्माण गर्न अनुरोध गरेको बताउनुभयो । केहि दिनमा पुन सडक निर्माण गर्ने उहाँले बताउनुभयो ।

उक्त सडकको निर्माणको काम आशिष डिएस जेभि हेटौँडा गरिरहेको छ । माझिटारबाट जिर्घासम्मको सडक जम्मा १४ किलोमटर ५६० मिटर रहेको छ । सडक १२ मिटर चौडाईको छ । नालाको चौडाई १ दसमलव २ मिटर रहने जनाइएको छ । ३४ करोड, ४० लाख ५८ हजार ७५७ रूपैयाँ लागतमा निर्माण ठेक्का सम्झौता भएको थियो । यहि मंसिर अन्तिममा सडक निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता छ ।

प्रतिक्रिया