मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीका प्रहरी हिरासत लागुऔषधका थुनुवाले भरिन थाले

मंगलवार , मंसिर ११, २०८१

सिन्धुली – सिन्धुलीमा लागुऔषधका थुनुवाले प्रहरी हिरासत भरिन थालेको छ । जिल्ला प्रहरी कार्यालय सहित इलाका प्रहरी कार्यालयको थुनुवाकक्षमा लागुऔषधका थुनुवा बढी छन् । मंसिरको पहिलो साता ९७ जना थुनुवा रहेका थिए । ती मध्ये २१ जना लागुऔषध अभियोगसँग सम्बद्ध थिए । जिल्ला प्रहरी कार्यालयमा लागुऔषध मुद्दाकै चाप बढेको देखिन्छ । कारागारमा समेत यही मुद्दाका कैदीबन्दी धेरै रहेका छन् । लागुऔषध अभियोगसँग सम्बद्ध २० जना पुरुष र एक महिला कैदीबन्दी रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय र इप्रकामा महिला र पुरुष थुनुवाका लागि छुट्टाछुट्टै हिरासत कक्ष बनाइएको छ । महिला थुनुवा नभएका कारण दुबै थुनुवाकक्षमा पुरुषलाई राख्न थालिएको हो । म्याद थप्न जिल्ला अदालत लैजान र ल्याउन हरेक दिन सवारी साधन प्रयोग गर्नुपर्ने र राज्यका तर्फबाट थुनुवालाई दैनिक रु एक सय २० सिदा दिनुपर्ने भएकाले थुनुवा बढ्दा राज्यलाई भार बढिरहेको छ ।

लागुऔषध नियन्त्रण र क्षति न्यूनीकरण अभियानमा होमिएका तिनपाटन गाउँपालिका ११ का सामाजिक अगुवा प्रेम बहादुर कार्की भन्नुहुन्छ, “अरुको लहैलहैमा लागेर सुरुमा उनीहरु अर्काले दिएको लागुऔषध खान्छन् । केही समयपछि लत बस्छ । अनि, आवश्यकताले खोजीखोजी किनेर खान थाल्छन । जब कुलत हाबी हुन्छ, उनीहरुलाई लाज, घिन र सरम भन्ने कुनै बोध हुँदैन । आफैँ कारोबारी बनेर अरुलाई बेच्न नयाँ प्रयोगकर्ता फकाउन थाल्छन् ।”किनेर खाने आम्दानीको अरु बाटो नभेटेपछि प्रयोगकर्ताहरु नै कारोबारी बन्ने गरेको उहाँले बताउनुभयो । लागुऔषधका प्रयोगकर्ताहरु सहर जत्तिकै गाउँमा बढिरहेको र नियन्त्रणका ठोस उपायहरु कतैबाट नखोजिएको हुँदा समस्या भयावह रुपमा बढिरहेको उहाँले बताउनुभयो ।

प्रहरीले लागुऔषध नियन्त्रणका लागि सिमा क्षेत्रमा चेकजाँच कडाइ गरेको बताएको छ । जिल्ला भित्रिने नाकामा कडाइको साथ चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार हाल प्रहरी हिरासतमा पनि लागुऔषध अभियोगका थुनुवा बढी छन् । “प्रहरीका हिरासत मात्र होइन, कारागारहरु पनि लागुऔषध मुद्दामा पूर्पक्षका लागि थुना परेका र अभियोग प्रमाणित भई कैदी बनेकाहरुले भरिभराउ हुन थालिसकेका छन । प्रहरीले पक्रेर मुद्दा लगाउँदैमा यसको समाधान हुँदैन । सेवन गर्नु हुँदैन भन्ने जनचेतना नआएसम्म समस्या घट्ने देखिदैन,” उहाँले भन्नुभयो ।

हरेक दिन जिल्लामा केही युवाहरु लागु लागुऔषधसहित जिल्लाको नाकाबाट पक्राउ परेकै हुन्छन् । पक्राउ परेकामध्ये अधिकांश युवा छन् । लतमा फसिसकेका युवा नै अवैध धन्धामा लागेर आफ्नो खुराक जुटाउने क्रममा सीमा क्षेत्रमा पक्राउपर्ने गरेका छन् ।

प्रतिक्रिया