सिन्धुली – सिन्धुलीमा उद्योग दिवसका अवसरमा दुई उद्यमी र १६ जना प्रशिक्षकहरुलाई सम्मान गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुलीले आइतबार सिन्धुलीमाडीमा आयोजना गरेको १० औँ राष्ट्रिय उद्योग दिवस–२०८१ विशेष कार्यक्रममा सम्मान गरेको हो ।
सम्मानीत हुनेहरुमा उद्यमीमा कमलामाई नगरपालिका–७ स्थित लुंगेलीटार महिला ढाका कपडा उद्योगकी उद्यमी बेन कुमारी बस्नेत र गोलञ्जोर गाउँपालिका–४ स्थित लांघाली जुनार उद्योगका उद्यमी शन्त बहादुर सिँजाली मगर हुनुहुन्छ । त्यसैगरी सम्मानितहुने प्रशिक्षकहरु सिलाई–कटाई तालिमका प्रशिक्षक मेघ बहादुर कार्की, गुडिया बनाउने तालिमका प्रशिक्षक पार्वती खड्का, कपडाको झोला बुनाई तालिमका प्रशिक्षक गोपाल श्रेष्ठ, छुर्पि तथा पुष्टकारी बनाउने तालिमका प्रशिक्षक नवराज गजुरेल, विजय तामाङ, अगरबत्ति बनाउने तालिम प्रशिक्षक गोमा भुजेल, जुत्ता–चप्पल बनाउने तालिम प्रशिक्षक दुर्गामाया सार्की, कृष्ण मग्राती, ढाका बुनाई तालिम प्रशिक्षक बेलीमाया गिनेल मग र शुशिला बोम्जन, जुडिबुटी प्रशोधन तालिम प्रशिक्षक महेन्द्रबहादुर सुनुवार, आलुचिप्स बनाउने तालिम प्रशिक्षक विमला थापा, बाँसका फर्निचर बनाउने तालिम प्रशिक्षक खड्ग बहादुर श्रेष्ठ, मौरी पालन तालिम प्रशिक्षक जिवनाथ ढकाल र रामबहादुर कार्की, च्याउ उत्पादन तालिम प्रशिक्षक जाहन बहादुर कार्की सम्मानीत हुनु भएको हो ।
उद्यमी तथा प्रशिक्षकहरुलाई सम्मान–पत्र र प्रशंसा–पत्र कार्यक्रमको प्रमुख अतिथिसमेत रहनु भएको जिल्ला समन्वय समिति, उपप्रमुख शान्ता कार्कीले सिन्धुली जिल्लामा सम्भावित उद्योगहरुको पहिचान गरि तीनलाई प्रवद्र्वन गर्न सबै निकाय लाग्नुपर्ने बताउनुभयो । उद्योग खोल्नु भन्दा पनि खोलीएका उद्योग हरुलाई निरन्तर प्रयोगमा ल्याउनुपर्ने उहाँको भनाई छ ।
कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार थापाले उद्योग तथा ब्यापार ब्यवसाय संचालन संर्गै बजारिकरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । राज्यले दिने अनुदान नतिजामुखी हुनुपर्ने उहाँले बताउनुभयो । साथै कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुली जिल्लाकै केन्द्र भएकाले जिल्लाका ९ वटै स्थानीय तहमा उत्पादन भएका सामाग्रीलाई बजारिकरण गर्नको लागि स्टल ब्यवस्थापन गर्न सके उद्यमीहरुलाई थप प्रोत्साहन हुने उहाँको भनाई छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले उद्योग दिवस नारामा मात्रै सिमित नभई संचालनमा आएका उद्योग हरुको खोजी गर्नुपर्ने, आफ्नो ब्यवसाय बाट पलायन हुन लागेका ब्यवसायीहरुलाई टिक्ने वातावरण सिर्जना गर्नुपर्ने र नयाँ उद्योग संचालन गर्न प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । सरकारले लगानी गरेर तालिम र बिभिन्न सामाग्री प्रदान गरेकोमा त्यस बाट उद्यमीहरुले आम्दानी गरे नगरेको अनुगमन गर्न समेत उहाँले आग्रह गर्नुएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय बाट गएको आर्थिक बर्षमा बिभिन्न सामाग्री हरु वितरण गरेको र बिभिन्न सिपमुलक तालिमहरु संचालन गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव प्रसाद ढकालले बताउनुभयो । यस आर्थिक बर्षमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नको लागि उद्योगी ब्यापारीले उत्पादन गरेका सामाग्री प्रदर्शनीमा राखीने समेत कार्यालय प्रमुख ढकालले बताउनुभयो ।