मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीका युवा लागुऔषधको कुलतमा फस्दै

मंगलवार , मंसिर ४, २०८१

सिन्धुली – सिन्धुलीमा लागु औषधको प्रयोग चिन्ताजनक रूपले बढ्दै गएको छ । पछिल्लो समय सडक सञ्जालको सहजताका कारण लागु औषध सहजै सिन्धुली भित्रिने गरेको छ । भारतको खुला सीमानाकामा सिन्धुलीबाट छोटोदुरीमा पुगिने भएको कारणले पनि याहाँका युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार लागुऔषध मुद्दामा अधिकांश युवा पर्ने गरेका छन् । भारतसंगको खुला सीमाना नजिकै भएको कारणले भारतबाट सहजै ढंगले लागुऔषध भित्रिँदा पनि यसको मारका यहाँका युवा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले खुला सीमानाकाबाट अवैध रूपमा लागुऔषध भित्रिँदा युवाहरू कुलतमा फसेको बताउनुभयो । “खुला सीमानाका जिल्लाबाट छोटोदुरीमा भएको कारणले स्कुले उमेरदेखि नै यहाँका युवा कुलतमा फस्ने गरेका छन्,” उहाँले भन्नुभयो, “अहिले युवाहरूलाई लागुऔषधको कुलतबाट जोगाउनुपर्ने बेला भइसकेको छ ।”

उपरीक्षक काफ्लेले युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेको बताउनुभयो । “सिन्धुली प्रहरीले सामुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यार्थी तथा युवामा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।” काफ्लेले भन्नुभयो, “मुलुकका लागि आवश्यक पर्ने युवाशक्ति नै कुलतमा पर्दा मुलुकलाई र परिवारलाई पनि ठूलो क्षति भइरहेको छ ।”

सिन्धुलीको प्रहरी हिरासतमा पक्राउ परेका मध्ये झण्डै दुई तिहाई थुनुवाहरु लागु औषध मुद्दाका भेटिन्छन् । कारागारमा पनि अधिकांश कैदी बन्दीहरु लागु औषध मुद्धाका छन् । अझ डरलाग्दो पक्ष त के छ भने पछिल्लो समय १५/१६ उमेर समुहका बालकहरु देखि ४०÷४५ नाघेका ब्यक्तिहरु समेत लागु औषधको नसामा फस्दै गएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा लागुऔषध सम्बन्धी दुई सय २७ मुद्दा परेको थियो । जसमा दुई सय ८२ पुरुष र नौ महिला पक्राउ गरेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा लागुऔषध सम्बन्धित तीन सय दुईवटा मुद्दा परेको थियो । जसमा तीन सय ८९ पुरुष र १३ महिला पक्राउ परेका थिए । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा दुई सय चारवटा मुद्दा परेको थियो । जसमा पुरुष दुई सय ४२ र महिला १० जना पक्राउ परेका थिए । चालु आर्थिक वर्ष २०८१/८२ वर्षको कार्तिक सम्म लागुऔष सम्बन्धी ११ वटा मुद्धा दर्ता भएका छन् । जसमा १९ जना पुरुष र १ जना महिला पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले लागुऔषध कारोबार र प्रयोगकर्ता १८ देखि २४ वर्षसम्मका धेरै भेटिएको बताउनुभयो । उहाँका अनुसार १८ वर्षमुनिका पनि केही प्रयोगकर्ता भेटिएको र उनीहरूले लागुऔषध भारतबाट आफूले प्रयोग गर्नका लागि ल्याउने गरेको पाइएको छ । लागुऔषध कारोबार नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ ।

सिन्धुलीमा विशेषगरी गाँजा, चरेस, हेरोइन, अफिम, फेनारगन, डाईजिल्याब, नुर्फिन, नाट्राभेट ट्याब्लेट, कोरेक्सलगायत प्रयोग गर्ने गर्छन् । काफ्लेले सिन्धुली प्रहरीले लागुऔषधको दुव्र्यसनीको विरुद्धमा नियमित रुपमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । “सिन्धुली प्रहरीले नागरिक समाजसँग हातेमालो गरेर लागुऔषध सम्बन्धित जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ,” उहाँले भन्नुभयो, “खुला सीमानाका छोटोदुरीमा पुगिने भएको कारणले पनि लागुऔषधको दुव्र्यसनीलाई नियन्त्रण गर्न मुस्किल भइरहेको छ ।”

प्रतिक्रिया