मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीमा लाखौँ खर्चे गरेर बनाइएका पदमार्ग प्रयोगविहीन

शनिवार , मंसिर १, २०८१

सिन्धुली – सिन्धुलीमा लाखौँ खर्चेर बनाइएका पदमार्ग प्रयोगविहिन भएका छन् । जिल्लाको धार्मिक, ऐतिहासिक र पर्यटकियस्थलको प्रचारपसारका लागि लाखौँ खर्च गरेर निर्माण गरेका पदमार्ग हाल कुरुप देखिएका छन् । पदमार्गको नाममा लाखौँ खर्च समेत गरिएको छ । हरिहरपुरगढी र सिन्धुलीगढी जोड्न निर्माण गरिएको पदमार्ग, कमलामाई नगरपालिका–२ चियाबारीबाट ऐतिहासिकस्थल सिन्धुलीगढीसम्मको ‘क्याप्टेन किनलोक पदमार्ग’, फिक्कल गाउँपालिका–३ चनौटेमा निर्माण गरिएको पदमार्ग प्रयोगविहीन भएका हुन् ।

कमलामाई नगरपालिका–२ चियाबारीबाट ऐतिहासिकस्थल सिन्धुलीगढीसम्मको ‘क्याप्टेन किनलोक पदमार्ग’ कुरुप हुदै गएको छ । नेपाल एकीकरणका बेला विसं १८२४ को सिन्धुलीगढी युद्धमा क्याप्टेन किनलोकको नेतृत्वमा आएको अंग्रेज फौज हिँडेको पैदल बाटोलाई पदमार्गका रूपमा निर्माण गर्ने योजना कमलामाई नगरपालिकाले अघि सारेको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाखको लागतमा चियाबारी, फेदी, सिउरानी, ढुंग्रेभन्ज्याङ हुँदै सिन्धुलीगढीसम्म उक्त पदमार्ग निर्माण भएको थियो । बिपी राजमार्ग निर्माणअघि निकै चहलपहल रहेको यो पदमार्ग अहिले ठप्पजस्तै छ ।

नेपाल एकीकरणका क्रममा तत्कालीन गोर्खाली सैनिक हिँडेको ऐतिहासिकस्थललाई पर्यटकीय पदमार्गले जोड्ने योजनाअनुसार तीन वर्षअघि हरिहरपुरगढीको घण्टेबाट सिन्धुलीगढीसम्मको ७५ किलोमिटर लामो पदमार्ग निर्माण थालिएको थियो । घण्टेबाट जितपुरसम्मको १५ किमी लामो पदमार्ग निर्माण भए पनि बाँकी निर्माण नहुँदा अलपत्र छ । उक्त पदमार्ग समृद्ध सिन्धुली अभियानको अगुवाइमा निर्वाचन क्षेत्र विकास कोषको रु ४० लाख सहयोगमा निर्माण गरिएको थियो । दुई गढीलाई जोडेर पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यले खनिएको पदमार्ग प्रयोगविहिन छ । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहकी पत्नी इन्द्रकुमारीले घण्ट चढाएको हरिहरपुरगढी गाँउपालिका–३ घण्टेस्थित महादेवको मन्दिरबाट निर्माण सुरु गरिएको पदमार्ग ऐतिहासिक हरिहरपुरगढी किल्ला, जितपुरगढी हुँदै जितपुरसम्म पुगेको छ । बाँकी सिन्धुलीगढीसम्मको ६० किमी लामो पदमार्ग अलपत्र छ । घण्टेबाट जितपुरसम्मको ठाउँ–ठाउँको बाटोमा चौतारा, प्रतिक्षालय निर्माण भएको छ । पदमार्गमा पर्ने खोरभञ्ज्याङमा काठको कलात्मक प्रतिक्षालय निर्माण गरिएको स्थानीयवासी बताउँछन् ।

सिन्धुलीगढीको भन्दा पुरानो इतिहास बोकेको हरिहरपुरगढी किल्लासंरक्षणविहीन छ । बाराको सिम्रौनगढमा बंगाल मुसलमान भीषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालीन राजा हरिसिंह देव विसं १३७८ मा सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए । त्यही किल्लाले राज्यको रूप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भनेर भन्न थालियो भन्ने किंवदन्ती छ । सिन्धुलीगढीमा भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिकस्थल हो । पृथ्वीनाराण शाहको नेपाल एकीकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विसं १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए ।

पर्यटन प्रवद्र्धनका लागि फिक्कल गाउँपालिका–३ चनौटेबाट फिक्कल भ्यूटावरसम्म जान पदमार्ग छ । बागमती प्रदेश सरकार उद्योग, वन तथा पर्यटन मन्त्रालयको रु २८ लाख लागतमा ढुंगाको सिँढी बनाएर पाँच सय मिटर लामो पदमार्ग निर्माण भएको थियो । त्यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सात सय मिटर लामो पदमार्ग निर्माण गरिएको थियो । भ्यूटावर र यहाँको पदमार्ग अहिलेसम्म उद्देश्यअनुसार चलायमान हुन नसकेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया