फाइलफोटो
सिन्धुली – हिउद मौसमको सुरुसँगै सिन्धुलीको पर्यटकीय क्षेत्रमा पिकनिक तथा बन भोज खानेको लर्को लागेको छ । जिल्लाको ऐतिहासिक तथा धार्मिक स्थल माइस्थान, सिन्धुलीगढी,मरिणे पञ्चकन्यापोखरी, हरिहरपुरगढी लगाएतका ठाउँमा यति बेला पिकनिक खान आउनेको भिडभाड देखिन्छ ।
कमलामाई नगरपालिका–५स्थित कमलामाई मन्दिरको दर्शनसँगै माईस्थानमा बनभोज खान आउनेको लर्को लागेको स्थानीय बासिन्दा बताउछन् । बीपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि तराईका जिल्लाबाट समेत वनभोज खान आउने बढ्दै गएका स्थानीय सविता मगरले बताउनुभयो ।उहाँले भन्नुभयो “दैनिक ५ देखि ६ ग्रुप पिकनिक खान आउँछन् । कहिले त पिकनीक खान आउनेले बगर नै छपक्कै ढोकेको हुन्छ ।” पिकनिक खानका लागि छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रौतहट, बारा, पर्साका लगाएत विभिन्न सहर आउने गरेका छन् । भक्तजनहरु कमलामाई मन्दिरको दर्शनसँगै पाठी ल्याएर बली दिने र पिकनिक खाएर रमाईलो गरी फर्किने गरेका पनि स्थानीय बासिन्दा बताउछन् । यातायातको सुविधा भएको र पवित्र धार्किक स्थल भएकाले पछिल्लो समयमा तराईका जिल्लाका मानिसको रोजाईमा समेत माईस्थान परेको स्थानीयले बताएका छन् । कमलमाई मन्दिर धार्मिक पर्यटकिय स्थलको रुपमा विकास हुदै गएको छ । उक्त मन्दिरको शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने बिश्वासले भक्तजनहरुको आस्था बढेको हो । कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनहरुको संख्या बढ्दो रहेको स्थानीय बासिन्दा बताउछन् ।
यस्तै, ऐतिहासिक स्थल सिन्धुलीगढी नजिकको क्षेत्रमा पिकनिक खान आउनेको भिडभाड बढ्दै गएको छ । सिन्धुलीगढी अवलोकन गर्ने साथै गढी नजिकको क्षेत्रमा पिकनिक खानेको भिड देखिन्छ । गढी भित्र खाद्ययका सामाग्री बाहिरबाट लग्न निषेध गरिएको छ । सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो ठाउँ काठमाडौंबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको गढी प्राकृतिक रूपमा शान्त र रमणीय छ । सिन्धुली गढीको क्षेत्रफल तीन हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । उत्तरतिर गौरीशंकर हिमालको दृष्य, दक्षिणतिर तराईका समथर भूभाग देखिने यो स्थान महाभारत रेन्जमा पर्छ । सितल र पारिलो यो स्थान बनेपा–बर्दिवाससम्म बीपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण सुगम बन्दै गएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट १९ किलोमिटर उत्तरतर्फ विपी राजमार्ग गई सोलाभञ्याङबाट १ किलोमिटर उकालो चढेपछि सिन्धुलीगढीमा पुगिन्छ ।
यस्तै हरिहरपुरगढीमा पनि पिकनिक खान आउनेको लर्को लागेको छ । जिल्ला भित्रका साथै अन्य बाहिरि जिल्लाका नागरिक पिकनिक खानका लागि आउने गरेको स्थानियले बताएका छन् । हरेक दिन ३ देखि ४ वटा टिम पिकनिक खानका लागि हरिहरपुरगढी आउने गरेको हरिहरपुरगढी गाउँपालिका वडा ५ का बुद्धिबहादुर माझीले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएको पिकनिक स्थलमा यति बेला पिकनिक खानेको लर्को नै लागेको छ । छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रौतहट, बारा, पर्साका लगाएत विभिन्न सहरबाट सिन्धुलीमा पिकनिक खान साथै भ्रमणका लागि आउने गर्दछन् ।