सिन्धुली ,०५ मंसिर – सिन्धुलीमा फोटोग्राफरलाई भ्याइनभ्याइ छ । यस वर्ष मंसिरमा एउटा मात्रै विवाहको लगन भएकाले सो दिन जिल्लाका फोटोग्राफरलाई भ्याइनभ्याइ भएको हो । अन्य जिल्लाबाट फोटोग्राफर ल्याउने योजना अनुसार विवाहको फोटोभिडियो बनाउने बुकिंङ गरेको एक फोटोग्राफरले बताए । उनले भने, “जिल्लाका कुनै पनि फोटोग्राफर मंसिर ८ गते खाली छैनन् । सबै बुकिं« भइसकेको छ । जिल्लामा बाहिरबाट झण्डै आधि दर्जन फोटोग्राफरलाई फोटो खिच्न बोलाएको छु ।”
कमलामाई नगरपालिका ५ का विशाल कार्की विवाहलाई विशेष बनाउने काम फोटोग्राफीको बढी नै भूमिका हुने अनुभव सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बिहे हुन्छ र सकिन्छ तर त्यस पलमा के भए भन्ने पाटो फोटोले बताइदिन्छ । त्यसैले यसको भूमिका विशेष छ ।” आफ्नो अनुभवको हिसाबले बेहुला–बेहुलीकै राम्रो फोटो÷भिडियो प्याकेज बनाउनु उचित हुने उहाँले बताउनुभयो । पत्निसँगका पल फोटोग्राफीले नै विशेष बनाएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “वेडिङ फोटोग्राफी अन्यभन्दा महँगो भए पनि जीवनभरको मोमेन्ट बनाउन काफी हुन्छ । हाम्रो बिहेको तस्बिरहरु हेरेर मेरै भाञ्जीले पनि फोटोग्राफीका लागि विशेष युनिट नै चयन गरेकी थिइन् । यस्तो फोटोग्राफीमा अनुभवीलाई चुन्न पायो भने यस्तो गर्न पाएको हुन्थ्यो भनी चुकचुकाउनु नपर्ने रहेछ ।”
विवाहको मेकअपलाई एक महिना अगाडि देखिनै बुकिङ
एक महिना अगाडि देखि नै विवाहको मेकअप बुकिङ्ग गरेको सम्झना ब्यूटिपार्लरकी संचालिका सम्झना मगरले बताउनुभयो । मंसिरमा विवाहको लगन एउटा मात्रै भएकाले भ्याइनभ्याइ भएको उहाँले बताउनुभयो । “अगाडि नै बुकिङ्ग गर्नेलाई सेवा दिनेछौँ । अहिले बेहुली मेकअपको बुकिङ्ग बन्द गरिसक्यौँ । मंसिर ८ गते मात्रै ४ वटा बढी बेहुली मेकअपलाई बुकिङ्ग लिएका छौँ । होमसर्भसमा जानु पर्ने भएकाले धेरै समय जान्छ ।” उहाँले भन्नुभयो ।
पहिले बिहेका लागि मेकअप गर्ने भनेको अग्रज भाउजू या दिदीहरुले गरिदिने चलन थियो । हिजोआज भने विवाहअघि नै कसकहाँ कसरी मेकअप गर्ने भन्ने सुनिश्चित गर्ने चलन बसिसकेको छ । पहिरनका रुपमा दुलहीले खद्दरको साडी र दुलाहाले दौरा, सुरुवाल लगाउने चलन थियो । हिजोआज भने विवाहको थिमअनुसार पहिरन चयन गर्ने चलन बढेर गएको छ । अहिलेका विवाहका पहिरन, गरगहना, मेकअप तथा जुत्ता सबै कुरा ब्रान्डेड हुन थालेका छन् । ब्रान्डसँगै महँगो गाँसिनु स्वाभाविक हुन्छ । विवाहको दिन दुलहा र दुलहीको मेकअप गर्ने मात्र होइन, परिवारका अधिकांश सदस्यहरुको पनि मेकअप गर्ने चलन छ । बजेटअनुसार दुलाहा र दुलही तथा आफन्तको मेकअप गर्न÷गराउन पनि सकिन्छ ।
विवाहको मण्डपमा दुलहीलाई लामो समय बस्नुपर्ने हुन्छ । त्यसैले विवाहमा दुलहीको मेकअप लामो समय टिक्ने किसिमको लगाउनुपर्ने सौन्दर्य विशेषज्ञको भनाइ छ । लामो समय टिक्ने मेकअपका लागि गुणस्तरीय ब्युटी प्रोडक्ट प्रयोग गर्र्नुपर्छ । मेकअपमा छालाअनुसारको मेकअप, आँखा सानो भएकी दुलहीका गाजल लगाएर ठूलो बनाउने लगायतका काम मेकअप आर्टिस्टहरुले गर्छन् ।
यस्तै विवाहमा पफ निकालेर जुरो बनाउँदा दुलहीहरू आकर्षक देखिन्छन् । अधिकांश दुलहीले हिजोआज यस्तै गर्ने गर्छन् । अहिले चिम्टी तथा सुनका गहना पनि केशमा सजाउने चलन बढेको छ । जसमा शिरफूल तथा शिरबन्दी मुख्य मानिन्छन् । बजारमा विभिन्न शैलीमा दुलहीको कपाललाई सजाउनको लागि विभिन्न एसेसरिज पाइने भएकाले आकर्षक एसेसरिज प्रयोग गर्दा हेयर स्टाइलमा भिन्नता पनि देखिन्छ ।