मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीमा न्यायिक समितिमार्फत मेलमिलाप हुने बढे

शुक्रवार , कार्तिक ३०, २०८१

सिन्धुली –सिन्धुलीमा न्यायिक समितिमार्फत मेलमिलाप हुने बढेका छन् । सानोतिनो विवादलाई लिएर कहिले प्रहरी, कहिले अदालत धाउने झन्झट हटेपछि स्थानीयलाई न्याय खोज्न राहत मिलेको हो । स्थानीय तहमा गठित न्यायिक समितिले स्थानीयतहमा हुने विभिन्नखाले विवादको मेलमिलाप गराउँदा सेवाग्राहीले घरनजिकै न्याय सेवा पाएको अनुभूति गर्न थालेका छन् ।

नातासम्बन्ध कायम गर्ने, पति–पत्नीबीच कलह भएर सम्बन्धविच्छेद हुने अवस्था, जग्गाको साँधसीमा, घरेलु हिंसालगायत मुद्दा वडावडामै मेलमिलाप भइरहेको छ । वर्षौँदेखि परिवार र गाउँमा झगडाको बीउ बनेर बसेका मुद्दा पनि न्यायिक समितिमा आएपछि मेलमिलाप भएको छ । स्थानीयको विवादमा फैसलाले भन्दा पनि मेलमिलापले चाहिँ प्रभावकारी समाधान दिएको सम्बन्धित पक्षकै अनुभव छ ।

न्यायिक समितिमा आफ्नो जग्गा फिर्ता गरीपाउँ भनी निवेदन दिनुभएको कमलामाई नगरपालिकाका एक पुरुषले न्याय पाएको अनुभव सुनाउनुभयो । २०७५ सालमा भाइले जग्गा बेचेको र बेचेको जग्गामा आफ्नो एक धुर जग्गा च्यापेर घर निर्माण भएको भन्दै उहाँले न्यायिक समितिमा निवेदन दिनुभएको थियो । आफ्नो जग्गा च्यापरे घर निर्माण गरेको भन्दै निवेदन दिनुभएको उहाँले सो जग्गा भाइको नाम रहेको प्रमाणिकरण भयो । भाइ विदेशि रोजगारीमा भएकाले भाई फर्किएपछि चलेको मुल्यमा सो जग्गा खरिद गर्ने निर्णय पछि न्यायिक समितिको सक्रियतामा सो विवाद समाधान भएको छ । दुवै पक्षको जित–जितको अवस्थामा विवाद समाधान भएपछि उजुरीकर्तामात्र होइन अर्को पक्ष पनि सन्तुष्ट छ । स्थानीय तहमा पालिकास्तरका न्यायिक समितिमात्र होइन, वडास्तरका मेलमिलाप केन्द्रसमेत गठन भइसकेका छन् । सेवाग्राहीले न्यायिक समितिमा निवेदन पेस गरेपछि छलफलका लागि मेलमिलापकर्ता रोज्न पाउने भएकाले न्यायमा विश्वास बढेको देखिन्छ ।

स्थानीय तहमा भएका विवाद सकेसम्म समाजमा मेलमिलाप होस् भन्नेमात्र नभई सानातिना विवाद प्रहरी र अदालतसम्म पुग्दा हुने खर्चभार पनि कम हुँदै गएको धेरैले महसुस गरेका छन् । दिनप्रतिदिन कमलामाई नगरपालिका न्यायिक समितिको निष्पक्ष कामले गर्दा कमलामाई नगरपालिका न्यायिक समिति न्यायका लागि आमनागरिकको पहिलो रोजाइमा परेको छ । बितेका सात वर्ष छ महिनामा यस्ता न्याय पाएका सयौँ उदाहरण न्यायिक समितिसँग छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा १ र २ मा उल्लेख भएको व्यवस्थानुसार न्यायिक समितिले न्याय निरुपणको काम गर्दा धेरैले सहज रूपमा घरआँगनमै न्याय पाइरहेका छन् । फौजदारी अभियोग, गम्भीर प्रकृतिका बाहेक देवानीसम्बन्धी मुद्दाका विषयमा न्यायिक समितिले काम गर्दै आएको छ ।

नगरपालिकाभरी न्याय निरुपणलाई सहज बनाउनका लागि १२४ जना सूचीकृत मेलमिलापकर्ता न्यायिक समितिले उत्पादन गर्नुका साथै वडावडामा मेलमिलाप केन्द्र स्थापना गरी वडास्तरका सामान्य विवाद मेलमिलापका माध्यमबाट विवाद निरुपण हुने गरेको न्यायिक समिति संयोजक एवं उपप्रमुख मन्जु देवकोटाले बताउनुभयो ।

कमलामाई नगरपालिकामा न्यायिक समितिमा आर्थिक वर्ष ८०÷८१ मा मात्र ४६ वटा विवाद दर्ता भएका थिए । जसमध्ये ३४ न्यायिक समितिबाट समाधान भइसकेका छन् भने १२ वटा विवाद बाँकी छन् । न्यायिक समिति संयोजक देवकोटाले समितिमा परेका निवेदनलाई निकै गम्भीरतापूर्वक गोपनीयता कायम गरी छलफलका माध्यमबाट टुंगो लगाउने गरेको बताउनुभयो । सामान्य जनताको न्याय प्राप्तिमा हुने समय र खर्चसमेत जोगिएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया